सुदूरपश्चिम


मन्त्री बन्ने संकेत गर्दै बहादुरसिंह थापाले भने– राम्रै ठाउँ पाउँछु, त्यो हाम्रो शक्ति हुन्छ

मन्त्री बन्ने संकेत गर्दै बहादुरसिंह थापाले भने– राम्रै ठाउँ पाउँछु, त्यो हाम्रो शक्ति हुन्छ

नेपालखबर
कात्तिक ७, २०७९ सोमबार १३:५७, काठमाडौँ

कञ्चनपुर–२ मा सत्ता गठबन्धनका प्रदेशसभा सदस्य उम्मेदवार बहादुरसिंह थापाले निर्वाचन जितेपछि आफू मन्त्री हुने संकेत गरेका छन्।

सत्ता गठबन्धनले सोमबार शुक्लाफाँटा नगरपालिका–५ मा आयोजना गरेको कार्यक्रममा उनले निर्वाचन जिते प्रदेश सरकारमा मन्त्री हुने संकेत गरेका हुन्। 

संविधानसभा सदस्य हुँदा संविधान निर्माणपछिका दुई वर्षमा आफूले पहल गरेर निर्माण भएका विभिन्न आयोजनाहरु स्मरण गराउँदै नेता थापाले मन्त्री भइसकेपछि विकासका लागि चिन्तै नलिन स्थानीयसँग आग्रह गरे।  

‘विकासका लागि तपाईंहरु चिन्तै नलिनुस्। बाटाघाटा, पुल–पुलेसा जति छन्, सानातिना कुराहरु स्थानीय सरकारबाट भइहाल्छ। बाँकी ठूला कामका लागि एनपी (एनपी साउद) जी माथि संघमा गइहाल्नुभयो भने मन्त्री हुने पक्कापक्की हुन्छ,’ उनले भने, ‘एउटा राम्रै मन्त्रालय उहाँ पाउनुहुन्छ। म पनि जितेर गएँ भने केही न केही राम्रै ठाउँ पाइहाल्छु। त्यो हाम्रो शक्ति हुन्छ।’ 

थापाले जिताएर पठाए स्थानीय बासिन्दाहरुको सल्लाह अनुसार नै विकास निर्माणका कामहरु अघि बढाउने पनि प्रतिवद्धता जनाए। ‘तपाईंहरुको सरसल्लाहअनुसार विकास निर्माणका कामहरु अगाडि बढाउने बचनवद्धता जनाउनु चाहन्छु,’ उनले भने, ‘२०७० मा तपाईहरुले दिनुभएको मतले संविधान निर्माण भयो। संविधानमा मेरो नभएर तपाईहरुको दस्तखत छ।’ 

सत्ता गठबन्धनले कञ्चनपुर–२ मा प्रतिनिधिसभातर्फ नेता साउद र प्रदेशसभा तर्फ ‘क’ मा नेकपा माओवादी केन्द्रका ओमविक्रम भाट र ‘ख’ मा कांग्रेसका बहादुरसिंह थापालाई उम्मेदवार बनाएको छ। यो क्षेत्रमा नेकपा एमालेले प्रतिनिधिसभातर्फ नरबहादुर धामी र प्रदेशसभातर्फ ‘क’ मा बचनबहादुर सिंह र ‘ख’ मा कृपाराम रानालाई उठाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad