ad ad

खेल


हार, जित, झगडा र बदला : विश्वकपका बिर्सिनै नसकिने ती ३० क्षण

हार, जित, झगडा र बदला : विश्वकपका बिर्सिनै नसकिने ती ३० क्षण

सन् १९९० जुलाई ४ मा ट्युरिनमा पश्चिम जर्मनीविरुद्ध विश्वकप सेमिफाइनल पेनाल्टी शुट आउटमा हारेपछि इंग्ल्यान्डका पल ग्याकोइने रुँदै मैदानबाट बाहिरिँदै। तस्बिर : एपी


नेपालखबर
मंसिर ५, २०७९ सोमबार १३:४७, काठमाडौँ

विश्वकप फुटबल कतारमा सुरु भएकाे छ। 

लोकप्रिय खेलमा पर्ने फुटबलको विश्व प्रतिस्पर्धा हरेक ४ वर्षमा हुन्छ। 

यसअघिका विश्वकपमा भएका बिर्सिनै नसकिने ३० क्षणलाई तस्बिरमार्फत यहाँ प्रस्तुत गरिएको छ। 

३० तस्बिरमा हेर्नुहोस् 

१. जब ब्राजिलले इटलीलाई हरायो 
मेक्सिको सिटीमा भएको विश्वकपमा ब्राजिलले फाइनलमा इटलीलाई ४–१ ले पराजित गरेपछि चर्चित खेलाडी पेलेलाई उचाल्दै टोलीका अन्य खेलाडी। तस्बिर : एपी 


२. उरुग्वेको रंगशाला 
सन् १९३० को जुलाईमा उरुग्वेको मोन्टेभिडिओस्थित सेन्टेनारियो स्टेडियमको आकाशबाट खिचिएको दृश्य। उक्त समय विश्वकपको फाइनल चलिरहेको थियो। फाइनलमा उरुग्वेले अर्जेन्टिनालाई ४–२ ले हराएको थियो। तस्बिर : एपी 


३. अर्जेन्टिनाको पोस्टमा उरुग्वेको पहिलो गोल 
सन् १९३० जुलाई ३० मा विश्वकप फाइनलमा उरुग्वेले हानेको पहिलो गोल। यो अर्जेन्टिनाविरुद्ध थियो। तस्बिर : एपी 


४. इंग्ल्यान्डलाई हराउँदाको खुसी 
सन् १९५० जुन २८ मा ब्राजिलको बेलो होराइजन्टेमा भएको विश्वकपमा इंग्ल्यान्डलाई हराएपछि समर्थकले अमेरिकी सेन्टर फरवार्ड जोय गायटजेन्सलाई बोक्दै। तस्बिर : एपी 


५. पेलेका आँखामा आँशु..
ब्राजिलका १७ वर्षे ठिटा खेलाडी पेले (बायाँ) गोलरक्षक गिल्मर डोस सान्तोसको काँधमा टाउको राखेर रुँदै। यो दृश्य सन् १९५८ जुन २९ मा स्विडेनको स्टकहोममा भएको विश्वकप फाइनलको हो। जतिबेला ब्राजिलले स्विडेनलाई ५–२ ले हरायो। तस्बिर : एपी 


६. मैदान छाड्न अस्वीकार गरेपछि...
इटालीका फरवार्ड जर्जियो फेरिनी (बीचमा) लाई मैदानबाहिर लग्दै बेलायती रेफ्री केन एस्टन। उनले मैदान छाड्न अस्वीकार गरेका थिए। यो दृश्य सन् १९६२ जुन २ मा चिलीको सान्टियागोमा भएको विश्वकप खेलको पहिलो हाफको हो। फेरिनीलाई त्यतिखेर पुलिस लगाएर बाहिर लगिएको थियो। यो खेललाई ‘ब्याटल अफ सान्टियागो’ पनि भनिन्छ। तस्बिर : एपी 


७. बेलायतमा उत्तर कोरियाका खेलाडी
सन् १९६६ जुलाई २३ मा इंग्ल्यान्डको लिभरपुलस्थित गुडिसन पार्कमा पोर्चुगलसँगको खेलअघि सामूहिक तस्बिर खिचाउँदै उत्तर कोरियाको टोली। खेलमा पोर्चुगल ५–३ ले विजयी भयो। तस्बिर : एपी 


८. लाइन्सम्यानले जब गोल दियो..
सन् १९६६ जुलाई ३० मा लण्डनको वेम्बली स्टेडियममा विश्वकप फाइनलका दौडान इंग्ल्यान्डका जियोफ हर्स्टले गरेको प्रहार पश्चिम जर्मनीको पोष्टमा बाउन्स भएपछि। लाइन्सम्यानले यसलाई गोल दिएपछि इंग्ल्यान्ड ४–२ गोल अन्तरले विजयी भयो। तस्बिर : एपी


९. दुई जर्मनीको भिडन्त 
सन् १९७४ जुन २२ मा ह्याम्बर्गमा भएको विश्वकपमा खेलअघि पश्चिम जर्मनी (बायाँ) र पूर्वी जर्मनीका टोली मैदानमा राष्ट्रिय गानका बेला। सो खेलमा पूर्वी जर्मनी १–० ले विजयी भयो। तस्बिर : एपी 


१०. विश्वविजेताको मुस्कान 
पश्चिम जर्मनीका कप्तान फ्रान्ज बेकेनबर विश्वकप ट्रफी उचाल्दै। उनको टोलीले १९७४ को जुलाई ७ मा पश्चिम जर्मनीको म्युनिखस्थित ओलम्पिक स्टेडियममा नेदरल्यान्ड्सलाई २–१ ले हराउँदै विश्वकप जितेको थियो। तस्बिर : एपी 


११. अर्जेन्टिनाका मारियो केम्पसको गोल 
सन् १९७८ जुन २५ मा अर्जेन्टिनाको ब्युनस आयर्समा रहेको रिभर प्लेट स्टेडियममा भएको विश्वकप फाइनलमा नेदरल्यान्डविरुद्ध दोस्रो गोल गरेपछि अर्जेन्टिनाका मारियो केम्पस (दायाँ)। तस्बिर : एपी 


१२. ब्रजिलियन गोल! 
सन् १९७० जुन २१ मा मेक्सिको सिटीमा ब्राजिलले इटालीलाई ४–१ ले हराउँदै उपाधि जितेपछि ब्राजिली टोलीका कप्तान कार्लोर अल्बर्टो ज्युल्स रिमेट ट्रफीसँगै। तस्बिर : एपी 


१३. ब्राजिलविरुद्ध इटलीको शान! 
इटलीका पाउलो रोसी आफ्नो टोलीका लागि दोस्रो गोल गरेपछि। सन् १९८२ जुलाई ५ मा स्पेनको बार्सिलोनामा भएको विश्वकप फाइनलमा इटलीले ब्राजिललाई ३–२ ले हराएको थियो। उक्त विश्वकपमा रोसीले ६ गोल गरेका थिए। तस्बिर : एपी 


१४. इटली भर्सेस वेस्ट जर्मनी
पश्चिम जर्मनीका डिफेन्डर बर्नड फर्स्टरलाई बिट गर्दै इटालीका मार्को टार्डेलीले गरेको प्रहार। यो उनको दोस्रो गोल थियो। यो सन् १९८२ जुलाई ११ मा स्पेनको मड्रिडमा रहेको सान्टियागो बर्नाबाउ स्टेडियममा भएको विश्वकप फाइनलको दृश्य हो। खेल इटलीले ३–१ ले जितेको थियो। तस्बिर : एपी


१५. म्याराडोनाको हाते गोल!
अर्जेन्टिनाका डिएगो म्याराडोना (बायाँ) इंग्ल्यान्डका गोलरक्षक पिटर शिल्टनलाई बिट गर्दै। सन् १९८६ जुन २२ मा मेक्सिको सिटीमा भएको विश्वकप क्वार्टरफाइनलमा उनले बायाँ हात (मुड्की) प्रयोग गरी गोल गरेका थिए। सोही कारण उनी ‘ह्यान्ड अफ गड’ले चर्चित भए। तस्बिर : एपी 


१६. इंग्ल्यान्डविरुद्ध म्याराडोनाको दोस्रो गोल
अर्जेन्टिनाका डिएगो म्याराडोना (दोस्रो, बायाँ) इंग्ल्यान्डविरुद्ध दोस्रो गोल गर्नुअघि। सन् १९८६ जुन २२ को मेक्सिको सिटीमा भएको अर्जेन्टिना–इंग्ल्यान्ड खेल। यो खेल अर्जेन्टिनाले २–१ ले जित्यो। तस्बिर : एपी 


१७. विश्वकप जितेपछि म्याराडोना 
सन् १९८६ जुन २९ मा मेक्सिको सिटीमा रहेको अट्जेका स्टेडियममा पश्चिम जर्मनीलाई विश्वकप फाइनलमा ३–२ ले हराएपछि ट्रफी उचाल्दै म्याराडोना। तस्बिर : एपी 


१८. डिफेन्डिङ च्याम्पियनविरुद्धको क्यामरुनी जित! 
सन् १९९० जुन ८ मा इटलीको मिलानमा भएको विश्वकप फुटबलको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई १–० ले हराएपछि खुसियाली बाँड्दै क्यामरुनका खेलाडी र मैदानबाट बाहिरिँदै अर्जेन्टिनी खेलाडीहरु। तस्बिर : एपी 


१९. पेनाल्टीमा हारेपछिको आँशु! 
सन् १९९० जुलाई ४ मा ट्युरिनमा पश्चिम जर्मनीविरुद्ध विश्वकप सेमिफाइनल पेनाल्टी शुट आउटमा हारेपछि इंग्ल्यान्डका पल ग्याकोइने रुँदै मैदानबाट बाहिरिँदै। तस्बिर : एपी 


२०. जो आत्मघाती गोलका कारण मारिए! 
सन् १९९४ जुन २२ मा पासाडेना रोस बलमा अमेरिकाविरुद्धको खेलमा ग्राउन्डमा लडेका कोलम्बियाका आन्द्रेस एस्कोबार। उक्त खेलमा अमेरिका २–१ ले विजयी भएको थियो। सो क्रममा एस्कोबारले आत्मघाती गोल गरेका थिए। त्यसको केही दिनपछि उनलाई घरमै गोली हानी हत्या गरिएको थियो। तस्बिर : एपी 


२१. फाइनलमा पेनाल्टीमा चुकेपछि! 
पेनाल्टीमा चुकेपछि इटलीका रोबर्टो बगियो निराश मुद्रामा। सन् १९९४ जुलाई १७ मा अमेरिकाको पासाडेनामा भएको फाइनलमा ब्राजिलका गोलरक्षक ट्याफेरलले उनको पेनाल्टी प्रहार बचाएका थिए। तस्बिर : एपी 


२२. जिदानको हातमा विश्वकप! 
सन् १९९८ जुलाई १२ मा पेरिसको स्टेड डी फ्रान्समा ब्राजिललाई ३–० ले फाइनलमा हराउँदै फ्रान्सले विश्वकप जितेपछि ट्रफी उचाल्दै जिनेदिन जिदान। तस्बिर : एपी 


२३. ब्रजिलियन रोनाल्डोको सेलिब्रेसन 
सन् २००२ जुन ३० मा जापानको योकोहामामा रहेको योकोहामा स्टेडियममा विश्वकप फाइनलका दौडान जर्मनीविरुद्ध गोल गरेपछि ब्राजिलका रोनाल्डो। उक्त खेलमा रोनाल्डोको २ गोल मद्दतमा ब्राजिल विजयी भएको थियो। तस्बिर : एपी 


२४. माटेराजी–जिदान लफडा! 
जर्मनीको बर्लिनमा भएको सन् २००६ जुलाई ९ को विश्वकप फाइनल खेलमा फ्रान्सका जिनेदिन जिदान (सेतो पहिरन) र इटालीका मार्को माटेराजी (ग्राउन्डमा लडेका)। टाउकोले माटेराजीलाई छातीमा हानेपछि खेल सकिनुअघि जिदानलाई मैदानबाहिर पठाइएको थियो। तस्बिर : एपी 


२५. इनियस्टाको गोल सेलिब्रेसन! 
सन् २०१० जुलाई ११ मा दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भएको विश्वकप फाइनलमा नेदरल्यान्डविरुद्ध गोल गरेपछि स्पेनका आन्द्रेस इनियस्टा। तस्बिर : एपी 


२६. झण्डै दाँत झर्‍यो! 
सन् २०१४ जुन २४ मा ब्राजिलको नातालमा स्थित एरेना डास डुनास स्टेडियममा भएको इटली र उरुग्वेको खेलका दौडान इटालीका जर्जियो चेलिनीको काँधमा ठोक्किएपछि दाँत समाउँदै उरुग्वेका लुइस स्वारेज। तस्बिर : एपी 


२७. क्रुजको गोलपछि ब्राजिलका फर्नान्डिन्हो
सन् २०१४ जुलाई ८ मा विश्वकप सेमिफाइनलका दौडान जर्मनीका टोनी क्रुजले टिमका लागि तेस्रो गोल गर्दा ब्राजिलका फर्नान्डिन्हो निराश हुँदै। खेल जर्मनीले ७–१ ले जित्यो। तस्बिर : एपी 


२८. अतिरिक्त समयको अमूल्य गोल! 
सन् २०१४ जुलाई १३ मा ब्राजिलको रियो दि जनेरियोस्थित माराकाना स्टेडियममा भएको फाइनलमा गोल गर्दै जर्मनीका माािरयो गोट्जे। अर्जेन्टिनाविरुद्ध त्यही गोल निर्णायक भएको थियो। तस्बिर : एपी 


२९. स्टेडियममा अवार्ड बाँड्ने बेला पानी परेपछि!
सन् २०१८ जुलाई १५ मा रुसको मस्कोस्थित लुझिन्की रंगशालामा भएको विश्वकप फाइनल खेलपछि अवार्ड वितरण गर्दैगर्दा पानी परेपछि छाता ओढ्दै (बायाँबाट दायाँतर्फ क्रमशः) फिफा अध्यक्ष जियान्नी इन्फेन्टिनो, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रो र क्रोएसियाकी कोलिन्दा ग्राबर कितारोभिक। तस्बिर : एपी 


३०. जब हराएको विश्वकप फेला पर्यो...
सन् १९६६ मार्च २८ मा लण्डनस्थित क्यानन रो पोलिस स्टेसनमा सुरक्षित फेला परेको विश्वकप उचाल्दै डिटेक्टिभ चिफ इन्स्पेक्टर विलियम लिटल (बायाँ), साथमा सिनियर कमान्डर जोन ललर (बीच) र चिफ सुपरिन्टेन्डेन्ट विलियम गिलबर्ट। हराएको विश्वकप लन्डनको नर्वुडस्थित बेउला हिलामा रहेको डेभिड कर्बेटको घरको बगैँचामा फेला परेको थियो। डेभिडकै पिकल नामको कुकुरले यसलाई फेला पारेको थियो। तस्बिर : एपी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .