ad ad

खेल


यी २२ वर्षे खेलाडी, जसले मेस्सी र अर्जेन्टिना दुवैको लय ब्युँताए

जुलियन अल्भारेज मैदानमा हुँदा मेस्सीको प्रदर्शन पनि राम्रो हुन्छ
यी २२ वर्षे खेलाडी, जसले मेस्सी र अर्जेन्टिना दुवैको लय ब्युँताए

नेपालखबर
मंसिर २३, २०७९ शुक्रबार १७:५१, काठमाडौँ

जब विश्वकपमा अर्जेन्टिनाको कुरा आउँछ, तब कप्तान लियोनल मेस्सीको चर्चा भइहाल्छ। यसपालि पनि अन्ततः विश्वकप ट्रफी उनको हातमा पर्ला कि नपार्ला भन्नेबारेमा धेरै छलफल चलिसकेको छ। 

यसपटक अर्जेन्टिनाको सुरुवात निकै खराब थियो। पहिलो खेलमा साउदी अरबसँग २–१ ले हारेपछि उपाधिको दाबेदार मानिएको अर्जेन्टिनालाई शंकाको नजरले हेर्न थालिएको थियो। तर, त्यसयता अर्जेन्टिनी टोलीले आफ्नो प्रदर्शन सुधारेको छ। र, मेक्सिको, पोल्यान्ड र अस्ट्रेलियामाथि लगातार तीन जित हात पारेको छ। 

शुक्रबार राति अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई हराउने हो भने यो टोली १९९० यता दोस्रो पटक सेमिफाइनलमा पुग्नेछ। 

अन्तिम १६ मा अस्ट्रेलियाविरुद्धको खेलमा सुन्दर गोल गरेका मेस्सी चर्चाको शिखरमा छन्, समाचारको शीर्षकमा छन्। तर, अर्जेन्टिनाको सुधारिएको प्रदर्शनमा मेस्सीको जत्तिकै जसका हकदार छन् जुलियन अल्भारेज। जब अर्जेन्टिनी टोली संघर्ष गर्दै थियो, अल्भारेज टोलीमा आए र आक्रमणमा सघाए। जसका कारण मेस्सीको समेत प्रदर्शन सुध्रियो।

अर्जेन्टिनाको पहिलो दुई खेलमा लाउतारो मार्टिनेजले सुरुवात गरेका थिए। त्यो स्वाभाविक पनि थियो किनभने उनले इन्टर मिलानबाट खेल्दा १५ खेलमा यो सिजन ७ गोल गरेका थिए। कतिपयले उनलाई गोल्डेन बुटका हकदार समेत मानेका थिए। तर, विश्वकपमा गोल हान्नु त परै जाओस्, पहिलो दुई खेलमा गोलपोस्टमा गतिलो आक्रमण गर्न वा मौका सिर्जना गर्न पनि उनी असफल रहे।

त्यसपछि उनलाई पोल्यान्डविरुद्धको समूहचरणको निर्णायक खेल र अन्तिम १६ मा अस्ट्रेलियाविरुद्धको खेलमा बेन्चमा राखियो। अन्त्यतिर मैदानमा प्रवेश गरेर पनि उनले यी दुई खेलमा तीन ठूला अवसर खेर फाले। यसपालि मार्टिनेजभन्दा धेरै मौका खेर फालेर पनि गोल गर्न नसकेका खेलाडी बेल्जियमका रोमेलु लुकाकु मात्रै हुन्।

तर, दुई खेलमा सुरुवात गरेका अल्भारेजले दुई गोल मात्र गरेनन्, अर्जेन्टिनाको समग्र आक्रमणलाई नै धारिलो बनाए। मार्टिनेट स्ट्राइकर मात्र हुन्। तर, अल्भारेज विङ्गर होस् या स्ट्राइकर, अग्रभागको जुनसुकै पोजिसनमा खेल्नसक्छन्। जसले टोलीलाई ठूलो राहत पुग्यो।

अल्भारेज मैदानमा हुँदा अर्जेन्टिनाले गोलपोस्टमा ज्यादा प्रहार गर्यो, ज्यादा पोजेसन प्राप्त गर्यो र गोल पनि ज्यादा गर्न सफल भयो। पहिलो दुई खेलमा अर्जेन्टिनाले गोलपोस्टमा गरेका प्रहारमध्ये ४३.५ प्रतिशत डी बक्सबाहिरबाट हानेको थियो। अन्तिम दुई खेलमा त्यो आँकडा १७ प्रतिशतमा झरेको छ। यसले के देखाउँछ भने अल्भारेज हुँदा टोली ज्यादा सन्तुलित र गोलको अवसर सिर्जना गर्नमा ज्यादा सफल भएको छ।

मार्टिनेजभन्दा अल्भारेजले ज्यादा प्रभाव देखाएका छन्। उनले ज्यादा पास खेलेका छन्, कम अफसाइड भएका छन्, पेनाल्टी एरियामा ज्यादा बल छुन सफल भएका छन्। 

यी २२ वर्षे खेलाडीले क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध पनि गोल गर्ने हो भने उनले इतिहास रच्नेछन्। त्यसो भएमा उनी १९७० यता आफ्नो पहिलो तीन विश्वकप खेलमा लगातार गोल गर्ने सबैभन्दा कान्छो खेलाडी पनि बन्नेछन्। 

अर्जेन्टिनाका लागि अर्को महत्वपूर्ण पक्ष के हो भने अल्भारेज टोलीमा हुँदा मेस्सीले पनि राम्रो खेलिरहेका छन्। म्यान्चेस्टर सिटीका यी खेलाडी अग्रभागमा उर्जाशील तरिकाले दौडिँदा मैदानको बीच भागमा मेस्सीका लागि खाली ठाउँ सिर्जना हुन्छ। अल्भारेजको पहिलो खेलमा मेस्सीले चार सफल ड्रिबल पुरा गरेका थिए।

मेस्सी पुरा लयमा हुँदा खेल हेर्नु सारै आनन्दमय हुन्छ। तर, उनी ज्यादाजसो समय मैदानमा दौडिने होइन, हिँड्ने गर्छन्। अर्जेन्टिनाको समूह चरणका तीन खेलमा मेस्सीले हिँडेरै १४ हजार ३६१ मिटर दुरी पार गरे। यो प्रतियोगिताकै ज्यादा हो। मेस्सीलाई विपक्षीको खेल रणनीति अध्ययन गर्न मन पर्छ। उनी तिनको चाल पहिल्याउँछन् अनि बल र खाली ठाउँ भेटेपछि बल्ल सघन आक्रमणमा उत्रिन्छन्।

त्यसैले मेस्सीको छेउछाउ दौडिन मेहनत गर्ने खेलाडी हुँदा ज्यादा फाइदा हुन्छ। तिनले विपक्षी डिफेन्डरहरुलाई व्यस्त राख्छन् र मेस्सीका लागि अघि बढ्ने ठाउँ बनाइदिन्छन्। यो प्रतियोगितामा मेस्सीले १७ प्रहार गरेका छन्। अर्जेन्टिनी टोलीको यो सबैभन्दा ज्यादा त हो नै, कतार विश्वकपमा केलियन एम्बापेपछिको सबैभन्दा धेरै पनि हो। 

कुनै पनि टोली एक खेलाडीमा निर्भर हुनुहुँदैन। तर, अर्जेन्टिनाले मेस्सी खेलमा मिसिने र आफ्नो जादु देखाउने वातावरण सिर्जना गर्नैपर्छ। विपक्षी खेलाडीमाथि दबाब सिर्जना गरेर, विङमा दौडेर र बिल्डअपमा ज्यादा सहभागी भएर अल्भारेजले यो काम गरेका छन्।

अर्जेन्टिनाले यो विश्वकप जित्ने हो भने उसले मेस्सीकै दममा जित्नेछ। तर, उनलाई पनि प्रदर्शनका लागि राम्रो मञ्च चाहिन्छ, जुन मञ्च अल्भारेजले उपलब्ध गराउँछन्। द गार्डियन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .