सुदूरपश्चिम


कञ्चनपुरमा एमालेका बागी उम्मेदवारलाई एकीकृत समाजवादीको समर्थन

कञ्चनपुरमा एमालेका बागी उम्मेदवारलाई एकीकृत समाजवादीको समर्थन

एमालेका बागी उम्मेदवार खेम सुवेदी र भक्त बहादुर अधिकारी।


गोकुल जोशी
असोज ३०, २०७९ आइतबार १२:५४, कञ्चनपुर

कञ्चनपुर क्षेत्र नम्बर–१ मा सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले नेकपा एमालेका बागी उम्मेदवारलाई समर्थन गर्ने भएको छ।

सत्ता गठबन्धनमा एउटा पनि क्षेत्र नपाएपछि कञ्चनपुरमा नेकपा एकीकृत समाजवादी दुई वटा प्रदेश सभा क्षेत्रमा एक्लै चुनाव लड्दै छ।

प्रदेश सभा क्षेत्र नम्बर ३ (क) मा सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री प्रकाश रावल र प्रदेश सभा २ (ख) मा पूर्वसामाजिक विकासमन्त्री लालबहादुर खड्का एकीकृत समाजवादीबाट चुनाव लड्दै छन्।

सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीले यी दुवै क्षेत्रमा अन्तिमसम्म दाबी गरेको थियो। तर नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले यी क्षेत्र बाहेक कञ्चनपुरमा कुनै पनि एउटा क्षेत्र पनि एकीकृत समाजवादीलाई दिएन।

त्यसपछि असन्तुष्ट नेकपा एकीकृत समाजवादी गठबन्धनबाट बाहिरिएर कांग्रेस र माओवादी केन्द्रका विरुद्ध दुई वटा प्रदेशमा आफ्नो एकल उम्मेदवारी दिएको हो।

कञ्चनपुरका प्रतिनिधि सभाका तीन क्षेत्रमध्ये क्षेत्र नम्बर १ माओवादी केन्द्र तथा क्षेत्र नं २ र ३ कांग्रेसको भागमा परेको छ। यस्तै, प्रदेश सभा २ (क) र ३ (क) माओवादी केन्द्रलाई छोड्दा कांग्रेसले प्रदेश सभाका ४ क्षेत्र आफूले राखेको छ।

नेकपा एकीकृत समाजवादीले गठबन्धन विरुद्ध उम्मेदवारी नदिएको कञ्चनपुर क्षेत्र नम्बर १ मा एमालेका बागी उम्मेदवार समर्थन गर्ने अन्तिम सहमतिमा पुगेको छ।

‘गठबन्धनबाट कांग्रेस र माओवादीले हामीलाई एउटा क्षेत्र पनि दिएनन्, दाबी रहेको क्षेत्रमा हामीले उम्मेदवार उठायौँ,’ नेकपा एकीकृत समाजवादी कञ्चनपुरका अध्यक्ष जीवनराज थापाले भने, ‘क्षेत्र नम्बर १ मा पनि अहिलेसम्म गठबन्धनका दलहरुले हामीसंग समन्वय गरेका छैनन्, कसरी सहयोग गर्न सकिन्छ?’

आधिकारिक निर्णय नगरेपनि क्षेत्र नम्बर १ मा नेकपा एमालेका बागी उम्मेदवारलाई समर्थन गर्ने आन्तरिक तयारी भएको उनले बताए।

‘नेपाली कांग्रेस र माओवादी केन्द्रले हामीलाई पाखा लगाए, उनीहरुलाई सहयोग गर्न सकिदैन, एमालेबाट विद्रोह गरेकोले त्यसका उम्मेदवारको पक्षमा जाने कुरै भएन,’ उनले भने, ‘एमालेका बागी उम्मेदवारलाई सहयोग गर्नुको विकल्प छैन, उहाँहरुलाई चुनावमा समर्थन गर्छौ ।’

क्षेत्र नम्बर १ मा नेकपा एमालेका ३ जना नेताहरूले बागी उम्मेदवारी दिएका छन्। एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य खेम सुवेदीले प्रतिनिधिसभामा बागी उम्मेदवारी दिएका छन्। 

यस्तै, प्रदेश सभा (१) मा भक्तबहादुर अधिकारी र प्रदेश सभा (२) मा टेकबहादुर साउदले एमालेबाट बागी उम्मेदवारी दिएका छन्।

उनीहरुलाई नेकपा एमालेले पार्टीको साधारण सदस्यबाट निष्कासन गरिसकेको छ। क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट सुदूरपश्चिमका पूर्व आर्थिक मामिलामन्त्री तारालामा तामाङ प्रतिनिधि सभाका उम्मेदवार छन्। 

यस्तै, प्रदेश सभा (क) मा माओवादी पृष्ठभूमिका वीरबहादुर थापा (पातल)र प्रदेश सभा (ख) मा एमाले कञ्चनपुर सचिव पल्लवराज भट्ट उम्मेदवार छन्।

नेपाली कांग्रेस–माओवादी केन्द्र गठबन्धनबाट प्रतिनिधि सभामा माओवादी केन्द्रकी नेत्री समेत रहेकी पूर्वमन्त्री बीना मगर, प्रदेश सभा (क) मा कांग्रेसका बन्धु राना र प्रदेश सभा (ख) मा दिवानसिंह विष्ट उम्मेदवार छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .