सुदूरपश्चिम


कञ्चनपुरका आरक्ष पीडितले माइतीघरमा थाले भोक हड्ताल

यस्ता छन् पाँच बुँदे माग
कञ्चनपुरका आरक्ष पीडितले माइतीघरमा थाले भोक हड्ताल

नेपालखबर
भदौ २५, २०८० सोमबार १९:५, काठमाडौँ

कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज)बाट विस्थापित भएका पीडितहरुले देशको राजधानी काठमाडौंको माइतीघर मण्डलामा भोक हड्ताल सुरु गरेका छन्।

आरक्षबाट विस्थापित भएको २२ वर्ष वितिसक्दा पनि पुनर्स्थापनामा राज्यले वेवास्ता गरेको भन्दै पीडितहरुले सोमबारदेखि माइतीघर मण्डलामा भोक हड्ताल सुरु गरेका हुन्।

तत्कालीन आरक्ष विस्तारका क्रममा २०५८ सालमा राज्यले सयौं परिवार विस्थापित गरे पनि अझै उनीहरुको पुनर्स्थापना हुन सकेको छैन।

आरक्ष पीडित संघर्ष समितिका अध्यक्ष कर्णबहादुर चन्द र सचिव प्रेमदत्त भट्टसहित पीडितहरु पुनर्स्थापनाका लागि पाँच बुँदे मागसहित भोक हड्तालमा बसेका हुन्।

पीडितहरुले प्रतिपरिवार दश कठ्ठा जग्गा उपलब्ध गराउनुपर्ने, २०५८ देखि अहिलेसम्म २२ वर्षको क्षतिपूर्ति दिनुपर्ने, घरगोठलगायत खोसिएको सम्पत्तिको मुआब्जा दिनुपर्ने, पीडित परिवारका लागि शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानीको ग्यारेन्टी गर्नुपर्ने, पीडित परिवारका बालबालिकालाई राज्यको मूलधारमा रोजगारी सुनिश्चित हुनुपर्ने माग गरेका छन्।

भोक हड्तालमा बसेका आरक्ष पीडित संघर्ष समितिका सचिव भट्टले समस्या समाधान गर्ने भनेर प्रधानमन्त्रीदेखि कञ्चनपुरका जनप्रतिनिधिले आश्वासनमात्रै दिएको र पुनर्स्थापनाका लागि कुनै कदम नचालेकाले बाध्य भएर सडकमा आएको बताए।

‘अब माग पूरा नभएसम्म हामी पछि हट्दैनौं। हामीमाथि राज्यको विभेदले सीमा नाघ्यो। यथाशिघ्र हाम्रो पुनर्स्थापना हुनुपर्छ,’ उनले भने। आरक्ष पीडितको नाममा राजनीतिक दलहरुले कमाइ खाने भाँडो अब बन्द हुनुपर्ने उनको भनाइ छ।

पीडितको पुनर्स्थापनाका लागि राज्यले ३२ वटा आयोग बनाए पनि समस्या समाधान भएको छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad