घाँटी रेटेर हत्या गरिएकी बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहारले प्रयोग गर्दै आएको मोबाइल भेटिएको छ।
घटनास्थलनजिकै मोबाइल फोन फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए।
पीडित परिवारले शिवनाथ गाउँपालिका–४ सोलपलाका भरतराम कोलीविरुद्ध हत्या आरोपमा किटानी जाहेरी दिएकोसमेत उनले बताए।
‘किटानी जाहेरी दर्ता भएको छ, घटनास्थलनजिकै मोबाइल पनि फेला परेको छ,’ उनले भने, ‘घटनाबारे विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौँ।’
हत्या आरोपी कोली कास्कीमा शसस्त्र प्रहरीको जवान पदमा कार्यरत छन्। उनी बिदामा घर आएका थिए। अहिले उनी फरार छन्।
हत्या आरोपी कोलीको खोजीका लागि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको डिएसपी शाहीले बताए।
भारततिर भाग्न सक्ने आशंकामा नाकामा निगरानी सुक्ष्म पारिएको छ। आरोपी कोलीको खोजीमा प्रदेश प्रहरीको टोली पनि सघाइरहेको छ।
बरामद गरिएको मोबाइलमा केन्द्रित भएर विभिन्न कोणबाट घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पञ्चेश्वर गाउँपालिका–४ की माया र उनकी भदै नेहा मंगलबार बिहान लुगा सिलाउन कुलाउ गएका थिए।
त्यसपछि बेपत्ता उनीहरुको खोजी गर्दा अर्को दिन मायाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको थियो। नेहा घाइते अवस्थामा भेटिएकी थिइन्।
माया मंसिर ४ मा सम्पन्न प्रतिनिधि र प्रदेश सभा चुनावमा म्यादी प्रहरी पनि थिइन्। आरोपी कोलीले केही दिनअघि मायाको मोबाइल खोसेको खुलेको छ।
प्रतिक्रिया