ad ad

खेल


१६ वर्षपछि आमनेसामने हुँदै जापान र क्रोएसिया

१६ वर्षपछि आमनेसामने हुँदै जापान र क्रोएसिया

नेपालखबर
मंसिर १९, २०७९ सोमबार ७:३५, काठमाडौँ

कतार विश्वकपमा आज पनि नकआउटका दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा एसियन राष्ट्र जापानले साविक उपविजेता क्रोएसियाको सामना गर्नेछ। पछिल्लो पटक दुवै टोलीले अनपेक्षित नतिजा निकालिरहेका छन्। 

गएको विश्वकपमै ठूला र उपाधि दाबेदार टोलीलाई हराउँदै क्रोएसिया फाइनलमा पुगेको थियो। अहिले पनि उ त्यही लयमा देखिएको छ। 
यता जापानले पनि समूह चरणमा दुई पूर्व विश्वविजेतालाई पराजित गरेको थियो। अल जनौव स्टेडियममा राति पौने ९ बजे उत्रिँदा दुवै टोली शानदार प्रदर्शनलाई कायम राख्ने लक्ष्यमा हुनेछन्। साबिक उपविजेता क्रोएसिया फेरि उपाधि होडमा अगाडी बढ्ने लक्ष्यमा रहनेछ भने जापान पहिलो पटक क्वार्टरफाइनलमा पुग्दै इतिहास बनाउने दाउमा हुनेछ। 

समूह चरणमा भने जापानले उत्कृष्ट प्रदर्शन गरेको छ। पूर्व विजेता जर्मनी र स्पेनलाई पराजित गरेको जापान उच्च मनोबलमा छ। पहिलो खेलमा जर्मनीलाई २–१ ले पराजित गरेको जापानले निर्णायक खेलमा पनि स्पेनलाई २–१ ले नै पराजित गरेको थियो। जापानले स्पेनलाई पराजित गर्दा पूर्व विजेता जर्मनी घर फर्किनु परेको छ। 

यस कारण पनि क्रोएसियाका लागि जापान कठिन प्रतिद्वन्द्वी हुनसक्छ। 

समूह एफको उपविजेता क्रोएसिया पनि समूहमा अपराजित रहँदै नकआउटमा आएको हो। पहिलो खेलमा मोरक्कोसँग गोलरहित बराबरी खेलेको क्रोएसियाले अन्तिम खेलमा बेल्जियमसँग पनि गोलरहित बराबरी खेल्यो, जुन नतिजाका कारण बेल्जियम समूहचरणबाटै घर फिर्किएको छ। साविक उपविजेता क्रोएसियाले दोस्रोे खेलमा क्यानडालाई ४–१ ले पराजित गरेको थियो। 

विश्वकप फुटबलमा यी दुई टोली तेस्रो पटक भेट हुन लागेका हुन्। १९९८मा पहिलो पटक भिड्दा क्रोएसियाले जापानलाई १–० ले पराजित गरेको थियो। २००६ को विश्वकपमा भने समूह चरणमा भेट हुँदा गोलरहित बराबरी खेलेका थिए। तर पछिल्लो समय यी दुवै टोलीले अनपेक्षित नतिजा निकालिरहेका छन्। 

सुरुका १५ वटा विश्वकपमा सहभागी नभएको क्रोएसियाले गत विश्वकपमा इतिहास रच्दै फाइनलमा पुगेको थियो। तर फाइनलमा फ्रान्ससँग पराजित हुँदा पहिलो पटक उपाधि चुम्ने सपना पूरा भएन। 

पछिल्ला ७ मध्ये ६ वटा विश्वकपमा सहभागी भएको छ। २०१० मा भने छनोट हुन सकेन। पहिलो सहभागीतामा १९९८ मा सेमिफाइनल पुगेको क्रोएसिया त्यसपछिका ३ विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो। 

तेस्रो पटक समूह चरण पार गरेको क्रोएसिया इतिहार रच्ने लक्ष्यमा अगाडी बढ्न जापानलाई हराउने योजनामा हुनेछ।

जापान पनि १९९८ बाटै विश्वकपमा सहभागी हुन थालेको हो। पहिलो पटक समूह चरणबाटै बाहिरिएको जापानले दोस्रो पटक सहभागी हुँदा २००२ मा भने नकआउटमा स्थान बनाएको थियो। त्यसपछि जापानको विश्वकप यात्रा उत्तरचढावपूर्ण रह्यो। 

एक पटक नकआउटमा पुग्ने र अर्को पटक समूहचरणबाटै बाहिरिने क्रमले ६ वटा विश्वकपमा निरन्तरता पायो।  २०१८ मा नकआउटमा पुगेको जापानले पहिलो पटक लगातार दुई विश्वकपमा नकआउटमा स्थान बनाएको हो। 

यसपटक क्वार्टरफाइनल पुगे उसको ऐतिहासिक सफलता हुनेछ। लगातार सातपटक विश्वकप खेलिरहेको जापान नकआउटबाट यसअघि अगाडि बढ्न सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .