ad ad

सुदूरपश्चिम


‘घर जान्छु’ भनेर माइतबाट हिँडिन्, छोरीलाई उखुबारीमा बाँधेर आफू भागिन्

‘घर जान्छु’ भनेर माइतबाट हिँडिन्, छोरीलाई उखुबारीमा बाँधेर आफू भागिन्

गोकुल जोशी
असोज ५, २०८० शुक्रबार २०:२८, कञ्चनपुर

कञ्चनपुरमा उखुबारीभित्र हातखुट्टा बाँधिएको अवस्थामा भेटिएकी एक वर्षीया नाबालिकालाई परिवारको जिम्मा लगाइएको छ।

नाबालिका बेवारिसे अवस्थामा भेटिएको खबर सार्वजनिक भएपछि सम्पर्क आएको परिवारलाई ईलाका प्रहरी कार्यालय बेलौरीले नाबालिका जिम्मा लगाएको हो। 

नाबालिकालाई पुनर्वास नगरपालिका–२ अमरैया बस्ने मावलीतर्फकी हजुरआमा रामपति चौधरीको जिम्मा लगाइएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरी प्रसाद जैसीले नेपालखबरलाई बताए।

शुक्रबार बिहान बेलौरी नगरपालिका–७ सिंहपुरस्थित उखुबारीभित्र हात बाँधिएको अवस्थामा ती बालिका फेला परेकी थिइन्।

उखुको बोटमा उनको हात बाँधिएको थियो। नजिकै खेलौना राखिएको थियो। सडक नजिकै रहेको उखुबारीमा बच्चा रोइरहेको सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

त्यसपछि प्रहरी र स्थानीयले उद्धार गरेर ती बालिकालाई श्रीपुर प्राथमिक स्वास्थ्य चौकी पु¥याएका थिए। बच्चालाई आमाले नै उखुबारीमा बाँधेर आफू सम्पर्कविहिन भएको खुलेको छ।

बिहीबार बेलुका ५ बजेतिर उनकी आमा २५ वर्षीया सर्मिला पुनर्वास नगरपालिका–२ अमैरैयास्थित माइती घरबाट घर जान्छु भनेर निस्किएकी थिइन्।

त्यसपछि उनी परिवारको सम्पर्कमा छैनन्। उखुबारीमा भेटिएकी ती बालिकाको बुवाको ठेगाना छैन। आमा सर्मिलाले त्यसको बारे माइती परिवारलाई पनि बताएकी छैनन्। 

उनले यसअघिको बिहे गरेका युवकसंग सम्बन्ध तोडेर अर्को बिहे गरेकी थिइन्। श्रीमान्‌लाई छोडेर अर्को बिहे गरेकी उनको त्यहाँ एउटा छोरा थियो।

सो छोरा बुवासँगै छाडी भागेर अर्को बिहे गरेकी उनको अहिलेको छोरी हो। तर उनले बुवाको ठेगाना नबताउँदा नाबालिका बेवारिसे बनेकी छन्। 

छोरीसँगै उनी माइती परिवारमै बस्दै आएकी थिइन्। ‘बिहे गरेर बच्चा जन्माउँदै छोड्दै जाने गरेको परिवारले बताएका छन्, यो छोरीको बुवा नै टुंगो छैन,’ प्रहरी स्रोतले भन्यो, ‘माइतीमा घर जान्छुँ भनेर हिँडेकी रहेछन्, घर कहाँ हो? भनेर बताएकी छैनन्।’

विगतमा पनि श्रीमान् र बच्चा छोडेर अर्को बिहे गरेर हिँडेकोले यसपटक पनि छोरीलाई उखुबारीमा बाँधेर आमा पोइल गएको हुनसक्ने परिवारको आशंका छ।

माइती परिवारले उपलब्ध गराएको सर्मिलाको नम्बरमा प्रहरीले सम्पर्क गरेको थियो। ‘बच्चा कहाँ छ?’ भन्ने प्रश्नमा उनले बच्चा आफूसँगै रहेको भनेर झुटो बोलेकी थिइन्।

प्रहरीसँग उनले आफ्नो ठेगाना पनि खुलाइनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .