कञ्चनपुर महेन्द्रनगरका व्यवसायी सञ्जिवचन्द्र भट्ट पुस २८ मै पोखरा पुगिसकेका थिए।
पोखरामा उनका आफन्त छन्। आफन्तसँग भेटघाट र घुमफिर गर्न उनी त्यहाँ गएका थिए। दुई दिन उनले भेटघाट र घुमफिरमा बिताए। माघे संक्रान्ति पनि आयो।
व्यवसायी भट्टका छोरा काठमाडौँमा पढ्छन्। उनीहरूको हेरचाहका लागि ५० वर्षीया श्रीमती सुष्मा पनि काठमाडौँमै थिइन्। माघी पर्वले विद्यालय बिदा हुँदा कान्छा छोरा १४ वर्षीय स्लक पनि फुर्सदिला थिए।
पोखरामा रहेका सञ्जिवले आफन्तसँग भेटघाट र घुमफिर गर्न उनीहरूलाई पनि बोलाउने निधो गरे। माघे संक्रान्ति पोखरामै आफन्तसँग मनाउने र त्यतै घुमघाम गरेर काठमाडौँ फर्किने उनीहरूको योजना थियो।
आइतबार बिहान सुष्मा र स्लक यती एयरलाइन्सको जहाजमा पोखराका लागि उडे। तर उनीहरू सवार जहाज पोखरा पुग्नै नपाई सेती खोँचमा दुर्घटनामा पर्यो।
सञ्जिवको योजना एकाएक चकनाचुर भयो। ‘सञ्जिव दुई/तीनअगाडि नै पोखरा गएको रहेछ, घुमफिर र आफन्तसँग संक्रान्ति मनाउन उनीहरू (सुष्मा र स्लक) पनि त्यतै गइरहेका थिए’, सञ्जिवका काका यज्ञराजले नेपालखबरसँग भने, ‘यस्तो दुःखद् खबर सुन्नुपर्यो, साह्रै मर्माहत छौँ।’
सञ्जिव अहिले पोखरामै छन्। भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारको घरमा अहिले सञ्जिवकी ७४ वर्षीया आमा माया बस्छिन्। नाति र बुहारीको दुर्घटनापछि उनी सम्हालिन सकेकी छैनन्, विक्षिप्त छिन्।
घरमा रुवाबासी छ। छरछिमेक, आफन्तहरूले मायालाई सान्त्वना दिँदै सम्हाल्न खोजिरहेका छन्। माया मुटु रोगी पनि हुन्। उनी दैनिक औषधि लिने गर्छिन्। वृद्ध उमेरकी माया आइतबार दिउँसो सुनेको दुःखद् खबरले गलेकी छन्।
सञ्जिवका काका यज्ञराजले आइतबार बिहान ११ बजेतिर जहाज दुर्घटनाको खबर सुनेका थिए। ‘बिहान खाना खाइसकेको थिएँ, ११ बजेपछि घटनाबारे सुनेँ, पछि बुझ्दै जाँदा उनीहरू (सुष्मा र स्लक) पनि त्यसै जहाजमा रहेको थाहा पाइयो’, उनले भने, ‘घरमा भाउजू मात्रै हुनुहुन्छ, दिउँसोतिर मात्रै उहाँलाई खबर गर्यौँ।’
उनका अनुसार शवको सनाखत अझै हुन सकेको छैन। भट्ट परिवारले उनीहरू सकुशलै पाउने आश पनि मारिसकेका छन्। ‘सास पाउने आश मरिसक्यो, लास मात्रै पाए पनि हुन्थ्यो’, काका यज्ञराजले भने। व्यवसायी सञ्जिव पुस ५ गते महेन्द्रनगरबाट काठमाडौं गएका थिए।
सञ्जिवका दुई छोरी र दुई छोरा छन्। कान्छा छोरा दुर्घटनामा परेका हुन्। उनी काठमाडौँस्थित सेन्ट जेभियर्स कलेजमा आईएससी प्रथम वर्षमा पढ्थे।
उनी महेन्द्रनगरबाट एसईई उत्तीर्ण गरेर उच्च शिक्षाका लागि काठमाडौँ गएका थिए। स्लक पढाइमा अब्बल थिए। जेठा छोरा पनि काठमाडौँमै आइएससी दोस्रो वर्षमा अध्ययरत छन्।
व्यवसायी भट्टकी जेठी छोरी चितवन मेडिकल कलेजमा एमबीबीएस पढिरहेकी छन्। अर्की छोरी आईटी इन्जिनियर हुन्। उनी काठमाडौँमै काम गर्छिन्।
भट्ट महेन्द्रनगरका प्रतिष्ठित व्यवसायी हुन्। उनको महेन्द्रनगर बजारमा पशुपति इम्पोरियम छ। भट्टले कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा दुईपटक प्रतिस्पर्धा गरेका थिए।
व्यवसायीको परिवार जहाज दुर्घटनामा परेपछि महेन्द्रनगरका व्यवसायीहरू समेत शोकमग्न भएका छन्। उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले यो दुःखद घटनाले मर्माहत भएको र यस क्षेत्रका उद्योगी/व्यवसायी ठूलो शोकमा परेको बताए।
जहाज दुर्घटनामा व्यवसायी भट्टका श्रीमती सुष्मा र छोरा स्लकको निधनको शोकमा उद्योग वाणिज्य संघले उद्योग, व्यवसाय बन्द गर्ने निर्णय गरेको हो।
उद्योग वाणिज्य संघ कञ्चनपुरका महासचिव खगेश्वरप्रसाद बोहराले आज (सोमबार) दिउँसो १२ बजेसम्मका लागि सम्पूर्ण उद्योग, व्यवसाय बन्द गरिएको बताए।
काठमाडौँबाट पोखरातर्फ गइरहेको जहाज दुर्घटनाले यस क्षेत्रका उद्योगी/व्यवसायी दुःखी भएका छन्।
प्रतिक्रिया