सुदूरपश्चिम


समाजवादीका २ सांसद एमालेमै फर्किएपछि सुदूरपश्चिममा माओवादी ठूलो दल

समाजवादीका २ सांसद एमालेमै फर्किएपछि सुदूरपश्चिममा माओवादी ठूलो दल

फाइल तस्बिर


गोकुल जोशी
भदौ १६, २०७९ बिहिबार १४:१६, कञ्चनपुर

सुदूरपश्चिम प्रदेश सरकरको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्र प्रदेशसभामा सबैभन्दा ठूलो दल बन्ने भएको छ।

प्रदेशमा सबैभन्दा ठूलो दल रहेको नेकपा एकीकृत समाजवादीका दुई सांसदले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेपछि पहिलो नम्बरमा माओवादी केन्द्र आउने भएको हो। एकीकृत समाजवादी दोस्रो नम्बरमा झर्ने भएको छ। 

प्रदेश सरकारको कार्यकालको उत्तराद्र्धमा माओवादी केन्द्र प्रदेशसभाको पहिलो दलमा उक्लिने पक्का छ।

नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी गठन हुँदा यसका पक्षमा सनाखत गरेका सांसद तथा पूर्व आर्थिक मामिलामन्त्री तारालामा तामाङ र पूर्वराज्यमन्त्री कुलवीर चौधरी एमालेमा प्रवेश गरेका हुन्।

उनीहरूलाई बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महेन्द्रनगरमा आयोजित जनसभामार्फत एमालेमा स्वागत गरेका छन्। 

राजनीतिक पार्टी परिवर्तनका कारण उनीहरूको सांसद पद जाने निश्चित छ।

एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश कमिटीले एमाले फर्किने खबरपछि तामाङलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्दै अन्य प्रक्रिया अगाडि बढाउन संसदीय दललाई निर्देशन दिइसकेको छ।

प्रदेश सरकारमा भौतिक पूर्वाधार राज्यमन्त्री रहेका चौधरीलाई एमाले फर्किने खबरपछि बुधबार नै समाजवादीको निर्देशनमा मुख्यमन्त्री त्रिलोचन भट्टले पदमुक्त गरेका थिए।

एमाले प्रवेश गरेका तामाङ र चौधरीलाई कारबाही गरेको पत्र एकीकृत समाजवादीले सभामुखलाई पठाएपछि र सभामुखले संसद्लाई जानकारी गराएपछि उनीहरूको पद जाने छ।

नेकपा एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी गठन हुँदा एमालेका १४  सांसदले समाजवादीका पक्षमा सनाखत गरेका थिए।

यससँगै एकीकृत समाजवादी प्रदेश सभामा सबैभन्दा ठूलो दल बनेको थियो।

एमाले प्रवेश गरेका तामाङ र चौधरीको सांसद पद गए १२ सांसदसहित नेकपा एकीकृत समाजवादी दोस्रो दलमा झर्नेछ। ०७४ को चुनावमा तामाङ कञ्चनपुर १ (१) र चौधरी १ (२) मा एमालेबाट विजयी भएका थिए।

कूल ५३ सदस्य रहेको प्रदेशसभामा नेकपा हुँदा माओवादी केन्द्रमा १४ जना सांसद थिए। नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि अछाम १ (२) बाट निर्वाचित माओवादी केन्द्रका नेता झपड बोहरा एमालेमै बसे। जसका कारण उनको सांसद पद खोसिएको थियो।

त्यसपछि प्रदेश सभाका ५२ सांसदमध्ये माओवादी केन्द्रका १३ जना सांसद भए। प्रदेशसभाको पहिलो दल एकीकृत समाजवादीका २ सांसद एमालेमा फर्किएसँगै १३ सांसदसहित माओवादी केन्द्र प्रदेशसभाको ठूलो दल बनेको हो।

सुदूरपश्चिम प्रदेश सरकारको सत्ता साझेदार नेपाली कांग्रेससँग प्रदेशसभामा ११ जना सांसद छन्।

यसअघि १२ सांसद रहेको कांग्रेससँग डडेल्धुरा १ (२) बाट विजयी कर्णबहादुर मल्ललाई कारबाही गरेपछि उनको सांसद पद गएको थियो। अहिले प्रदेशसभामा कांग्रेसका ११ जना मात्र सांसद छन्।

प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग पनि प्रदेश सभामा सभामुखसहित अहिले ११ जना सांसद छन्।

तर एमालेका रतनबहादुर थापा बिहीबारदेखि रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्।

यस्तो हुँदा यहाँ एमाले सांसदको संख्या घटेर १० मा झर्ने छ। यस्तै, प्रदेश सभामा जसपा र लोसपाका पनि १/१ जना प्रदेशसभा सदस्य छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad