बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहारको घाँटी रेटेर हत्या गरिएको घटनाका आरोपी भरतराम कोली फरार छन्।
उनको खोजी कार्यमा प्रहरी जुटेको छ। तर, अहिलेसम्म प्रहरीले उनको अत्तोपत्तो पाएको छैन। शिवनाथ गाउँपालिका–४ सोलपलाका कोलीविरुद्ध हत्या आरोपमा पीडित परिवारले किटानी जाहेरी दिएका छन्।
प्रहरीले खोजी गरिरहेका कोली भने यहीँबीचमा सामाजिक सञ्जाल (टिकटक)मा झुल्के। कोलीले प्रयोग गर्दै आएको टिकटक अकाउण्टमा ‘मैले मायाको हत्या गरेको होइन’ शीर्षकमा एउटा सन्देश छोड्दै अपराध अस्वीकार गरेका छन्।
पछिल्लो २४ घण्टामा कोली सामाजिक सञ्जालमा सक्रिय रहेको उनको टिकटकबाट प्रष्ट हुन्छ। ‘मैले मायाको हत्या गरेको होइन’ शीर्षकमा लेखिएको भिडिओ पोष्ट गरेको केही समयपछि हटाइएको छ।
उनका अधिकांश टिकटक भिडिओ निराशावादी छन्। बिहीबार मात्रै पनि कोलीले टिकटकमा त्यस्तै गीत साझा गरेका छन्। टिकटकबाट हटाइएको सन्देशमा कोलीले ६/७ महिनादेखि मृतक माया र आफू प्रेम सम्बन्धनमा रहेको खुलाएका छन्।
‘माया र म प्रेम सम्बन्धनमा थियौं, ६/७ महिनादेखि कुरा गर्दै जाँदा करिब एक महिना पहिले उसले आफ्नो बिहे अर्कै केटासित घरकाले जबरजस्ती गराउन लागेको बताइ। आफूलाई लिन आउन भनि तर नजिकै चुनाव आउन लागेकोले म आउन सकिन भने। मैले उसको घरमा पनि कुरा गरे तर घरकाले बिहे हुने कुरा आफूलाई थाहा नभएको बताए,’ कोलीले लेखेका छन्।
आफूले चुनाव सकाएर घर आउने भनेको र सोही अनुसार बिदामा घर आएको उनले उल्लेख गरेका छन्। घटनाको केही समयअघि दुई जनाको भेट भएको उल्लेख गरेका छन्।
‘म चुनाव सकाएर घर आएँ, अनि भेट्ने कुरा भयो, भेट्न बोलाइ। पहिले शिवनाथ आउने भनि आइन, त्यसपछि घर जाने बाटोमा छु भनी। वंगल रोडमा बोलाइन् अनि भेट भयो। मलाई देख्ने बित्तिकै उसले अरु कसैलाई कल गरी मोबाइल खल्तीमा राखि,’ उनले लेखेका छन्, ‘एकछिन कुरा भयो, मैले मोबाइल हेर्ने भनेँ, धेरै कर गर्दा दिइन। अनि कुरा नगरी नबोली गइन्, मोबाइल लगिन्। राति परिसकेको थियो म पनि फर्कें त्यो दिन..’
मायाको मोबाइल चेक गरेको उल्लेख गर्दै उनले भनेका छन् ‘मैले मेसेन्जर र कल हेरेँ, तीन चार जना अरुसँग उनको प्रेम सम्बन्ध रहेछ। अनी मैले अर्को दिन शिवनाथ मन्दिरमा बोलाएर भेटेँ। उनको बहिनीबाट अलग बोलाएर अरु को हुन् भन्दा जवाफ दिइनन्।’
उनले अगाडि लेखेका छन् ‘उनले म सँग नै बिहे गर्ने कुरा गर्दै किस गर्ने निहुँमा म माथि चक्कु प्रहार गरिन्। त्यही चक्कु खोस्ने प्रयास गर्दा मेरो हात काटियो।’
त्यसपछि त्यही चक्कुले आफ्नै घाँटी रेटेर आत्महत्या गरेको उनले दाबी गरेका छन्।
‘...अनि मैले रिसमा गएर खोस्न खोज्दा उसले आफ्नै घाँटीमा चक्कु हानेर लडि त्यसपछि मैले उसको बैनीले थापा पाउँछ भनेर उसको बहिनीलाई त्यही चक्कुले घाँटीमा हान्दा चक्कु टुट्यो अनि भागी।’
कोलीले आफू नभागेको र प्रहरी समक्ष जाने समेत उल्लेख गरेका छन्।
पञ्चेश्वर गाउँपालिका–४ की माया र उनकी भदै नेहा मंगलबार बिहान लुगा सिलाउन कुलाउ गएका थिए। त्यसपछि बेपत्ता उनीहरुको खोजी गर्दा अर्को दिन मायाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको थियो। नेहा घाइते अवस्थामा भेटिएकी थिइन्।
माया मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा चुनावमा म्यादी प्रहरी पनि थिइन्। जिल्ला प्रहरी कार्यालय बैतडीले आरोपी विरुद्धका प्राप्त जानकारीलाई सुक्ष्म रुपमा अनुसन्धान गरिरहेको जनाएको छ।
‘आरोपी सम्बन्धी प्राप्त स–साना जानकारीलाई पनि संकलन गरिरहेका छौं, विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ,’ डीएसपी प्रेमबहादुर शाहीले भने, ‘आरोपीको खोजी कार्य जारी छ।’
- पूर्वम्यादी मायाको मोबाइल भेटियो, हत्या आरोपी सशस्त्रका जवान भेटिएनन्
- पूर्वम्यादी मायाको हत्या : सशस्त्रका जवानले खोसेका थिए मोबाइल फोन
प्रतिक्रिया