फान्सको राष्ट्रिय टोलीका पूर्व डिफेन्डर अदिल रामीले अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजको आलोचना गरेका छन्।
विश्वकपको उपाधि जितेपछि उनले केलियन एम्बाप्पेलाई होच्याउनेलगायतका हर्कत गरेकोमा आपत्ति जनाउँदै रामीले मार्टिनेज विश्वकप फुटबलमा सबैभन्दा धेरै घृणायोग्य व्यक्ति भएको उल्लेख गरेका हुन्।
अर्जेन्टिनाले विश्वकप जितेपछि मार्टिनेजले एम्बाप्पेलाई लक्षित गरी नारासमेत लगाएका थिए।
उनले समर्थकसँग विजय उत्सव मनाउने क्रममा एम्बाप्पेको अनुहारले ढाकिएको गुडियासमेत बोकेका थिए। सोही विषयलाई लिएर फ्रान्सका पूर्व खेलाडीसमेत रहेका रामीले विरोध गरेका हुन्।
सामाजिक सञ्जाल इन्स्टाग्राममा लेख्दै रामीले मार्टिनेजले फुटबलमा सबैभन्दा घृणायोग्य व्यक्ति भएको बताएका हुन्।
अर्जेन्टिनाले विश्वकपको उपाधि जित्दाको उत्सव मनाएदेखि नै विवादमा तानिएका मार्टिनेजले अहिले पनि खेल भावना विपरीतको गतिविधि गरेको भन्दै आलोचना खेपिरहेका छन्।
फुटबलप्रेमीहरुले मार्टिनेजले विश्वकपमा गोल्डेन बुटको उपाधि जितेका खेलाडीको अपमान गर्नु राम्रो कुरा नभएको बताएका छन्।
विशेषगरी फाइनल खेलमा उनले गरेको ह्याट्रिकबाट ईर्ष्या देखाउँदै मार्टिनेजले एम्बाप्पेलाई निशाना बनाइरहेको उनीहरुको भनाइ छ।
समर्थकहरुले मार्टिनेजले अनावश्यक घमण्ड देखाइरहेको आरोप लगाएका छन्। केहीले भने मार्टिनेज अझै परिपक्व नभइसकेको टिप्पणी गरेका छन्।
प्रतिक्रिया