स्थानीय सरकारले बाढी र डुबान प्रभावित घरपरिवारको उचित व्यवस्थापन गर्न नसक्दा सुदूरपश्चिमका अधिकांश नदी किनारमा अव्यवस्थित बसोवास बढ्न थालेको छ।
कमैयामुक्त घोषणा गरेको धेरै भइसक्यो। तर सुदूरपश्चिमका कतिपय स्थानमा मुक्त कमैयाहरु अझै पनि नदी किनारमा बस्न बाध्य छन्।
जमिनको टुक्रा छैन। नदी किनारमा बाँसका छेस्का जोडेर जेनतेन बनाएको छाप्रो पनि हरेक वर्ष आउने बाढीले बगाउँछ। अनि हरेक वर्ष वर्षातको समयमा शून्यबाट शुरु हुन्छ उनीहरुको आर्थिक जीवनचक्र। सुरक्षित बासस्थान नहुँदा गरिबी झन् बढ्दै गएको छ भने सधैँ जोखिमयुक्त बसोवासमा रहन बाध्य छन्।
कञ्चनपुरको धनगढीबाट चौराह हुँदै महेन्द्रनगर जाने पूर्वपश्चिम राजमार्गको बीचमा पर्ने मछेली नदी पुल किनारको बस्तीको जोखिम मूल्यांकन राजमार्गबाटै सहजै गर्न सकिन्छ।
बीच जंगल ठूलो नदीको किनारमा ७ परिवार बसोवास गर्दै आएका छन्। मछेली नदीको पुल पनि बाढीको जोखिममा छ। आगामी वर्षातमा मछेली नदीमा आएको बाढीमा भत्कन ठिक्क परेर बसेजस्तो देखिने पुलको छेउमा सानो बस्ती छ। पुल पारीपट्टी स्थानीय सरकारले शहरका छाडा गाईको व्यवस्थापनको प्रबन्ध मिलाएको छ।
गत वर्षको बाढीले बासस्थान, भाँडाकुँडा, लत्ताकपडा सबै बगाएपछि उँचो स्थान खोज्दै पीडितहरु पुलको छेउमा बस्न थालेका हुन्। स्थानीय सरकारले छाडा गाईको व्यवस्थापन भन्दै पुल पारीपट्टी गाई पालेको छ। गाईलाई घाँस, कुँडो, दाना लगायतको व्यवस्था गरिएको छ तर पुलको अर्कोपट्टी बसेको मानवबस्तीमा चासोसम्म दिँदैन।
ज्यान हत्केलामा राखेर लालाबालासहित नदी किनारमा बस्दै आएकी वासमती खुनाको मन रोइरहेको छ। बाटो पारीका गाईका बथान हेर्दै उनले भनिन्, ‘मान्छे भएर पनि पशु जत्तिको पनि व्यवहार भएन।’
चुनावमा भोट माग्न नमस्कार गर्दै आएको सम्झना छ उनलाई। चिल्ला गाडी राजमार्गमा हुइकिँदै गर्दा तिनै भोटमाग्न आएकाहरु नै हिँडेको भान उनलाई हुन्छ। उनी भन्छिन्,‘सरकार रोड रोड हिन्छ। भोट माग्नका लागि नमस्ते गर्न आउँछन्। भोट दिएपछि कोही फर्केर आउँदैनन्।’
पशुको व्यवस्थापनमा ध्यान दिने सरकारले नागरिकको बेवास्ता गरेको उनलाई पटक्कै सैह्य छैन। उनी तीनै गाईतिर दाहिने हातले देखाउँदै भन्छिन् ‘यही रोड पारी छाडा गाईहरुको लागि राम्रो व्यवस्था गरिएको छ। घाँसपानी, खोले पकाएर खान दिन्छन्। तर हाम्रो लागि केही पनि छैन।’
एक छोरा एक छोरीकी आमा मागी बिष्ट डगौरालाई पनि सरकारले सुरक्षित वासस्थानमा लैजान्छ भन्ने आश छैन। आफूले सुकुम्वासीको फारम भरेपनि स्थानीय सरकारले अव्यवस्थित बसोवासको कागज थमाएको गुनासो उनको छ।
गाई राखेको स्थानमा बिजुली जडान गरेपछि ती सातै परिवारले नगरप्रमुखलाई बत्तीको अनुरोध गरे। अहिले छाप्रो बाहिर बत्ती बल्छ। तर भित्र छैन।
उनी भन्छिन्,‘मान्छेलाई बत्ती छैन गाईलाई बत्ती छ भनेपछि यहाँ बत्ती हालेको। अरु त विश्वासको काम गरेकै छैन सरकारले। जमिन दिन्छ भन्ने त विश्वास लागेकै छैन।’
आकाश मुनी टाउको मात्रै लुकाउन बनाईएको छाप्रो देखाउँदै उनी भन्छिन्, ‘हिउँदमा पनि जंगलको बीच भएकाले बाघको डर छ। बाघ आयो भने यो त भत्काइहाल्छ नि। रातभरि डराउँछौ। सर्पको पनि डर हुन्छ। ’
बस्तीको उत्तरपट्टि बाढीसँगै मछेली नदीले ल्याएको बालुवा र गेग्रान भरिएर बनेको टापु छ। सो स्थानमा अहिले ३ सय २५ परिवार बसोवास गर्छन्। नदीले थुपारेको ग्रेग्रानका कारण बीच भाग अग्लो हुँदा वरपर कटान गर्ने जोखिम पनि त्यत्तिकै बढाएको छ।
टापुजस्तो भूभागमा बसोवास गर्नेहरु हिउँदको समयमा सोही स्थानमा बालुवा चाल्ने काम गर्छन्। उनीहरुको आम्दानीको स्रोत भनेकै हिउँदको समयमा बालुवा चाल्नु हो। यही काम पनि उनीहरुले वषातको समयमा पाउँदैनन्।
सुकुम्वासी, शुक्लाफाँटबाट बिस्थापित अनि भूमिहीनको बसोबास रहेको सो बगरमा पछिल्लो समय हुनेखानेहरुले पनि जग्गा अतिक्रमण गरी छाप्रो बनाउन थालेपछि वास्तविक पीडितहरुलाई राहत उपलब्ध गराउन कठिनाई भएको सामाजिक कार्यकर्ताहरुको अनुभव छ।
Shares

प्रतिक्रिया