ad ad

खेल


एन्जेल डि मारिया : मेस्सीको छायामा परेका विश्वकपका नायक

एन्जेल डि मारिया : मेस्सीको छायामा परेका विश्वकपका नायक

अर्जेन्टिनी फुटबलर एन्जेल डि मारिया। तस्बिर : सामाजिक सञ्जालबाट


नेपालखबर
पुस ६, २०७९ बुधबार १४:५२, काठमाडौँ

कतारमा आयोजित फिफा विश्वकप २०२२ सकिएको दुई दिन बितिसकेको छ। अहिले अर्जेन्टिनामा विश्वकप जितेको खुसी मनाउने क्रम चलिरहेको छ।

अर्जेन्टिनाले उपाधि जितिरहँदा संसारभर यो विश्वकपको चर्चा कम भएको छैन। ३६ वर्षपछि उपाधि जितेको अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीका लागि यो विश्वकप खास रह्यो।

अझै भन्दा यो विश्वकप नै मेस्सीका लागि आयोजित प्रतियोगिता जस्तै भयो। 

कतार विश्वकपमा मेस्सीले अर्जेन्टिनी टोलीको नेतृत्व गरेका थिए। उनी विश्वकपमा दोस्रो पटक उत्कृष्ट खेलाडी घोषित भए।

उनले आफ्नो करिअरको अधिकांश समय अर्जेन्टिनी टोलीको दबाब आफ्नो काँधमा बोक्दै आएका छन्।

यस्तो अवस्थामा अर्जेन्टिनाले विश्वकप जित्दा यसको मुख्य श्रेय मेस्सीलाई नै जानुपर्नेमा दुईमत नहोला। 

यद्यपि अर्को कोणबाट हेर्दा अर्जेन्टिनी टोलीबाट विश्वकप जिताउन एन्जेल डि मारियाको भूमिका पनि महत्वपूर्ण थियो।

उनी पनि अर्जेन्टिनी टोलीका एक उत्कृष्ट खेलाडी हुन्। ३४ वर्षीय डिमारियाले पीएजी छाडेर युभेन्ट्स गएपछि सन् २०२२/२३ को सिजन  उल्लेख्य प्रदर्शन गर्न सकेका छैनन्।

पीएसजीबाट फ्री ट्रान्सफरमा युभेन्टस पुगेसँगै उनले १० खेल खेलेका छन्। यो क्रममा उनी तीनपटक घाइते भइसकेका छन्।

अर्कातिर रातो कार्डका कारण उनले दुई खेलमा प्रतिबन्ध पनि व्यहोरे। क्लबस्तरमा अगष्ट २२ मा गरेको सिरी एको डेब्यु गोल नै उनको पछिल्लो गोल थियो। 

कतार विश्वकप सुरु हुनुअघि नै उनी अर्जेन्टिनी सुरुवाती टोलीमा उपलब्ध हुने वा नहुनेबारे आशंका थियो।

डिमारिया कतार पुग्दा पनि पूर्णरुपमा फिट नभएको स्पष्ट देखिन्थ्यो। कतारमा उनले केवल एक खेल मात्रै पूरा ९० मिनेट खेले। अस्ट्रेलियाविरुद्धको अन्तिम १६ र क्रोएसियाविरुद्धको सेमिफाइनलमा उनी बेन्चमा रहे। नेदरल्याण्ड्सविरुद्धको क्वार्टरफाइनमा उनले केवल ८ मिनेट खेले।

मेस्सीसँग डि मारिया

विश्वकपको फाइनलमा भने डिमारियाले अहिलेसम्मकै उत्कृष्टमध्येको प्रदर्शन गरे। फाइनलको पहिलो गोलका लागि पेनाल्टीको अवसर डिमारियाले नै सिर्जना गरेका थिए।

डिमारियाको गति र मेस्सीको खेललाई दिशा दिने क्षमताले अर्जेन्टिनाको टोली सन्तुलित देखिँदै आएको छ। यी दुई खेलाडीले अर्जेन्टिनालाई बहुप्रतीक्षित विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण योगदान दिए।

सन् २००८ देखि एकसाथ टोलीमा रहेका यी दुई खेलाडीले एकअर्काको क्षमतालाई राम्रोसँग बुझेका छन्।

आफ्नो प्रभाव बढेसँगै डिमारियाले बललाई अघि बढाउने र आवश्यक पर्दा त्यसलाई पोस्टको दिशा दिने काम गर्छन्। फाइनलमा दोस्रो गोल डिमारियाले असाधारण टिमवर्कका साथ गरेका थिए। 

लामो समयपछि लयमा फर्किएका डिमारिया गोल गरेपछि भावुक बनेका थिए। आफ्नो करियरमा अर्जेन्टिनाका लागि महत्वपूर्ण योगदान दिएका डिमारियाले टोलीलाई सबैभन्दा धेरै आवश्यक परेको बेला गोल गरेका थिए। फाइनलमा गरेको दोस्रो गोलसँगै उनले टोलीलाई नयाँ इतिहासनजिक पुर्‍याएका थिए। 

डिमारियाको लागि यो खेल पूरा गर्न नसक्नु दुर्भाग्य रहन पुग्यो। खेलको ६४ औं मिनेटमा डिमारियालाई मैदानबाट फिर्ता बोलाइयो।

यो डिमारियाको स्वास्थ्यका हिसाबले आवश्यक निर्णय थियो। तर, उनलाई मैदानबाट निकालेसँगै खेलमा हाबी भइरहेको अर्जेन्टिना संघर्ष गर्न बाध्य भयो।

उनको स्थानमा मार्कस अकुनालाई राखिएको थियो। त्यसपछि अर्जेन्टिना रक्षात्मक बन्न पुग्यो। जसको फाइदा उठाउँदै फ्रान्सका केलियान एम्बाप्पेले खेलको ८० र ८१ औँ मिनेटमा दुई गोल फर्काए।

यसले अर्जेन्टिनाको टोलीमा डिमारियाको अभाव स्पष्ट देखाएको थियो। फाइनलमा ३५ वर्षीय मेस्सीलाई म्यान अफ द म्याचको अवार्ड दिइएको थियो।

उनले आफ्नो तर्फबाट खेलमा उत्कृष्ट योगदान पनि दिएका थिए। तर, डिमारियाको प्रदर्शन पनि कम भने पक्कै पनि थिएन। 

विशेषगरी अन्तर्राष्ट्रिय फुटबल करियरमा डिमारिया सधैँ साइडकिकको भूमिका निर्वाह गर्दै आएका छन्।

जब तपाईं सर्वकालीन महान फुटबलरसँग खेल्दै हुनुहुन्छ भने उपाधिको हकदारका रुपमा तपाईंको हिस्सा कमजोर हुनु स्वाभाविक नै हो। 

डिमारियाले पनि कुनै गुनासो गरेनन्। उनी आफ्नो लामो समयदेखिका साथीको प्रशंसा र चर्चामा रमाइरहेका थिए। यो विश्वकपको चर्चामा डिमारिया छायामा परे पनि उनले अर्जेन्टिनाको फुटबल इतिहासमा आफ्नो महत्वपूर्ण भूमिका साबित गरेका छन्।

मेस्सीले यो विश्वकपको उपाधिसँगै आफ्नो ठूलो सपना पूरा भएको महसुस गरेका छन्। यद्यपि उनको सपना लामो समयका सहयात्री डिमारियाको भरपूर योगदानकै कारण सम्भव भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .