सुदूरपश्चिम


ज्यान जोगाउनै मुस्किल

ज्यान जोगाउनै मुस्किल

नेपालखबर
भदौ १६, २०७९ बिहिबार २०:५, कञ्चनपुर

पूर्वपश्चिम राजमार्गसँगै जोडिएको शुक्लाफाँटा नगरपालिकाको पूर्वी सीमा नदी वनहरा छेउमा झुपडी बनाई बसेका भूमिहीन परिवारलाई ज्यान जोगाउनै मुस्किल हुन थालेको छ। वनहरा नदीले भूमिहीन परिवार बसोबास गरिरहेको क्षेत्रतर्फ कटान गर्न थालेपछि उनीहरू जोखिममा परेका हुन्।

‘एकातर्फ नदीले जग्गा कटान गरिरहेको छ’, पीडित दलबहादुर बोहराले भने, ‘अर्कातर्फ नालामा वर्षाको पानी भरिन्छ, बाढी आए भाग्ने ठाउँ नै छैन।’ आकाशमा वर्षा गराउने बादल आउने क्रम सुरु भएसँगै झुपडी छाडेर सुरक्षित स्थानमा जानुपर्ने बाध्यता भएको उनले बताए। रातिका बेला वर्षा हुन थालेपछि नजिकैको नदीमाथि बनाइएको पुलमा ओत लाग्नका लागि जाने गरेको पीडित प्रकाश साउदले बताए। 

‘वर्षा कतिबेला हुन्छ थाहा हुँदैन’, उनले भने, ‘त्यही भएर बालबालिकासहित पुलमुनि छाडा चौपायासँगै सुत्नुपर्ने बाध्यता छ।’

दिउँसो झुपडीमा गर्मीका कारण बस्नै सकिँदैन। वर्षा भए झोपडी चुहिन्छ। यस्तो अवस्थामा पुलमुनि सुत्नुको विकल्प नभएको उनी बताउँछन्। शिविरमा बस्ने परिवारका छानामा राखिएका त्रिपाल पुराना भइसकेका छन्। त्यसबाट वर्षाको पानी चुहिन्छ।

अत्यावश्यक सामान जोगाउन निकै समस्या भएको भूमिहीन परिवारको दुःखेसो छ। 

वन क्षेत्र नजिकै बसेका भूमिहीन परिवारलाई नदीको बाढीसँगै जङ्गली जनावरको समेत उत्तिकै डर छ। ‘झुपडी छेउबाटै गएराति बाघले गाईलाई मारेर घिसार्दै वन क्षेत्रमा लग्यो’, पीडित अमृता साउदले भनिन्, ‘जीउ जोगाउनसमेत मुस्किल भइसकेको छ, सुरक्षित स्थानमा शिविर सार्न पाए ज्यान जोगिन्थ्यो।’ 

डडेल्धुराको आलितालमा पहिराले घरखेत सबै बगाएर लग्दा भूमिहीन भएर शिविरमा बस्न आएको उनले बताइन्। ‘पीडित भएर बस्नका लागि ठाउँ खोज्दै यहाँ आइपुग्यौँ, यहाँ पनि सुरक्षित रूपमा बस्न नपाइने भएको छ, राति लामखुट्टेले टोकेर हैरान बनाउँछन्, बालबालिकालाई लामखुट्टेबाट जोगाउन जाग्रामसमेत बस्नुपर्छ, नदीमा बाढी आए पूरै परिवार जाग्राम नै बस्छौँ’, उनले भनिन्। 

पुनःस्थापनको आशैआशमा बस्नुपर्ने अवस्था आएको उनले दुखेसो गरिन्। नदीको वारि र पारि गरी दुई ठाउँमा आर्यघाटसमेत छ।

‘नजिकमा मजदुरी पाइँदैन, कयौँ रात भोकै पनि सुतेका छौँ”, पीडित मानध्वज लुहारले भने, ‘टाढा गएर फर्कन सकिँदैन, परिवारलाई एक्लै छाडेर जान पनि सकिँदैन, यसैगरी दुई दशक बित्नै लागे पनि पुनःस्थापनको कुनै निकायबाट पहलसम्म हुनसकेको छैन।’

नदीको दूषित पानी पिउनुपर्ने बाध्यता भएकाले बालबालिकासहित युवादेखि बूढापाकासम्म बिरामी पर्ने गरेका उनीहरूको भनाइ छ। पीडित कलावती दमाइले भनिन्, ‘उपचारका लागि आर्थिक अभाव हुँदा झुपडीमै पीडा सहेर बस्नुपर्ने अवस्था छ, आधारभूत स्वास्थ्य केन्द्रबाट सामान्य किसिमको औषधि मात्रै पाइन्छ, स्वास्थ्यकर्मीले औषधि बाह्य क्षेत्रबाट खरिद गर्नुपर्ने लेखिदिन्छन्, पैसा हुँदैन, औषधि खरिद गर्न पाउँदैनौं, त्यसपछि एउटै विकल्प पीडा सहनु मात्रै रहन्छ।’ दुई दशकदेखि भूमिहीन परिवार बसिरहेको शिविरमा १२ परिवार मात्रै बस्ने गरेका थिए। 

‘शव जलाएको धुवाँ शिविरसम्म पुग्ने गर्दछ, पहिला पहिला शव जलाएको गन्ध आउँदा निकै अप्ठ्यारो हुन्थ्यो’, शिविरका बासिन्दाले भने, ‘अब बानी नै परिसक्यो, यो क्षेत्र छाडेर अरू ठाउँ जान सकिँदैन, कुन ठाउँ गएर बस्ने हो, पहाडमा छँदा बाबुबाजेले अरूको काम गरे, कामै नपाइने भएपछि बाध्य भएर यहाँ आइपुगेका हौँ, यस क्षेत्रमा समेत जीवन जिउन निकै कठिन छ।’

डडेल्धुराका पहिरो पीडितसमेत थपिएपछि शिविरमा २८ परिवार बसिरहेका छन्। शिविरमा बाजुरा, बझाङ, अछाम, बैतडी र डडेल्धुराबाट आएका भूमिहीन परिवारको बसोबास छ। शिविरमा बसोबास गरिरहेका परिवारको एउटै भनाइ छ, ‘हामीलाई सुरक्षित स्थानमा पुनःस्थापन गरिदिनुपर्यो।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad