ad ad

खेल


मोरक्कोले जित्ला त यसपालिको विश्वकप?

अफ्रिकाले अहिलेसम्म किन जितेन विश्वकप? पेलेको भविष्यवाणी कहिले होला पुरा?
मोरक्कोले जित्ला त यसपालिको विश्वकप?

मेहर मेजाही
मंसिर २३, २०७९ शुक्रबार ६:४७, काठमाडौँ

सबैभन्दा ठूलो पार्टी तब सुरु भयो, जब मंगलबार राति दोहास्थित एजुकेसन सिटी रंगशालामा विश्कप फुटलबलको शीर्ष १६ को प्रतिस्पर्धामा मोरक्कोले स्पेनलाई निराश पार्यो। असरफ हकिमीले सफल पेनाल्टी प्रहार गर्दै जित सुनिश्चित गरेपछि ४४ हजार दर्शकमध्ये अधिकांश भावुक हुन पुगे।

कासाब्लांका, रबात, मरकेस र पश्चिम युरोपका प्रत्येक राजधानी सहरमा मोरक्कनहरु सडकमा निस्किएर खुसी मनाए। मोरक्कोका राजा मोहम्मद छैटौँ समेत खुसीले चिच्याइरहेको भीडमा सामेल भए।

ड्रेसिङ रुममा मोरक्कोको टोली नाच्यो, खेलाडीहरुले एकअर्कालाई अँगालो हाले र रोए। त्यसपछिको पत्रकार सम्मेलनमा प्रशिक्षक वालिद रेग्रागुइले अत्यन्त महत्वपूर्ण घोषणा गरे– ‘अफ्रिकामा हामी कुनै न कुनै समयमा महत्वाकांक्षी हुनैपर्छ। कठिन भए पनि विश्वकप किन नजित्ने?’

उनको यो घोषणा अफ्रिकी मुलुकहरुले विश्वकपमा सहभागिता जनाउने तरिकामा आएको ठूलो परिवर्तन हो। त्यसमाथि अफ्रिकाको प्रशिक्षणमा आमूल परिवर्तन ल्याएका प्रशिक्षकबाट यस्तो भनाइ आउनु स्वाभाविक पनि हो।

सुरुवाती चरणमा मोरक्कोको घरेलु फुटबलमा प्रशिक्षण गरेका उनले अहिले यो महादेशमै अत्यन्त ठूलो छाप पारिसकेका छन्। २०१८ मा सम्पूर्ण रुपमा अफ्रिकाभित्रैबाट फुटबलको सबैभन्दा उच्च तहको कोचिङ डिप्लोमा प्राप्त गर्ने ब्याचका एक सदस्य हुन् उनी।

अफ्रिकी फुटबलको हरेक गतिलो कुराको प्रतिनिधित्व गर्छन् रेग्रागुइ। उनी युवा हुन्, सक्षम छन्, निडर छन् र मनमा समग्र अफ्रिकालाई माया गर्छन्।

सेनेगलका अलिउ सिसे, अल्जेरियाका जमाल बेलमाडी, ट्युनिसियाका राधी जाइदी र दक्षिण अफ्रिकाका बेन्नी म्याकार्थी अरु नयाँ अफ्रिकी प्रशिक्षकहरु हुन्। 

पहिलो पटक २०२२ को विश्वपकमा पाँचै अफ्रिकी टोलीका प्रशिक्षक सबै अफ्रिकी नै थिए, यो संयोग मात्र होइन।

एक अफ्रिकी फुटबल पत्रकारका रुमा हरेक विश्वकपअगाडि मलाई चिन्ता लाग्ने गर्छ। किनकि कुनै न कुनै पश्चिमा सञ्चारमाध्यमले मलाई पेलेले उहिले गरेको भविष्यवाणीबारे सोधिहाल्छ। १९७० को दशकको मध्यतिर पेलेले सन् २००० अघि नै अफ्रिकाले विश्वकप जित्न अनुमान गरेका थिए।

विगतमा त्यो प्रश्नको जवाफमा पेलेले थुप्रै यस्ता कुरा पनि भनेका छन्, जसको कुनै अर्थ छैन भन्दै म पन्छिने गर्थें।

तर, यो वर्ष भने मैले आफ्नो जवाफमा निकै सोचविचार गरेँ।

नोभेम्बरमा क्यामरुन फुटबल फेडेरेसनका अध्यक्ष स्यामुएल इटोले फाइनलमा पुग्ने दुवै टोली अफ्रिकी हुने र सो खेलमा क्यामरुनले मोरक्कोलाई हराउने घोषणा गरे।

उनलाई तुरुन्तै अनलाइनमा उडाइयो। त्यसो गर्ने धेरैजसो उनकै देशका मान्छे थिए। तर, उनको त्यो अभिव्यक्तिले मेरो कौतुहल जगायो।

‘विगतका वर्षहरुमा अफ्रिकालाई विश्वकप जित्न केले रोक्यो?’ मैले आफैँलाई सोधेँ।

यसको सुरुवात अफ्रिकाको उपनिवेशीकरणबाट सुरु भयो। दुर्भाग्यपूर्ण सत्य के हो भने १९३० देखि १९६२ सम्मका ७ विश्वकपमा यो महादेशको एक मात्र प्रतिनिधित्व १९३४ मा इजिप्टले गरेको थियो।

यसको एउटा कारण अफ्रिकामा पश्चिम युरोपेली मुलुकहरुले गरेको बर्बर उपनिवेशीकरण थियो। अर्को कारण थियो, फिफाका हाकिमहरुले स्वतन्त्रतापछि पनि अफ्रिकी मुलुकहरुलाई स्वतः खेल्न नदिनु।

१९६६ मा अफ्रिका महादेशले नै इंग्ल्यान्डमा भएको विश्वकप बहिष्कार गर्यो। त्यसपछि १९७० मा गएर अफ्रिकाले विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्न सक्यो।

त्यसपछिका तीन दशक अफ्रिकी टोलीहरुले एकदमै गतिला अविश्वसनीय नतिजा निकाले। उदाहरणका लागि अल्जेरियाले पश्चिम जर्मनीलाई हरायो, मोरक्कोले पोर्चुगल र क्यामरुनले अर्जेन्टिनलाई पराजित गरे।

तथापि, फिफाले अफ्रिकालाई धेरै सिट दिन आनाकानी गरिरह्यो। १९८२ मा दुई मुलुक, १९९४ मा तीन र १९९८ मा पाँच मुलुकलाई मात्र ठाउँ दियो।

त्यसैले अफ्रिकाले अझैसम्म विश्वकप नजित्नुको प्रमुख कारण उसको सहभागिता नै कमजोर हुनु हो।

कोहीकोहीले गत १२ वर्षमा देखिएको खराब नतिजालाई इंगित गर्न सक्छन्। तर, सहभागिता बढ्दा प्रदर्शनमा सुधार आउने कुरालाई कसले नकार्न सक्छ र?

उरुग्वेमा पहिलो विश्वकप आयोजना भएको करिब एक सय वर्षपछि २०२६ मा अफ्रिकाले अलि समतामूलक सिट पाउनेछ। सो विश्वकपमा अफ्रिकाले ९ सिट पाउनेछ। 

२०२२ को विश्वकपले पनि छनोट हुनु मात्र होइन, आयोजनाको अधिकार पाउनु पनि अत्यन्त प्रभावकारी हुन्छ भनेर देखाएको छ।

आफूले सहआयोजना गरेको प्रतियोगितामा दक्षिण कोरिया २००२ मा सेमिफाइनलसम्म पुग्यो। अफ्रिकाले पहिलो पटक विश्वकप आयोजना गर्दा दक्षिण अफ्रिकामा घाना सेमिफाइनलमा पुग्नबाट पेनाल्टीले मात्र रोकियो।

अफ्रिका र एसियाले आफूले आयोजना गरेकै विश्वकपमा सबैभन्दा गतिलो प्रदर्शन गरे। के यो संयोग मात्रै हो त?

सायद होइन। २०२२ को विश्वकपले यस्तै देखाउँछ।

यसपटक तीन एसियाली टोली नकआउट चरणमा पुगे। र, अफ्रिकी मुलुकहरुका लागि कतार विश्वकप सबैभन्दा सफल प्रतियोगिता बन्यो।

अफ्रिकी मुलुकहरुले समूह चरणका १५ खेलमा २४ अंक जोडे। यसअघि २००२ मा उनीहरुले १५ अंक पाएका थिए।

विश्वकपमा ब्राजिललाई हराउने पहिलो अफ्रिकी मुलुक बन्यो क्यामरुन। डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई ट्युनिसियाले हरायो र ७ अंक जोड्दै मोरक्को समूह चरणको विजेता बन्ने पहिलो अफ्रिकी मुलुक बन्यो।

साउदी, मोरक्कन र ट्युनिसियाली समर्थकहरुले आफ्नो टोलीको ऐतिहासिक जितमा खुसी मनाएको देख्दा ताजा हावामा सास लिएजस्तै महसुस भयो।

अविश्वसनीय नतिजाहरुको यो विश्वकपममा मोरक्कोले प्रशिक्षक रेग्रागुइको शब्दलाई साकार पार्दै प्रतियोगिता जिते अझ गजब हुने थियो।

मोरक्कोको गतिलो डिफेन्स र गोलकिपर यासिन बोनोको प्रदर्शन हेर्ने हो भने उसले विश्वकप जित्ने मौका छ।

मोरक्कोलाई के विश्वास छ भने विश्व च्याम्पियन बन्नबाट उनीहरु मात्र २७० मिनेट टाढा छन्। सायद यो हामीले पनि उनीहरुलाई विश्वास गर्ने समय हो। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .