सुदूरपश्चिम


बुढीगंगा नगरपालिकामा मतदान सम्पन्न, ६५ प्रतिशत बढी मत खस्यो

बुढीगंगा नगरपालिकामा मतदान सम्पन्न, ६५ प्रतिशत बढी मत खस्यो

नेपालखबर
असार २३, २०७९ बिहिबार १७:३८, कञ्चनपुर

वैशाख ३० गते धाँधली भएको भन्दै स्थगित भएको बाजुराको बुढीगंगा नगरपालिकामा बिहिबार पुनः मतदान भएको छ। 

बुढीगंगा नगरपालिका वडा नम्बर ९ बाहेक अन्य सम्पूर्ण ठाउँमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको निर्वाचन अधिकृत लक्ष्मण बहादुर कठायतले बताए। 

गत वैशाख ३० गते भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतदानमा धाँधली भएको भन्दै विवाद भएपछि मतदान नै स्थगित गरिएको थियो।

विवादपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको थियो। स्थानीय तह निर्वाचन सकिएको दुई महिना पछि नयाँ नेतृत्व चयनका लागि बुढीगंगामा पुनः मतदान भएको हो।

बिहीबार सम्पन्न मतदानमा ६५ प्रतिशत भन्दा बढि मत खसेको निर्वाचन अधिकृत कठायतले जानकारी दिए।

‘बिहान ७ बजेदेखि सुरु भएको मतदान ५ बजेसम्म लाइनमा लागेकाले भोट गर्न पाउँछन्, अधिकांश ठाउँमा मतदान सकिएको छ,’ उनले भने, ‘केही ठाउँमा थोरै मतदाता लाइन रहेका छन्।’

मतदान सम्पन्न भएको ठाउँमा मुचुल्का तयार गरेर मतपेटिका संकलन गर्ने कार्य भइरहेको उनको भनाइ छ। मतपेटिका संकलन पछि सर्वदलीय बैठक बसेर मतगणना बारे निर्णय गरिने छ।

‘३ बजे ६५ प्रतिशत मत खसेको थियो, लाइनमा मतदाताको संख्या पातलिएको छ,’ निर्वाचन अधिकृत कठायतले भने, ‘त्यसैले ६५ प्रतिशत मतमा केही मत मात्रै थपिन्छन्।’

आजै रातिदेखि मतगणना गर्ने सम्भावना रहेको उनको भनाइ छ। बुढीगंगा नगरपालिका–९ को त्रिशक्ति माध्यमिक विद्यालय मतदान केन्द्रमा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा केही समय मतदान रोकिएको थियो। 

उक्त मतदान केन्द्रमा दुईपक्षीय झडपले तनावको स्थिति सिर्जना भएपछि स्थिती नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको थियो।

बुढीगंगा नगरपालिकाको मेयरमा एमालेबाट रामबहादुर बानियाँ, उपमेयरमा माया कुँवर र नेपाली कांग्रेसबाट मेयरमा रंग खाती र उपमेयरमा रिता शाही उम्मेदवार छन्। नगरपालिकामा १२ हजार ६ सय ५९ मतदाता रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad