कैलालीको अत्तरियास्थित होटलमा दार्चुलाका एक शिक्षक मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दार्चुलाको व्याँस गाउँपालिका–३ का ४५ वर्षीय मोहनसिंह डडाल होटलमा मृत भेटिएका हुन्।
उनी व्याँस गाउँपालिका–३ स्थित सिद्ध माध्यमिक विद्यालय सिनामा प्रावि शिक्षकको रुपमा कार्यरत थिए।
गोदावरी नगरपालिका–१ अत्तरियास्थित बसपार्कमा रहेको न्यू सत्कार होटलमा डडाल १० वैशाखमा कोठा लिएर बसेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दले जानकारी दिए।
उनका अनुसार होटलको कोठा नम्बर १०३ मा बसेका डडाल मृत अवस्थामा भेटिएका छन्। प्रहरीका अनुसार डडालको शव शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको थियो। घटनाबारे अनुसन्धान विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मृतक डडालको स्थायी बसोबास व्याँस गाउँपालिका–३ कै तुसारपानी हो। उनका दाइ कुन्दनसिंह कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–१ झिलमिलामा बस्छन्।
केही दिनअघि दुवै दाइभाइ मिलेर बुवाआमालाई काठमाडौँ घुमाएर फर्किएका थिए। मृतक डडालले अत्तरियास्थित गोदावरी नगरपालिका नजिक घडेरी किनेको र घर बनाउने योजनामा रहेको परिवारले जनाएको छ।
Shares

प्रतिक्रिया