खेल


यी १० स्टार, जो अन्तिमपटक विश्वकप खेल्दै छन्

यी १० स्टार, जो अन्तिमपटक विश्वकप खेल्दै छन्

नेपालखबर
मंसिर १, २०७९ बिहिबार ११:४२, काठमाडौँ

फिफा विश्वकप २०२२ का लागि सहभागी टोलीहरु कतार पुग्नेक्रम जारी छ। केही टोलीले कतार पुगेर विश्वकपको तयारी पनि सुरु गरिसकेका छन्।  

कतार विश्वकपमा यसपटक धेरै नयाँ खेलाडीले डेब्यु गर्दै छन्। केही खेलाडीका लागि भने कतार विश्वकप अन्तिम हुन सक्छ। सन् २०२६ मा मेक्सिको, अमेरिका र क्यानडामा हुने विश्वकपमा यसपटकका चर्चित अनुहार देख्न पाइनेछैन।

क्लब स्तरका सबैजसो उपाधि उचालिसकेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी लियोनल मेस्सी विश्वकपको ट्रफी उचाल्न चाहन्छन्। यस पटकको विश्वकपले पनि यी दुई खेलाडीमा को उत्कृष्ट हो भन्ने टुङगो लगाउनेछ। रोनाल्डो र मेस्सीसँगै यी १० खेलाडीका लागि भने कतार विश्वकप अन्तिम  हुनेछ।  यहाँ तिनै खेलाडीको चर्चा गरिएको छ–

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)


क्लब फुटबलमा सबैखाले मुख्य उपाधि उचालेका त्रिस्टियानो रोनाल्डोको लागि यस पटकको विश्वकप अन्तिम हुनेछ। कतार विश्वकपमा उपाधि उचाल्दै पोर्चुगललाई नयाँ शक्तिको रुपमा स्थापित गर्न चाहन्छन्। 

खेल जीवनको उत्तरार्धमा रहे पनि विश्वकप खेल्न लागेका रोनाल्डोले अझै केही समय फुटबलमा सक्रिय रहने संकेत भने गरिसकेका छन्। 
पछिल्लो समय खराब लयबाट गुज्रिरहेका रोनाल्डो आफूलाई फर्ममा ल्याउन निकै मेहनत गरिरहेका छन्। २०२२–२३ को सिजनमा रोनाल्डोले मात्र ३ गोल गरेका छन् भने २ असिस्ट प्रदान गरेका छन्। 

यो विश्वकप रोनाल्डोका लागि ठूलो अवसर पनि हो। यो विश्वकपबाट उनी आफ्नो क्षमता देखाउन र नयाँ सिजनका लागि ठूला सम्भावनाको ढोका खोल्न चाहन्छन्। रोनाल्डो विश्वकप ट्रफी उचाल्दै आफ्नो आलोचकलाई कडा जवाफ पनि दिन चाहन्छन्। 

युरोपियन च्याम्पिनयसिपमा रोनाल्डोले सर्वाधिक प्रतियोगिता, खेल र गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा गराइसकेका छन्। रोनाल्डोले २०१६ मा युरो कपको उपाधि पनि उचालिसकेका छन्। अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान पनि उनकै नाममा छ। उनले ११७ गोल गर्दा सन् २०१८ को विश्वकपमा स्पेनविरुद्ध उत्कृष्ट ह्याट्रिक गरेका थिए। 

३७ वर्षीय रोनाल्डोले ७ सय क्लब गोल र ३० भन्दा धेरै उपाधि उचाल्दा ५ पटक बालोन डे’ओर पनि जितिसकेका छन्। 

लियोनेल मेस्सी (अर्जेन्टिना) 


अन्तर्राष्ट्रिय फुटबल र समर्थकबीच सधैं एउटै कुरामा विवाद भइरहन्छ कि मेस्सी र रोनाल्डोमा को उत्कृष्ट हो?   

३५ वर्षीय मेस्सीको लागि पनि यस पटकको विश्वकप अन्तिम हुनेछ। आफ्नो समयका महान खेलाडी मेस्सीले बार्सिलोना र पेरिस सेन्ट जर्मनका लागि ६९५ गोल गरिसकेका छन्। सात पटकको बालोन डे’ओर विजेता मेस्सीले पछिल्लो समय कोपा अमेरिकाको उपाधि उचालेका थिए। 

बार्सा छाडेर पीएसजी पुगेपछि मेस्सीले १८ खेलमा ११ गोल र १४ असिस्ट गरेका छन्। 

रोबर्टो लेवान्डोस्की (पोल्याण्ड)


दोस्रो पटक विश्वकप खेल्न लागेका पोल्याण्डका रोबर्टो लेवान्डोस्कीका लागि कतार विश्वकप अन्तिम हुन सक्नेछ। 

यही सिजन बार्यन म्युनिख छाडेर बार्सामा पुगेका ३४ वर्षीय लेवान्डोस्कीले १९ खेलमा १८ गोल गरिसकेका छन्। यसअघि ला लिगका १३ खेलमा १३ गोल च्याम्पिनयसिपमा ५ खेलमा ५ गोल गरेका छन्। 

तर बार्यन म्युनिखमा रहँदा उनले युरोपियन च्याम्पियनसिपका ११ खेलमा ५ गोल गरेका थिए। उनी गत वर्ष फिफा वर्ष खेलाडी पनि बनेका थिए।  

अन्तिम विश्वकप खेल्न लागिरहँदा लेवान्डोस्की गोल गर्दै बिदा हुन चाहन्छन्। 

नेयमार (ब्राजिल)


पीएसजीका ३० वर्षीय नेयमार पनि सम्भवतः अन्तिम विश्वकप खेल्दै छन्। उनले यसअघि नै कतार विश्वकप आफ्नो लागि अन्तिम खेल हुने बताइसकेका थिए।  

अघिल्लो वर्षको एक अन्तर्वातामा नेयमारले भनेका थिए, ‘सम्भवतः यो मेरो अन्तिम विश्वकप हुन सक्छ।’ तर, पछि उनले नै आफ्नो भनाइलाई गलत व्याख्या गरिएको बताए। 

पीएसजीमा रहेका नेयमारले १३ गोल गर्दा ११ असिस्ट गरेका छन्। पछिल्लोपटक लयमा रहेका नेयमार ब्राजिललाई छैटौँ विश्वकपको उपाधि दिलाउन चाहन्छन्। ७५ अन्तर्राष्ट्रिय गोल गरेका नेयमार ब्राजिललाई पुनः एकपटक विश्व च्याम्पियन बनाउन चाहन्छन्। 

लुइस स्वारेज (उरुग्वे) 

बार्सिलोनाका पूर्व सहकर्मी मेस्सी, नेयमार स्वारेज तीनै खेलाडीका लागि कतार विश्वकप अन्तिम हुनेछ। ३५ वर्षीय स्वारेज विश्वकपमा अब्बल प्रदर्शन गर्दै छाप छाड्न चाहन्छन्। 

लिभरपुल, बार्सा र एथलेटिको मड्रिडका पूर्व स्टाइकर स्वारेज फ्री एजेन्टमार्फत आफ्नो पहिलो पूर्व क्लब नेशनल डि फुटबलमा फर्केका थिए। 
स्वारेजले लागि सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको क्वार्टरफाइनलअन्तर्गत घानाविरुद्धको खेलमा बललाई हातले रोक्दै गोल हुनबाट बचाएका थिए। त्यसपछि पाएको पेनाल्टीमा गोल हुन सकेन र घाना पहिलोपटक सेमिफाइनलमा पुग्नबाट वञ्चित भएको थियो।

त्यस्तै सन् २०१४ मा इटालीका डिफेन्डर जजिर्यो चिलिनीलाई स्वारेजले टोकेका थिए। त्यसपछि उनलाई फिफाले प्रतिबन्ध पनि लगाएको थियो। यी कारणले पनि स्वारेज विश्वकपमा सम्झनामा आउँछन्। 

लुका मोड्रिच (क्रोएशिया) 


रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचका लागि पनि २०२२ को विश्वकप अन्तिम हुनेछ। 

क्रोएशियालाई ८ महत्वपूर्ण उपाधि दिलाएका मोड्रिच विश्वकप फुटबलपछि सन्यास लिने तयारीमा छन्। 

रियल मड्रिडमा हुँदा उनले २१ महत्वपूर्ण उपाधि क्लबलाई दिलाएका छन्। पाँचपटक यूईएफए च्याम्पियन्स लिग, तीन ला लिगा, एक कोपा डेल रे र चार फिफा क्लब वल्र्डकप जिताइसकेका छन्। 

यसअघि सन् २०१८ मा भएको विश्वकपमा पनि उनले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए। त्यही समयमा उनले बालोन डे’ओर पनि जितेका थिए। 

करिम बेन्जेमा (फ्रान्स) 


रियल मड्रिडका स्टाइकर बेन्जेमा अन्तिम विश्वकप खेल्ने तयारीमा छन्। २०२२ को बालोन डे’ओर विजेता बेन्जेमाले क्लबमा लागि ४६ खेलमा ४४ गोल गरेका छन्। 

सन् २००९ देखि उनी रियल मड्रिडबाट खेल्दै आएका छन्। रियलबाट उनले २३ उपाधि उचालेका छन्। ४ ला लिगा, २ कोपा डेल रे, ५ युइएफए च्याम्पियन्स लिगको उपाधि जितेका छन्। यो क्रममा उनले ४२२ खेलबाट २२४ गोल गरेका छन्।

दोस्रोपटक विश्वकप खेल्न लागेका बेन्जेमा कतार विश्वकपलाई नै अन्तिम बनाउने तयारीमा छन्। उनले यो अघि सन् २०१४ मा विश्वकप खेलेका थिए। सन् २०१० मा टोली बाहिर रहेका बेन्जेमा २०१८ मा भने यौन टेप ब्याकमेलको मुद्दामा राष्ट्रिय टोलीबाट ६ वर्ष बाहिर रहेका थिए। 

ग्रेथ बेल (वेल्स) 


वेल्सका लिजेन्ड खेलाडी ग्रेथ बेलका लागि कतार विश्वकप पहिलो र अन्तिम हुन सक्नेछ। ३३ वर्षीय बेलका लागि विश्वकप अन्तिम भए पनि फुटबलमा भने सक्रिय रहने बताएका छन्। रियलसँगको समझौता सकिएपछि उनी लस एन्जलमा आबद्ध भएका थिए। जहाँ उनले एमएलएस कप उचालेका थिए। 

ग्रेथ बेलले ५ च्याम्पियन्स लिग, ४ क्लब वल्र्डकप, ३ युरोपियन सुपर कप, ३ ला लिगा, १ कोपा डेल रे र ३ स्पेनिस सुपर कपको उपाधि उचालेका छन्। 

म्यानुअल नुएर (जर्मनी) 

बार्यन म्युनिख र जर्मनीका पहिलो रोजाइका गोल किपर म्यानुअल आफ्नो समयका उत्कृष्ट गोलरक्षक हुन्। उनले सन् २०१४ मा विश्वकपको उपाधि उचालेका थिए। म्यानुअल २०२६ हुने विश्वकपमा ४० वर्ष पुग्नेछन् त्यसैले पनि उनको लागि यो विश्वकप अन्तिम हुनेछ। 

सर्जियो बुस्केट्स (स्पेन)

पछिल्लो २० वर्षलाई हेर्ने हो भने बुस्केट्स आफ्नो समयका उत्कृष्ट मिडफिल्डर हुन्। सन् २०१० को विश्वविजेता स्पेनका लागि उनी विश्वकपमा अन्तिम पटक खेल्दै छन्। 

अहिले बार्सिलोमा रहेका बुस्केट्सले ८ ला लिगा, ७ कोपा डेल रे र ३ युईएफए च्याम्पियन्स लिगको उपाधि उचालेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .