सुदूरपश्चिम


मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीको ‘ब्याटल फिल्ड’ डडेल्धुरा!

देउवा ढुक्क, प्रदेशमा कडा टक्कर
मुख्यमन्त्रीदेखि प्रधानमन्त्रीको ‘ब्याटल फिल्ड’ डडेल्धुरा!

गोकुल जोशी
कात्तिक ३०, २०७९ बुधबार १७:०, कञ्चनपुर

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक १७ गते चुनावी सभालाई सम्बोधन गर्न गृहजिल्ला डडेल्धुरा पुगे। 

तीन दिन डडेल्धुराका विभिन्न ठाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै वाम लोकतान्त्रिक गठबन्धनलाई मत मागे।

भित्री मधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिकको जोगबुडाको सभामा माओवादी केन्द्रका खगराज भट्टका लागि देउवाले मत मागे, सुदूरपश्चिमको भावी मुख्यमन्त्री भनेर।

‘अबको सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री खगराज भट्ट नै हो, मेरो पार्टीले भनिहाल्यो, अबको उनी नै हुन्, तपाईँहरू जिताएर पठाउनुहोस्!’ देउवाले भनेका थिए।

यी उनै भट्ट हुन, जो ०६४ सालदेखि देउवालाई डडेल्धुरामा टक्कर दिइरहेका थिए। सत्ता गठबन्धनका कारण यसपटक भट्ट र देउवा दुवै चुनावी मोर्चामा एउटै कित्तामा छन्।

तीन पटक देउवासँग चुनाव हारेका माओवादीका भट्ट प्रदेश सभा (१) मा गठबन्धनका उम्मेदवार छन्।

विगतका चुनावमा प्रतिस्पर्धी भट्ट यसपटकको चुनावमा देउवाका सारथि छन्। उनी सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने दाउसहित प्रदेश झरेको चर्चा थियो।

यसलाई प्रधानमन्त्री देउवा र पत्नी आरजुले डडेल्धुराका आमसभामा सम्बोधन गरेर अझै प्रष्ट पारिसकेका छन्।

डडेल्धुरामा प्रदेशको मुख्यमन्त्रीदेखि केन्द्र सरकारको कार्यकारी प्रमुख प्रधानमन्त्रीका आकांक्षीसमेत चुनावी मैदानमा छन्। त्यसैले डडेल्धुराले सबैको ध्यान खिचेको छ।

सातौं पटक डडेल्धुराबाट चुनावी प्रतिस्पर्धा गरिरहेका प्रधानमन्त्री देउवा भावी सरकारको प्रधानमन्त्रीको रुपमा हेरिएका छन्। उनीसँग प्रतिस्पर्धा गरिरहेका स्वतन्त्र उम्मेदवार सागर ढकाल देउवालाई विदा गरेर आफू प्रधानमन्त्री भन्ने भन्दै डडेल्धुरामा अन्तिम चुनावी प्रचारमा छन्।

यस्तै, प्रदेश सभा (१) मा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट उम्मेदवार छन्। गठबन्धनको बहुमत सहित भट्टले जितेमा प्रदेशको मुख्यमन्त्री बन्ने पक्का छ।

भट्टसँग नेकपा एमालेबाट ०७४ मा जितेका सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहरा प्रतिस्पर्धामा छन्।
उनलाई नेकपा एमालेबाट सुदूरपश्चिमको भावी मुख्यमन्त्रीको रुपमा चर्चा गर्ने गरिएको छ।

प्रदेशमा टक्कर
डडेल्धुराको प्रतिनिधि सभा भन्दा पनि प्रदेश सभामा सत्तारुढ गठबन्धनलाई जित निकाल्न चुनौती रहेको विश्लेषण भइरहेको छ।

प्रतिनिधि सभातर्फ देउवासँग नेपाली कांग्रेस बीपीको तर्फबाट वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल चुनाव लडिरहेका छन्। 

लामो समय कांग्रेसमा रहेर दुई पटक कांग्रेस डडेल्धुराको सभापति रही सकेका मल्ललाई स्थानीय तह निर्वाचनमा कांग्रेसले कारबाही गरेको थियो।

देउवाका मुख्य प्रतिस्पर्धीका रुपमा उनै मल्ललाई हेरिएको छ। उनलाई नेकपा एमालेले समेत समर्थन गरेको छ।

स्थानीय तह निर्वाचनताका पनि कांग्रेस बीपीले कांग्रेसलाई डडेल्धुरामा चुनौती दिएको थियो। देउवाको वडामा नै कांग्रेसलाई उसले पराजित गरेको थियो।

डडेल्धुरामा देउवाको जित सुनिश्चित रहेको सत्तारुढ गठबन्धनका एक नेताको दाबी छ।

‘०६४ देखिका प्रतिस्पर्धीसँग तालमेल छ, अब प्रतिनिधि सभामा देउवालाई रोक्न सक्ने कोही छैनन्,’ ती नेताले भने, ‘जित सुनिश्चित छ, अहिले मतान्तर ठूलो राख्ने प्रयत्नमा छौँ।’

यद्यपी देउवाका प्रतिस्पर्धीहरुले पनि आफू जित्ने दाबी गरिरहेका छन्। ०४८ देखि अपराजित देउवा पाँच पटक मुलुकको प्रधानमन्त्री बनिसकेका छन्। उनी दोस्रो पटक नेपाली कांग्रेसको सभापतिको जिम्मेदवारीमा छन्।

प्रतिनिधि सभा भन्दा पनि प्रदेश सभामा भने कडा टक्कर हुने अनुमान छ। प्रदेशसभाको (१) मा मुख्यमन्त्रीका आकांक्षीद्वय भट्ट र बोहराबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ।

‘टुरिष्ट’ उम्मेदवारको आरोप लागेका माओवादी केन्द्रका भट्टलाई यो आरोप छिचोल्दै कांग्रेसको मत आफ्नो पक्षमा तान्नुपर्ने चुनौती छ। 

‘कांग्रेसको मत पाए भने जित निश्चित छ, हामी बढी भन्दा बढि भोट ट्रान्सफर कसरी गर्न सकिन्छ भनेर लागेका छौं,’ माओवादी केन्द्रका एक नेताले भने, ‘मुख्य प्रतिस्पर्धा नेकपा एमाले नै हो।’  

प्रदेशमा भौतिक पूर्वाधारमन्त्री हुँदा गरेका कामहरु देखाएर एमाले उम्मेदवार बोहराले मत मागिरहेका छन्। कमजोर पार्टी संगठन एवम् पार्टी फुटेकाले सत्तारुढ गठबन्धनविरुद्ध जित निकाल्न उनलाई पनि सहज छैन।

गठबन्धनका उम्मेदवार भट्ट स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार बलियो देखिन्छन्। तर यस क्षेत्रमा विगतदेखि क्षेत्रीय र भेगीय नारा लाग्दै आएको छ। एमाले उम्मेदवार बोहरा त्यही क्षेत्रीय र भेगीय नाराका साथ चुनावीमा दौडमा छन्।

बोहरा र भट्ट उम्मेदवार रहेको सो क्षेत्रमा ९५ प्रतिशत बसोबास बैतडी, बझाङ, दार्चुलाबाट आएकाहरुको छ। बोहरा ती मतदातालाई रिझाएर चुनाव जित्ने रणनीतिमा छन्। 

यस क्षेत्र अन्तर्गतको २७ वटा वडामध्ये नेकपा एमालेले ४ र बाँकी वडामा माओवादी केन्द्र र कांग्रेसले नै वडाध्यक्ष जितेकोले गठबन्धनका उम्मेदवार बलियो देखिएका छन्।

०७४ मा माओवादी केन्द्रको समेत समर्थनमा एमालेका बोहरा १३ हजार ५६३ मतसहित विजयी भएका थिए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रघुवर भट्टले ११ हजार ३९४ मत ल्याएका थिए। 

माओवादी केन्द्रको समर्थनमा ०७४ मा जितेका बोहरा यसपटक माओवादी केन्द्रका नेता खगराज भट्टसँग प्रतिस्पर्धा गरिरहेका हुन्।

प्रदेश सभा (२) मा त्रिपक्षीय प्रतिस्पर्धा हुने आंकलन गरिएको छ। सत्तारुढ गठबन्धनका तर्फबाट सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा उम्मेदवार रहेका छन्। त्यहाँ नेकपा एमालेबाट गजेन्द्रबहादुर शाही चुनावी दौडमा छन्।

यो क्षेत्रमा नेपाली कांग्रेस बीपीको समर्थनमा डा. ताराप्रसाद जोशी स्वतन्त्र उम्मेदवार छन्। उनी सत्तारुढ नेकपा एकीकृत समाजवादीमा आवद्ध थिए। 

गठबन्धनबाट समाजवादीले डडेल्धुरामा एउटा पनि सीट नपाएपछि जोशीले पार्टीबाट राजजीमा दिँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए। प्रदेश सभा (२) मा बोहरा, शाही र जोशीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ।

स्वतन्त्र उम्मेदवार जोशी ०७४ को चुनावमा प्रदेश सभा (२) मा एमालेबाट प्रतिस्पर्धा गर्दा तत्कालीन कांग्रेसका उम्मेदवार कर्णबहादुर मल्लसँग ३५६ मतले पराजित भएका थिए।

त्यसबेला मल्लले १३ हजार ४१३ मत ल्याएका थिए भने जोशीले १३ हजार ५७ मत ल्याएका थिए। उनै जोशी यसपटक ०७४ का प्रतिस्पर्धी मल्लको समर्थनमा स्वतन्त्रका हैसियतले प्रदेश सभाको ढोका खोल्ने दाउमा छन्।

सत्तारुढ गठबन्धनका उम्मेदवार बोहराका लागि स्वतन्त्र उम्मेदवार जोशी र एमालेका शाही चुनौती छन्।

अंकगणित
वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा डडेल्धुरामा नेपाली कांग्रेस पहिलो दल बनेको छ। माओवादी केन्द्र दोस्रो स्थानमा छ। 

२ नगरपालिका र ५ गाउँपालिका गरी ७ स्थानीय तह रहेको डडेल्धुरामा कांग्रेसले ५ स्थानीय तह प्रमुख जितेको छ।

सदरमुकामको अमरगढी नगरपालिका, गन्यापधुरा, नवदुर्गा र भागेश्वर गाउँपालिका गरेर ४ पालिकामा प्रमुख उपप्रमुख दुवै तथा परशुराम नगरपालिका प्रमुख मात्रै कांग्रेसले जितेको छ। 

यस्तै, अजयमेरु गाउँपालिका उपप्रमुख पनि कांग्रेसले जितेको छ। ७ वटै स्थानीय तहका ५२ मध्ये नेपाली कांग्रेसले २९ वडा जितेको छ।

माओवादीले यसपटकको स्थानीय तह निर्वाचनमा २ स्थानीय तहको प्रमुखमा जित निकालेको छ। उसले आलिताल गाउँपालिकामा प्रमुख उपप्रमुख दुवै र अजयमेरुमा प्रमुख मात्रै जितेको छ। 

यस्तै, माओवादीले सबैभन्दा ठूलो परशुराम नगरपालिकाको उपप्रमुख पनि जित्यो। माओवादीले स्थानीय तह निर्वाचनमा डडेल्धुरामा १३ वडा जितेको छ। नेकपा एमालेले ४ वडा, एकीकृत समाजवादी २, कांग्रेस बीपी र स्वतन्त्रले २/२ वडा जितेका छन्। 

यहाँ सत्तारुढ कांग्रेस, माओवादी, एकीकृत समाजवादी एक्ला एक्लै लडेका थिए। कांग्रेसबाट कारबाहीमा परेका पूर्वसभापति कर्णबहादुर मल्लले एमालेसँग चुनावी तालमेल गरेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .