ad ad

खेल


विश्वकपका आधा खेल सम्पन्न, समूह चरण पार गर्ने कसको सम्भावना कति ?

विश्वकपका आधा खेल सम्पन्न, समूह चरण पार गर्ने कसको सम्भावना कति ?

नेपालखबर
मंसिर १३, २०७९ मंगलबार ९:५६, काठमाडौँ

विश्वकप फुटबलका ६४ मध्ये ३२ खेल सकिएको छ। आज समूह चरणका अन्तिम खेल सुरु हुनेछन्। समूह चरणका १६ खेलपछि नकआउटमा पुग्ने सबै टोलीको टुंगो लाग्ने छ। अहिलेसम्म सबै टोलीले दुई दुई खेल खेलेका छन्। 

अब एक एक खेल खेलेपछि कतार पुगेका १६ टोली घर फर्किँदा बाँकी १६ टोली अघिल्लो चरण प्रवेश गर्नेछन्। हरेक समूहका विजेता र उपविजेता नकआउटमा पुग्दा तालिकाको अन्तिममा रहने दुई टोली बाहिरिने छन्। 

अहिलेसम्म कुन समूहमा कुन टोलीको अवस्था कस्तो छ? 

समूह ए

समूह ए का तीन टोलिको अघिल्लो चरण प्रवेशको सम्भावना बाँकी छ। यो समूहमा रहेको आयोजक कतार एक खेलअघि नै बाहिरिने निश्चित भएको छ। अंक तालिकामा नेदरल्यान्ड्स ४ अंकसहित शीर्षस्थानमा रहँदा समान अंक भएको इक्वेडर दोस्रो स्थानमा छ। 

अन्तिम खेलमा सेनेगल र इक्वेडर भिड्नेछन्। आयोजक कतारलाई हराउन सके नेदरल्यान्ड्स समूह विजेताका रुपमा अघिल्लो चरण पुग्ने सम्भावना बलियो छ। इक्वेडर र सेनगलको विजेताले पनि अन्तिम १६ मा स्थान बनाउने छ। 

तर अन्तिम खेलमा जित हात पारे पनि कतारको भने सम्भावना सकिएको छ। समूह ए का दुवै खेल आज राति ८ः४५ बजे हुनेछन्।  

समूह बी

समूह बी का चार वटै टोलिका लागि अघिल्लो चरणको ढोका खुल्ला छ। दोस्रो चरणका खेल सकिँदा ४ अंकसहित इङ्ल्याण्ड शीर्ष स्थानमा छ। ३ अंक रहेको इरान दोस्रो र २ अंक रहेको अमेरिका तेस्रो स्थानमा हुँदा वेल्सको मात्रै एक अंक छ। 

तर अन्तिम खेलको नतिजापछि मात्रै यो समूहबाट अघिल्लो चरण जाने दुवै टोलीको टुंगो लाग्ने छ। मंगलबार राति १२ः४५ बजे इरान र अमेरिका भिड्दा वेल्सले इङ्ल्याण्डको सामना गर्नेछ। 

समूह सी 

दास्रो चरणका खेल सकिँदा यो समूहमा पोल्याण्ड ४ अंकसहित शीर्षस्थानमा छ। तर अघिल्लो चरणको ढोका यो समूहका पनि सबै टोलीका लागि खुल्ला छ। समूहको अन्तिम खेलमा पोल्याण्डले दोस्रो स्थानको अर्जेन्टिनासँग भिड्नेछ। 

पहिलो खेलमा साउदीसँग पराजित भएको अर्जेन्टिनाले दोस्रो खेलमा मेक्सीकोलाई पराजित गरेको थियो। पोल्याण्ड भने पहिलो खेलमा मेक्सीकोसँग बराबरी खेलेको थियो। तेस्रो स्थानमा रहेको साउदीको ३ अंक छ। 

मेक्सीकोको मात्रै १ अंक छ। तर अन्तिम खेलमा मेक्सीको र साउदी भिड्ने छन्। यो खेलको विजेताले अन्तिम १६ मा स्थान बनाउने सम्भावना भने कायम छ। यो समूहका दुवै खेल मंगलबार राति १२ः४५ बजे हुनेछ। 

समूह डी
 

यो विश्वकपमा सबैभन्दा पहिले नकआउट चरण पार गर्ने टोली फ्रान्स हो। साविक विजेता समेत रहेको फ्रान्स लगातार दुई जित सहित अघिल्लो चरण पक्का गरिसकेको छ। 

पहिलो खेलमा अष्ट्रेलियालाई पराजित गरेको फ्रान्सले दोस्रो खेलमा डेनमार्कलाई पराजित गर्यो। अब उसले अन्तिम खेलमा ट्युनिसियासँग खेल्ने छ। अर्को खेलमा डेनमार्क र अष्ट्रेलिया भिड्ने छन्। 

अष्ट्रेलिया विजयी भए सिधै अर्को चराणमा प्रवेश गर्नेछ। नभए डेनमार्क र ट्युनिसियामध्य एक टोली नकआउट पुग्नेछ। यो खेल मंगलबार ८ः४५ बजे हुनेछ। 

समूह ई 

सबैभन्दा रोचक र कडा प्रतिस्पर्धा समूह ई मा छ। समूह ईमा ४ अंकसहित स्पेन तालिकाको शीर्षस्थानमा रहँदा ३ अंक भएको जापान र सान अंकसहित कोस्टारिका तेस्रो स्थानमा छ। 

तर यो समूहबाट पनि अघिल्लो चरण प्रवेश गर्ने टोलीको टुंगो अन्तिम चरणका खेलपछि मात्रै लाग्ने छ। अहिले सबै टोलीका लागि अघिल्लो चरण प्रवेश गर्ने संभावना सकिएको छैन। 

अन्तिम खेलमा स्पेन र जापान तथा कोस्टारिका र जर्मनी भिड्ने छन्। स्पेन जापानलाई पराजित गर्न सके वा बराबरीले मात्रै पनि अघिल्लो चरण पुग्नसक्छ। तर बाँकी टोलीका लागि प्रस्ट जितको आवश्यकता छ। नभए अन्य टोलिको नतिजामा भर पर्नुपर्छ। यी टोलीको खेल बिहीबार राति १२ः४५ बजे हुनेछ। 

समूह एफ 

यो समूहमा नकआउटका लागि ३ टोलिबिच प्रतिस्पर्धा हुने छ। लगातार दुई खेलमा हारेको क्यानडा भने एक खेल अघि नै समूह चरणबाट बाहिरिने निश्चित भइसकेको छ। क्रोयसिया र मोरक्कोको समान ४ अंक छ।

बेल्जियमको ३ अंक छ। अन्तिम खेलमा बेल्जियम र क्रोयसिया भिड्ने छन्। मोरक्कोले क्यानडासँग खेल्ने छ। मोरक्कोले क्यानडालाई पराजित गरे उ अघिल्लो चरण प्रवेश गर्ने छ। 

क्रोयसिया र बेल्जियमको विजेता पछि अघिल्लो चरण पुग्ने छ। तर यो खेल बराबरी भए बेल्जियम बाहिरिने छ। यी टोली बिहीबार राति ८ः४५ बजे भिड्ने छन्। 

समूह जी

यो समूहबाट ब्राजिल लगातार दुई खेल जित्दै नकआउट चरणमा प्रवेश गरिसकेको छ। बाँकी तीन टोली मध्यबाट एउटा अगाडी बढ्न सक्छ। ब्राजिलले पहिलो खेलमा सर्विया र दोस्रो खेलमा स्विट्जरल्याण्डलाई पराजित गरेको हो। 

अन्तिम खेल ब्राजिलसँग क्यामरुनले खेल्नेछ। स्विट्जरल्यान्ड र सर्विया भिड्ने छन्। ६ अंकसहित ब्राजिल तालिकाको शीर्षस्थानमा छ। ३ अंक जोडेको स्विट्जरल्यान्ड दोस्रो र समान १ अंक भएका क्यामरुन र सर्विया क्रमस तेस्रो र चौथो स्थानमा छ।

स्विट्जरल्याण्डले अन्तिम खेलमा सर्वियालाई पराजित गरे अन्य टोलिको यात्रा त्यहीँ समाप्त हुनेछ। तर स्विट्जरल्यान्डले बराबरी वा हार्यो भने अर्को जित्ने टोलीका लागि अघिल्लो चरणको ढोका खुल्ने छ। 

स्विट्जरल्याण्डले क्यामरुनलाई पराजित गरेको थियो। क्यामरुन र सर्वियाले बराबरी खेलेका छन्। 

समूह एच 

यो समूहबाट पोर्चुगलले अघिल्लो चरणमा स्थान बनाइसकेको छ। दुबै खेल जितेको पोर्चुगल ६ अंकसहित शीर्षस्थानमा छ। बाँकी तीन टोलीका लागि अघिल्लो चरणको संभावना छ।

३ अंकसहित दोस्रो स्थानमा रहेको घानाको ३ अंक छ। दक्षिण कोरिया र उरुग्वेको मात्रै १ अंक छ। अन्तिम खेलमा उरुग्वे र घाना तथा पोर्चुगल र दक्षिण कोरिया भिड्ने छन्। एउटा समूहले अन्तिम १६ मा स्थान बनाउँदा बाँकी दुई टोलीको यात्रा टुंगिने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .