सुदूरपश्चिम


डोटीका भूकम्प पीडितको त्रिपालमुनी बास, अझै पुगेन राहत

डोटीका भूकम्प पीडितको त्रिपालमुनी बास, अझै पुगेन राहत

नेपालखबर
कात्तिक २४, २०७९ बिहिबार १८:३३, काठमाडौँ

डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका भूकम्प पीडितले सरकारी तवरबाट कुनै राहत प्राप्त गर्न नसकेको गुनासो गरेका छन्।

उनीहरु तरकारी उत्पादनका लागि निर्माण गरिएका पोलिहाउसमा रात बिताउन बाध्य भएको बताएका छन्। 

भूकम्प पीडितलाई सरकारी क्षेत्रबाट प्रदान गरिने राहत नआइपुगेका कारण उनीहरु समस्यमा परेको बताएका हुन्। गत मङ्गलबार रातिको भूकम्पमा परी यहाँका कैयौँ नागरिकका घरमा क्षति पुगेको छ। कतिपयको घर भत्किएको छ भने कैयौँका घरमा क्षति पुगेकाले आफ्नै घरमा रात काट्न नसक्ने अवस्था रहेको छ। 

यहाँका स्थानीय भरत बोहराले भने, ‘सरकारी क्षेत्रबाट राहत आइपुगेको छैन, पटक पटक गइरहने परकम्पनले पीडितमा त्रास थपिँदै गएको छ, चिसो समयमा हामीहरु पोलि हाउसमा आगो बालेर रात बिताउन बाध्य छौँ।’

नेपाल रेडक्रस सोसाइटी डोटी शाखाले २० वटा त्रिपाल तथा केही खाद्यान्न राहतस्वरुप वितरण गरे पनि पीडितलाई अपुग भएको छ। नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले भूकम्पले ज्यान गुमाएका परिवारका सदस्यलाई रु एक लाख ५० हजार प्रदान गरेका थिए भने नेकपा एमाले डोटीबाट रु एक लाख आर्थिक सहयोग प्राप्त भएको थियो। 

अस्थायीरुपमा भए पनि टहरा निर्माण गर्न तथा एक छाक खान र एकसरो लगाउने लुगाको व्यवस्था गरिदिन पीडितले सरकारसँग माग गरेका छन्। गाउँभरिमै भूकम्पको पीडाले सन्नाटा छाएका कारण खेतमा पाकेको धान तथा कोदो काट्न र टिप्न नपाउँदा खेतबारीमै बाँदर र मुसाले खान थालेको पीडितहरु बताउँछन्।

खानका लागि एक मानो चामल र पीठोसमेत नभएका कारण बालबालिका भोकले रुने कराउने गर्न थालेको अर्की पीडित मनसरा बोहराले बताइन्। 

उता विपद् व्यवस्थापन समितिका संयोजक तथा डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले गृह मन्त्रालयबाट भूकम्प पीडितका लागि त्रिपाल र कम्बल आइपुगेकाले आजै विपद् व्यवस्थापनको बैठक राखी वितरण गरिने बताइन्। 

मङ्गलबार मध्यराति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र भएर ६ दशमलव ६ म्याग्नीच्यूडको भूकम्प गएको थियो। त्यसमा परी उक्त गाउँका छ जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएका थिए। भूकम्पमा परी आठ घर पूर्ण ध्वस्त भएका छन् भने स्थानीयका अनुसार दर्जर्नौँ घरमा क्षति पुगेको छ। 

तारागाउँको आर्थिक सहयोग
यसैबीच भूकम्पमा परी घरबारविहीन भएका डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका पीडितका लागि तारागाउँ विकास समितिले खाद्यान्नलगायत अन्य आवश्यक सामग्री खरिदमा सहज होस् भन्ने उदेश्यले रु ३४ हजार दुई सय ८२ प्रदान गरेको छ। समितिका सदस्य सचिव महेन्द्रबहादुर थापाले समितिले आज सो निर्णय गरेको र तत्कालै पीडितलाई प्रदान गरिने जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad