सुदूरपश्चिम


संसदीय दलको नेताबाट हटाउने निर्णय गर्दा बैठकमा थिएनन् खगराज

संसदीय दलको नेताबाट हटाउने निर्णय गर्दा बैठकमा थिएनन् खगराज

नेपालखबर
माघ १२, २०८० शुक्रबार १४:२०, कञ्चनपुर

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाइएको छ। 

शुक्रबार बसेको माओवादी सुदूरपश्चिम संसदीय दलको बैठकमा बहुमत  जुटाएर भट्टलाई दलको नेताबाट निकालिएको हो। 

भट्टइतर समूहका ६ सांसद भेला भएर उनको संसदीय दलको नेता पद खोसेका हुन्।

उनको स्थानमा दार्चुलाबाट निर्वाचित माओवादी सांसद मानबहादुर धामीलाई संसदीय दलको नेता बनाउने निर्णय गरिएको छ। 

धामी यसअघि प्रमुख सचेतक थिए। अघिल्लोपटक उनी सुदूरपश्चिम प्रदेश सरकारमा वनमन्त्री पनि भएका थिए।

आफूलाई दलको नेताबाट हटाउने शुक्रबारको बैठकमा भट्ट भने उपस्थित थिएनन्। 

माओवादी केन्द्रका सांसद शिवसिंह ओलीले खबर गर्दा पनि भट्ट बैठकमा नआएको बताएका छन्। 

‘सबैलाई खबर गरेका थियौँ। उहाँहरु आउनुभएन’, उनले भने, ‘बहुमत सांसद उपस्थित भएर दल नेता परिवर्तन गर्ने निर्णय गरेका छौँ।’

सुदूरपश्चिम प्रदेश सभामा सभामुखसहित माओवादीका ११ सांसद छन्।

सांसद मानबहादुर धामी, राज्यमन्त्री गीता माल, सांसदहरु अक्कल रावल, ओमविक्रम भाट, शिवसिंह ओली र लक्ष्मी विकलाई भट्ट इतर समूहका हुन्।

उता भट्टलाई भने बहालवाला मन्त्रीद्वय रमेश धामी, झपड बहादुर साउँद र सांसद जानकीदेवी कुँवरको साथ छ।

संसदीय दलको नेताबाट हटाएका विषयमा यो खबर लेख्दासम्म भट्टबाट कुनै प्रतिक्रिया आएको छैन।

बहुमत माओवादी सांसदले संसदीय दलको नेता परिवर्तनको निर्णय गरे पनि अहिलेसम्म प्रदेश सभा सचिवालयलाई यसको जानकारी गराइएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .