ad ad

सुदूरपश्चिम


सामाजिक सञ्जालमा विपिन फेला परेको गलत हल्ला, परिवारलाई पीडामाथि पीडा

हमासको ग्रिनेड फालेर साथीको ज्यान जोगाए, आफू भने हराए
सामाजिक सञ्जालमा विपिन फेला परेको गलत हल्ला, परिवारलाई पीडामाथि पीडा

फाइल तस्बिर : विपिन जोशी र विक्षिप्त परिवार


नेपालखबर
असोज २८, २०८० आइतबार १३:११, कञ्चनपुर

इजरायलमा हमासको आक्रमणपछि सम्पर्कविहीन कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ भाँसीका विपिन जोशीको अवस्था अझै अज्ञात छ। 

घटना भएको एक साताभन्दा बढी समय बितिसक्दा पनि विपिनको अवस्था पत्ता लाग्न नसकेको हो। 

भीमदत्त नगरपालिका– ३ भाँसीमा बुवा मानदेव, आमा पद्‌मा र बहिनी पुष्पा विक्षिप्त छन्। 

विपिनको परिवारका सदस्य उनको खोजीका लागि दबाब दिन काठमाडौँ गएका छन्।

काठमाडौँमा रहेका विपिनका दाइ किशोरले अहिलेसम्म उनको पत्तो नलागेको बताए।

‘विपिनको बारेमा केही थाहा पाइएको छैन, ऊ कस्तो अवस्थामा छ? कहाँ छ भनेर’, किशोरले भने, ‘भाइको खोजीका लागि सरकारले तदारुकता देखाउनुपर्छ।’

सामाजिक सञ्जालमा विपिन फेला परेको गलत खबर सार्वजनिक भइरहेका छन्। यसले पीडित परिवारलाई पीडामाथि पीडा थपेको छ।

आक्रमणपछि इजरायलमा फसेका २ सय ५४ जना विद्यार्थीलाई सरकारलाई उद्धार गरेर घर फर्काएको छ। साथी मारिएको पीडा छातीभरि बोकेर विपिनका साथी भने घर फर्किसकेका छन्।

उनीहरुले १० जना साथी इजरायलको माटोमा बिलाए। 

ज्यानको बाजी थापेर हमासको आक्रमणबाट जोगाउने महेन्द्रनगरका विपिन भने बेपत्ता छन्। 

इजरायलबाट फर्किएका विपिनका साथीहरुका अनुसार विपिनले हमास लडाकुले फालेको ग्रिनेड बाहिर फालेर नेपाली विद्यार्थीको ज्यान जोगाएका थिए।

हमासको आक्रमणपछि सुरक्षित हुनका लागि १७ जना विद्यार्थी बंकरमा लुकेका थिए। त्यसै बेला हमास लडाकुले फालेको एउटा ग्रिनेड विपिनले बाहिर फालेका थिए। 

तर अर्को ग्रिनेड बंकरभित्रै पड्किएर १० नेपालीले ज्यान गुमाए। 

त्यसपछि विपिनलाई हमास लडाकुले थाइल्यान्डका नागरिकसँगै बन्धक बनाएर लगेको विपिनका साथीहरुको भनाइ छ। 

गत भदौ अन्तिम साता सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एन्ड अर्न कार्यक्रममा विपिनसहित ४९ जना विद्यार्थी इजरायल गएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .