ad ad

खेल


विश्वकपमा अफ्रिकालाई अन्याय भएकै हो?

विश्वकपमा अफ्रिकालाई अन्याय भएकै हो?

अफ्रिकन देशका फुटबल समर्थकहरु। तस्बिर : एजेन्सी


नेपालखबर
कात्तिक २२, २०७९ मंगलबार ११:२८, काठमाडौँ

कतारमा मंसिर ४ देखि विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२२ सुरु हुँदै छ।

यो विश्वकपमा सहभागी ३२ मध्ये पाँच टोली अफ्रिका महादेशबाट छन्। जबकी अफ्रिकामा फिफाका ५४ सदस्य राष्ट्र छन्। अफ्रिका, एसिया, उत्तर र दक्षिण अमेरिकाभन्दा पनि सानो भू–भाग भएको युरोपबाट भने १३ देश विश्वकपमा सहभागी हुँदैछन्।

त्यसो त  युरोपका ५५ मुलुक फिफा सदस्य छन्। युरोपबाट सबैभन्दा धेरै देश फिफाका सदस्य पनि छन्। विश्वकपमा सहभागिताको हिसाबमा पनि युरोपले अन्य महादेशलाई पछि पार्दै आएको छ।

त्यस्तै विश्वकपको उपाधि मामिलामा पनि युरोप सबैभन्दा अगाडि छ। युरोपेली मुलुकले १२ पटक विश्वकप जितिसकेका छन्। 

कसरी छानिन्छन् टोली? 
कुनै पनि महादेशको आकारअनुसार छनोट नहुने हो भने विश्वकपको सफलताको आधारमा छनोट हुने टोली तय हुने हुन् त? 

विश्वकप छनौट देखिएजस्तो सहज छैन। एसियाबाट अफ्रिकाभन्दा एउटा कम टोली विश्वकपमा जान पाउँछन्।

तर, कहिलेकाहीँ एसियाबाट पाँच टोली विश्वकपमा पुग्छन्। अन्तरमहादेशीय प्लेअफले एसियालाई अर्को एक मौका दिन सक्छ। सन् २०१८ को विश्वकपमा अष्ट्रेलियाले होण्डुरसलाई हराउँदै विश्वकपमा स्थान बनाएको थियो। 

यसपटक पनि अष्ट्रेलियाले प्ले अफमा पेरुलाई हराउँदै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ। कतारसहित विश्वकपमा यसपटक एसियाबाट ६ टोली सहभागी छन्। 

फुटबलको पावरहाउस मानिने दक्षिण अमेरिकाबाट चार टोली विश्वकपमा छन्। यो क्षेत्रमा जम्मा १२ देश छन्। विश्वकपका लागि जम्मा १० टोलीले प्रतिस्पर्धा गरेका थिए। उत्तर, मध्य र क्यारेबियन क्षेत्रबाट पनि चार टोली विश्वकपमा छन्। 

अफ्रिकाको समय कहिले आउँछ?
क्यामरुनका लिजेन्ड प्याट्रिक एमबोमा विश्वकप छनोट नीतिमा अफ्रिकालाई घाटा भएको बताउँछन्। ‘यो न्यायसंगत छैन’, उनले भने, ‘दक्षिण अमेरिकालाई हेर्नुहोस्, केवल १० टोली छनोटमा सहभागी हुँदा ४+१ टोलीले विश्वकपमा स्थान पाउँछन्। जसको कारण उदाहरणका लागि अर्जेन्टिना र ब्राजिलजस्ता टोलीले अनुभव संगाल्ने र अन्य महादेशका टोलीसँगको अन्तर बढाउने राम्रो मौका सधैं पाउँछन्।’ 

४+१ को अर्थ अफ्रिका र युरोपबाहेक अन्य महादेशले थप एक स्थानको लागि पाउने प्लेअफको मौका हो। यसवर्ष प्ले अफमा अष्ट्रेलियालाई हराउन सकेको भए पेरु दक्षिण अमेरिकाबाट विश्वकपमा पुग्ने पाँचौँ टोली बन्ने थियो। 

पूर्व अफ्रिकन फुटबलर अफ द इयरसमेत बनिसकेका एमबोमा सन् १९९८ र २००२ दुई विश्वकपमा सहभागी भएका थिए।

उनले आफ्नो पालामा सन् २००० र २००२ मा क्यामरुनलाई  अफ्रिका कप अफ नेसन्सको उपाधि दिलाएका थिए। साथै सन् २००० मा अष्ट्रेलियामा भएको ओलम्पिकमा टोलीलाई स्वर्णपदक जिताएका थिए। 

५१ वर्षीय एमबोमा सुरुवाती छनोटको लागि सबै महादेशलाई चार स्थान दिनुले अफ्रिकाका केही मुलुकलाई मार परेको बताउँछन्। उनी भन्छन्, ‘हामीसँग ५४ सदस्यीय संगठन छ। छनोट भएर जाने टोलीहरु उस्ताउस्तै हुन्छन्। जसले धेरै विश्वकप खेलेको अनुभव छ, त्यही टोली छानिने सम्भावना धेरै हुने गरेको छ।’ 

निकास के हो त? 
अफ्रिकाजस्तै अन्य महादेश पनि आफ्नो क्षेत्रबाट धेरैभन्दा धेरै टोली विश्वकपमा पुगून् भन्ने चाहन्छन्। सन् २०१० को विश्वपकमा दक्षिण अफ्रिकाको टोलीका कप्तान रहेका आरोन मोकोएना यो समस्यालाई महादेश आफैँले समाधान गर्नुपर्ने बताउँछन्।

फिफा र अफ्रिकी फुटबल संघले केही स्टेडियममाथि मुख्य मापदण्ड नपुगेको भन्दै लगाइएको प्रतिबन्ध हटाइनुपर्ने उनको भनाइ छ।

भौतिक पूर्वाधार राम्रो नहुनु, मेडिकल र प्राविधिक सेवा राम्रो नहुनु जस्ता कारण पनि अफ्रिका पछि परेको उनको भनाइ छ। 

मोकोएना भन्छन्, ‘मलाई अफ्रिकाका धेरै मुलुक विश्वकपमा हुनु निकै महत्वपूर्ण हो भन्ने लाग्छ किनकी अफ्रिकी खेलाडीले विश्वका उत्कृष्ट टोलीसँग खेल्दै निखार ल्याउने मौका पाउँछन्।’ 

‘हामीले विश्वकपको लागि थप सिट माग्नुभन्दा अघि आफ्नो समस्या समाधान गर्नु जरुरी छ। पूर्वाधार विकासमा ध्यान दिनुपर्छ। राम्रो मैदान नभएकाले घरेलु खेल पनि अर्को मुलुकमा गएर खेल्नु राम्रो कुरा होइन। एउटा, दुइटा मात्र होइन, महादेशका धेरै मुलुकले घरेलु खेल पनि अर्को मुलुकमा गएर खेल्नुपर्ने बाध्यता छ’, उनले थपे।

‘दोस्रो कुरा हामीले आफ्नो विकास पनि गर्दै लैजानुपर्छ। यदि हामी विश्वकपमा अझै धेरै टोली लैजान चाहान्छौं भने हामीले खेलाडीको विकासमा पनि ध्यान दिनुपर्छ। त्यसको लागि पर्याप्त लागानी गर्दै खेलाडीलाई उच्चस्तरको प्रदर्शन गर्न सक्ने बनाउनुपर्छ’, उनले भने। 

मोकोएनाका अनुसार विश्वकप युरोपका उत्कृष्ट लिगमा अफ्रिकी खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। त्यसमध्ये केही टोलीका उत्कृष्ट खेलाडी पनि अफ्रिकी मुलुकका छन्।

बार्यन म्युनिखका साडियो माने बालोन डे’ओरको प्रतिस्पर्धामा दोस्रो भएका थिए। उनको प्रदर्शनमा सेनेगल कतार विश्वकपका लागि छानिएको थियो। 

अफ्रिकी फुटबल महासंघ (सीएएफ)का कार्यकारी सदस्य तथा युगाण्डा राष्ट्रिय फुटबल संघका अध्यक्ष मोसेस मागोगो फिफाको अहिलेको पाँच स्थानको नियम उचित रहेको बताउँछन्। 

उनी भन्छन्, ‘हामी सबैलाई थाहा छ कि युरोपेली फुटबल अफ्रिकाको भन्दै बलियो छ र हामीसँग झण्डै बराबर मुलुक छन्।’

अफ्रिकी टोली अहिलेसम्म केवल तीनपटक मात्र विश्वकपको क्वार्टरफाइनलमा पुगेका छन्। पहिलोपटक सन् १९९० मा क्यामरुन क्वार्टरफाइनलमा पुगेको थियो।

सन् १९९८ मा सेनेगल र सन् २०१० मा घाना विश्वकपको क्वार्टरफाइनलमा पुगेको थियो। विश्वकपको अघिल्लो संस्करणमा अफ्रिकाका पाँचै टोली पहिलो चरणबाटै बाहिरिएका थिए। 

सन् २०२६ मा हुने विश्वकपमा ४८ टोली समावेश हुनेछन्। जसमा थप चार स्थान अफ्रिकाले पाउनेछ। तर, एमबोमा यसलाई पनि मान्न तयार छैनन्।

‘यसमा पनि युरोपेली मुलुकले थप स्थान पाउनेछन्। सहभागी टोलीमध्ये एकतिहाइ युरोपेली टोली हुनेछन्। त्यसैले अझ पनि यो असमान र अन्यायपूर्ण हुनेछ’, उनले भने। 

यसपटक अफ्रिकाबाट विश्वकपमा क्यामरुन, मोरोक्को, ट्युनिसिया, घाना र सेनेगल पुगेका छन्। यसमध्ये क्यामरुनलाई अफ्रिकाको आशाको रुपमा हेरिएको छ। (अल जाजिराबाट) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .