सुदूरपश्चिम


बझाङमा चुनावी तयारी : सुरक्षाको बाहिरी घेरामा सेना, विकटका मतपेटिका हेलिकप्टरबाट ओसार्ने

बझाङमा चुनावी तयारी : सुरक्षाको बाहिरी घेरामा सेना, विकटका मतपेटिका हेलिकप्टरबाट ओसार्ने

गोकुल जोशी
बैशाख १४, २०८१ शुक्रबार २१:२२, कञ्चनपुर

बझाङ प्रदेश सभा १ मा शनिबार हुने उपनिर्वाचनको धेरै तयारी पूरा भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदानस्थलमा कर्मचारी मतपत्र, पेटिकालगायत सामग्री लिएर पुगिसकेका छन्। 

मतदानस्थल निर्माणदेखि अन्य सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत प्रकाशबहादुर सिंहले जानकारी दिए। मतदान सञ्चालनका लागि ६५१ जनशक्ति परिचालन गरिएको छ। 

प्रत्येक केन्द्रमा एक-एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा पाँच जना सहयोगी कर्मचारी परिचालन गरिएको छ।

निर्वाचनको सुरक्षा योजना तयार पारेर शान्त वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय, बझाङका डीएसपी भरत शाहले बताए। 

उनका अनुसार सम्पूर्ण मतदान स्थलमा सुरक्षाकर्मी परिचालन गरिएका छन्। उपनिर्वाचनको सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना खटिनेछ। 

यस क्षेत्रमा ७४ वटा मतदानस्थल र ९३ मतदान केन्द्र रहेका छन्। सुरक्षा संवेदनशीलताका हिसाबले मतदानस्थल छुट्याएर त्यहीअनुसार सुरक्षाकर्मी खटाइएको छ। 

सामान्य मतदानस्थलमा नेपाल प्रहरीबाट ८ देखि १४ जना खटिएका छन्। संवेदनशील मतदान स्थलमा १४ देखि १७ जनासम्म परिचालन गरिएका छन्। 

यस्तै १४-१४ जनाको नेपाल प्रहरी र सशस्त्रको मोबाइल टोली ठाउँठाउँमा सक्रिय छ। सुरक्षालाई मध्यनजर राखेर विवाद तथा झडप हुन सक्ने स्थानका लागि सरक्षाकर्मीको ‘रिजर्भ’ टोली तैनाथ छ। 

एक हजार २४ जना नेपाल प्रहरी परिचालन हुँदा त्यतिकै संख्यामा सशस्त्र पनि चुनावी सुरक्षामा खटिएका छन्।

नेपाली सेनाको बम डिस्पोजल टोली र हेलिकप्टर पनि तयारी अवस्थामा राखिएको छ। विकट साइपाल क्षेत्रको मतपेटिका हेलिकप्टरमार्फत मतगणनास्थलसम्म ओसार्ने प्रबन्ध मिलाइएको छ।

मतदान सम्पन्न भएलगत्तै हेलिकप्टरमार्फत साइपाल क्षेत्रको मतपेटिका संकलन गरिनेछ। जिल्ला अदातलमा मतगणना हुनेछ।

यस क्षेत्रमा ६१ हजार ७४८ मतदाता छन्।

नेपाली कांग्रेसबाट निर्वाचित सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि रिक्त यस क्षेत्रमा उपनिर्वाचन गर्नुपरेको हो। 

यहाँ सत्तारुढ दल नै एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। यहाँ ११ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ।

नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, नेकपा एमालेका दमनबहादुर भण्डारी, नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंह र नेकपा माओवादी केन्द्रबाट जनकबहादुर बुढा मैदानमा छन्।

यस्तै राष्ट्रिय मातृभूमि पार्टीका तर्फबाट गजेन्द्रबहादुर थापा, नेपाल मजदुर किसान पार्टीका खगेन्द्रबहादुर शाही, नेसनल रिपब्लिक नेपाल पार्टीबाट कमल घर्तीमगर, जनता समाजवादी पार्टी (जसपा)  का रामबहादुर जाग्री, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट किशोरकुमार खड्का, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट दीपकबहादुर खड्का र जनमत पार्टीका सुशीला देवी विष्ट उम्मेदवार छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .