ad ad

सुदूरपश्चिम


बझाङ भूकम्प : ७ वर्षीया सलिनालाई जोगाउन जाँदा प्रमिलाको पनि टाउकोमा बज्रियो ढुंगा, दुवै गम्भीर

भूकम्पपछि खसेको सुख्खा पहिरोमा एक महिला बेपत्ता
बझाङ भूकम्प : ७ वर्षीया सलिनालाई जोगाउन जाँदा प्रमिलाको पनि टाउकोमा बज्रियो ढुंगा, दुवै गम्भीर

गोकुल जोशी
असोज १६, २०८० मंगलबार २०:५८, कञ्चनपुर

बझाङको जयपृथ्वी नगरपालिका–११, रुइना बगरकी ७ वर्षीया सलिना जोशी मंगलबार दिउँसो घरमै थिइन्। दिउँसो एक्कासि घरमाथिबाट ढुंगा खसेर उनको टाउकोमा बज्रियो।

नजिकै रहेकी ११ वर्षीया प्रमिला जोशी उनलाई बचाउन गइन्। त्यस क्रममा उनलाई पनि माथिबाट खसेको ढुंगा लागेको थियो।

मंगलबार दिउँसो सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु बनाएर गएको भूकम्पपछि खसेको ढुंगा लागेर ती दुई बालिका गम्भीर घाइते भएका छन्।

सलिनाको बायाँ खुट्टाको तिघ्रा भाँचिएको छ। प्रमिलाको बायाँ हातको पाखुरा भाँचिएको छ। उनीहरूको टाउकोमा पनि चोट छ। जिल्ला अस्पताल, बझाङमा उपचारका लागि पुगेका उनीहरूलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ।

यस्तै, जयपृथ्वी नगरपालिका–११, ओखलमा टिपुर टिप्न गएकी ४० वर्षीया जुनमती धामी बेपत्ता भएकी छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार भूकम्पपछि माथिबाट खसेको सुख्खा पहिरोमा उनी च्यापिएकी थिइन्। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

भूकम्पबाट बझाङमा १७ जना घाइते भएका छन्। तीमध्ये ठाउँठाउँमा भौतिक संरचनामा क्षति पुगेको छ। विद्यालय, घर तथा पुराना सरकारी कार्यालय भत्किएका छन्। घर तथा जमिनमा चिरा परेका छन्।

भूकम्पपछिको पहिरोले राजमार्ग अवरुद्ध बनेको छ। तलकोट, जयपृथ्वी, केदारस्युँ, मष्टा, दुर्गाथली लगायत ठाउँमा बढी क्षति छ। 

जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजालका अनुसार वडा नं. ७ मा धनगढी, महेन्द्रनगरबाट आउने गाडी पहिरोले रोकिएका छन्।

‘बाटो खुलाउन जेसीबी सहितको टोली त्यसतर्फ पठाएका छौँ,’ नगर प्रमुख बजालले भने, ‘बाटो खुलाउने प्रयास भइरहेको छ।’

लगातार भूकम्प गएपछि बझाङका स्थानीय त्रसित बनेका छन्। उनीहरु घरभित्र जान पाएका छैनन्। 

‘फेरि भूकम्प जाने त्रासमा स्थानीय घरभित्र जान पाएका छैनन्, विद्यालयको खुला चौरमा बसेका छन्,’ नगर प्रमुख बजालले भने, ‘निकै त्रासको वातावरण छ।’

घरमा क्षति भएपछि कतिपय परिवार खुलाआकाशमा रात काट्न बाध्य छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .