ad ad

सुदूरपश्चिम


वडा कार्यालयभित्र युवती मृत घटना : के देखियो सीसीटीभीमा?

प्रेमपछि ६ महिनाअघि मात्र बिहे गरेकी थिइन् नगर प्रहरीसँग
वडा कार्यालयभित्र युवती मृत घटना : के देखियो सीसीटीभीमा?

युवती मृत भेटिएको वडा कार्यालय


गोकुल जोशी
फागुन १४, २०८० सोमबार ९:४२, कञ्चनपुर

आइतबार बिहान ४ बजे आसपास जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई फोन आयो- वडा कार्यालयमा एकजना महिला मृत भेटिइन्। 

महेन्द्रनगरको कटानस्थित भीमदत्त नगरपालिका–१८ को सभाहलमा बिहानै योग-ध्यान गर्नेहरू आउँछन्। सभाहलको ढोका खोलेर भित्र बस्दा उनीहरूले महिला झुण्डिएको देख्छन्। त्यसपछि घटनाबारे उनीहरूले प्रहरीलाई फोन गरेका हुन्। 

प्रहरीका अनुसार दार्चुलाकी २० वर्षीया प्रमिला धामी वडा कार्यालयभित्र मृत अवस्थामा भेटिइन्। 

उनी भीमदत्त नगरपालिकाका नगर प्रहरी हरिश महराकी पत्नी हुन्। प्रेम सम्बन्धपछि ५/६ महिनाअघि मात्र उनीहरूले बिहे गरेका थिए। 

प्रमिला वडा कार्यालयमा ओजीटीमा रहेका बेला नगर प्रहरी महरासँग प्रेममा परेकी थिइन्। यसपछि बिहे गरेको केही महिनामै प्रमिलाले प्राण त्यागेकी हुन्। 

नगर प्रहरीलाई वडा कार्यालयमा बसोबासका लागि ‘क्वाटर’ दिइएको छ। नगर प्रहरी महरा श्रीमतीसहित वडा कार्यालयको क्वाटरमा बस्ने गरेका थिए। वडा कार्यालयको रेखदेखको जिम्मेवारी पनि उनकै हो। 

वडा कार्यालयको सीसीटीभी फुटेजमा महराकी पत्नी प्रमिला ‘चुन्नी’ र आफ्नो मोबाइल लिएर शनिबार दिउँसो सभाहलतर्फ गएको देखिन्छ।

‘शनिबार दिउँसो ३ः३९ तिर उनका भाइ कोठाबाट निस्किएका छन्। त्यसको २/३ मिनेटपछि प्रमिला चुन्नी र मोबाइल लिएर सभाहलतर्फ निस्किन्छन्,’ सीसीटीभी फुटेज हेरेका एक जना भन्छन्, ‘सभाहलको मुख्य ढोका बाहिरबाट बन्द गरेको फुटेजमा छ। त्यसपछि अर्को ढोकाबाट उनी सभाहलभित्र पसेकी छन्।’

वडा कार्यालयको सभाहलभित्र राखिएको कुर्सीमा चढेर ती युवती झुण्डिएकी छन्। मोबाइल र चप्पल छेउमै राखेकी छन्। सभाहलभित्र पस्ने अर्को ढोकाभित्रबाट बन्द गरिएको छ।

मृतक युवतीका श्रीमान् भने त्यस बेला कोठामा थिएनन्। केही समयपछि ‘क्वाटर’मा आएको देखिएकी उनी घरधन्दाको काममा लागेको फुटेजमा छ।

‘क्वाटर’बाहेक प्रमिलाको बाहिर पनि कोठा थियो। शनिबार राति साथीसँगै क्वाटरमा बसेका नगर प्रहरी महराले आइतबार बिहान मात्रै घटना थाहा पाए। 

माइती पक्ष आएपछि आइतबार दिउँसो युवतीको शव पोस्टमार्टमका लागि घटनास्थलबाट उठाइएको थियो।

पोस्टमार्टमपछि परिवारले शवको दाहसंस्कार समेत गरिसकेको छ। युवतीले आत्महत्या गरेको पुष्टि भएकोे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले बताए।

युवतीका श्रीमान्‌सँग सोधपुछ गर्दा कुनै घरायसी विवाद पनि नदेखिएको उनको भनाइ छ। 

‘सभाहल बाहिरबाट बन्द देखिएपछि केही डाउट थियो। सभाहल प्रवेश गर्ने अर्को ढोका पनि रहेछ। अनुसन्धानका क्रममा सीसीटीभी हेर्दा अर्को ढोकाबाट सभाहलमा गएर घटना भएको देखियो’, उनले भने, ‘त्यस्तो घरयासी विवाद पनि केही देखिन्न।’

पछिल्लो समय आत्महत्या गर्ने क्रम डरलाग्दो हिसाबले बढिरहेको छ। आइतबारै दार्चुलाको महाकाली नगरपालिका-४ खलंगामा २२ वर्षीया रविना पल्यालले आत्महत्या गरेकी थिइन्। 

केही दिन पहिले डडेल्धुराको अमरगढी नगरपालिका–२ कुस्मारीकी १८ वर्षीया भुवनेश्वरी ऐरले घरयासी विवादपछि यस्तै बाटो रोजेकी थिइन्। 

अमरगढी नगरपालिका– १ मालमका युवकसँग प्रेम सम्बन्धपछि बिहे गरेकी उनले १० महिनामै प्राण त्यागेकी थिइन्। कैलालीको धनगढीमा ५ तले घरको छतबाट हाम फालेर व्यवसायी सन्तोष अग्रवालले सुसाइड गरेको घटना ताजै छ।

आत्महत्याको ग्राफ उकालो लागिरहँदा यस्ता घटनालाई सतही रुपमा मात्रै नलिई यसको कारण पत्ता लगाएर न्यूनीकरणका उपाय अपनाउनु जरुरी भइसकेको छ। 

‘आत्महत्याका घटना हुन नदिन टोलटोलमा जनचेतनामूलक कार्यक्रम गर्नुपर्छ,’ भीमदत्त नगरका शिक्षक रमा पन्तले भनिन्, ‘युवा पिँढी सामान्य कुरामा पनि अमूल्य जीवन खेरफाल्ने घटनाले समाजमा विकराल रुप लिँदै छ। यसप्रति सरोकारवाला सबैले सोच्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .