सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो प्रदेशको विकास र समृद्धिका लागि संघीय सरकारसँग जुध्न समेत तयार हुने बताएका छन्।
उनले प्रदेशको विकास र समृद्धिका लागि संघीय सरकारसँग आफूहरु अल्झिन नचाहेको बताए।
उनले भने, ‘आज हामी संघीय संरचनामा गइसकेपछि प्रदेश संरचनाहरुको निर्माण भईसकेपछि न्युनतम रुपमा हामीले हाम्रो विकासका लागि, समृद्धिका लागि गर्ने कार्यक्रमहरुमा कसैले पनि अवरोध गर्नुहुँदैन भन्ने मान्यता हामी छौं। कसैले पनि छेक्न पाउनु हुन्न। छेक्नु हुन्न भन्ने मान्यतामा छौं। त्यो मान्यतामा हामी संघीय सरकारसँग पनि जुध्न तयार छौं।’
सोमवार काठमाडौंमा आयोजित सुदूरपश्चिम लगानी तथा विकास सम्मेलन र पर्यटन व्यवसायीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशको विकासका लागि लगानी भित्र्याउन पनि निजी क्षेत्रलाई आह्वान गरे।
त्यसका लागि प्रदेश सरकारले आवश्यक वातावरण बनाउने उनको भनाई थियो। मुख्यमन्त्री शाहले सुदूरपश्चिम सम्भावना नै सम्भावनाको क्षेत्र भएकाले यसमा गरिएको लगानी खेर नजाने पनि दोहोर्याए। उनले यस क्षेत्रको विकासका लागि नै लगानी सम्मेलन गर्न लागिएको पनि स्पष्ट पारे।
मुख्यमन्त्री शाहले देश भित्रै लगानीको वातावरण बनाउन सकेमात्रै वाह्य मुलुकबाट पनि लगानी भित्र्याउन सकिने भएकाले सुदूरपश्चिम प्रदेशको विकासमा पनि निजी क्षेत्रले जुटनुपर्ने तर्क गरे।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी सांसद डा. आरजु राणाले सुदूरपश्चिम क्षेत्रको उत्थानका लागि पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्ने बताइन्। उनले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई सो ठाउँमा भित्र्याउनका लागि बनाउने कानूनको बारेमा संघीय संसदलाई सुझाव दिन पनि सुदूरपश्चिम प्रदेश सरकारलाई आग्रह गरिन्।
लगानी बोर्डका प्रमुख प्रशासकीय अधिकृत सुशील भट्टले सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न विकास तथा लगानी सम्मेलनमा संघीय सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए। उनले सो लगानी सम्मेलनमा सहयोगका लागि आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल समेत गरेको जानकारी दिए।
प्रमुख प्रशासकीय अधिकृत भट्टले लगानी बोर्डले सबै प्रदेशको लगानी सम्भाव्यताको बारेमा विस्तृत रुपमा अध्ययन गरिरहेको र त्यसलाई निरन्तरता दिने बताए।
Shares

प्रतिक्रिया