ad ad

खेल


रोनाल्डोले भने- पोर्चुगललाई विश्वकप जिताउने सपना अधुरै रह्यो

रोनाल्डोले भने- पोर्चुगललाई विश्वकप जिताउने सपना अधुरै रह्यो

नेपालखबर
मंसिर २६, २०७९ सोमबार १४:१६, काठमाडौँ

पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले विश्वकप उपाधि जित्ने अधुरै रहेको बताएका छन्। 

विश्वकपपछि रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने आशंका गरिए पनि उनले सामाजिक सञ्जालमा पोर्चुगलका लागि विश्वकप जित्ने सपना अधुरै रहेको बताएका हुन्। 

यसअघि ३७ वर्षिय रोनाल्डोका लागि कतार विश्वकप अन्तिम विश्वकप हुने भनिएको थियो। उनी आफ्नो नेतृत्वमा देशलाई विश्वकपको उपाधि दिलाएर बिदा हुन चाहान्थे। तर उनको त्यो सपना अधुरै रहेको छ। 

रोनाल्डोले आफु अब राष्ट्रिय टोलीमा रहने नरहने बारेमा केही खुलाएका भने छैनन्। त्यस्तै उनले तत्काल सन्यास लिने विषयमा भने केही खुलाएका छैनन्। 

अब आफ्नो खेल जीवनको बारेमा समीक्षा गर्नुपर्ने बेला भएको बताउँदै रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्रामका लामो स्ट्याटस लेख्दै पोर्चुगलका लागि विश्वकप उपाधि दिलाउनु आफ्नो खेल जिवनको सबैभन्दा ठुलो सपना रहेको बताएका छन्। 

उनले लेखेका छन्, ‘मैले मेरो खेल जिवनमा र पोर्चुगलका लागि धेरै अन्तर्राष्ट्रिय उपाधि जितेको  छु, तर देशको नाम विश्वको उच्च स्थानमा राख्ने मेरो ठूलो सपना भने अधुरै रहेको छ। मैले १६ वर्ष राष्ट्रिय टोलीमा बिताउँदा पाँच विश्वकप खेले, र विश्वकपका लागि कठिन परिश्रम गरे, मैले सक्ने जति सबै गरे तर सफल हुन सकिनँ।’ 

‘मैले सपनाको अगाडि कहिल्यै हार मानिनँ। तर, दुखको कुरा मेरो शनिबार सपना समाप्त भएको छ। तर पोर्चुगल प्रति मेरो समपर्ण एकछिनका लागि परिवर्तन भएको छैन। म सँधै सबै व्यक्तिको लागि लड्ने मान्छे थिएँ, म मेरो टोलीका साथीहरु र मेरो देशबाट कहिल्यै पछाडि फर्किने छैन’, उनले भने।

राष्ट्रिय टोलीबाट १९३ खेलमा रोनाल्डोले ११८ गोल गरेका छन्। रोनाल्डो अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता हुन्। रोनाल्डोले २०२१ मा इरानका अलि दाइको किर्तिमान तोड्दै सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा उक्लिएका थिए। अलि दाइको नाममा १०९ गोलको किर्तिमान छ।  

विश्व फुटबलको एक उत्कृष्ट खेलाडी रोनाल्डोले आफुनो टोलीलाई विश्वकपमा क्वार्टरफाइनलबाट अगाडि बढाउन सकेनन्। विश्वकपको तेस्रो क्वार्टरफाइनलमा पोर्चुगल मोरक्कोसँग पराजित हुँदै विश्वकप यात्रा टुङ्ग्याएको थियो। 

खेलको दोस्रो हाफमा मैदान छिरेका रोनाल्डोले पोर्चुगललाई खेलमा फर्काउन सकेनन्। र पोर्चुगल मोरक्कोसँग १–० ले पराजित भयो। 
खेलमा रेफ्रिले अन्तिम ह्वीसेल बजाएसँगै रोनाल्डो एक्लै ड्रेसिङ रुमतिर लागेका थिए। ड्रेसिङ रुममा रुदै गएका रोनाल्डोलाई क्यामेराले पछ्याइरहेका थिए। 

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डोलाई लगातार दुई खेलमा बेन्चमा राखेका थिए। खेलको ५१ औँ मिनेटमा रुबेन नेभ्सको स्थान लिर्दै रोनाल्डो मैदान छिरेका थिए। त। उनले खेलमा नेतृत्वदायी भुमिका निभाउन भने सकेनन्। 

पछिल्लो समय खराब लयबाट गुज्रिरहेका रोनाल्डो विश्वकपअघि एक अन्तवार्ताका कारण विवादमा आएका थिए। जसको कारण उनको र म्यानचेष्टर युनाइटेडसँगको सम्बन्ध झनै चिसो भएको थियो। युनाइटेड र रोनाल्डोबीच आन्तरिक तिक्तता बढेसँगै विश्वकप अघि नै क्लब विहिन बनेका थिए। 

युनाइटेड छाडेसँगै साउदी अरेबियाको अल नासार क्लबमा जाने चर्चा छ। यद्यपि यसलाई भने रोनाल्डोले अस्वीकार गरेका थिए। 

पाँच पटकका बालोन डे'ओर विजेता रोनाल्डोले थुप्रै कीर्तिमान आफ्नो नाममा गराएका छन्। सनु २०१६ को युरोपियन च्याम्पियन रोनाल्डो फरक पाँच विश्वकपमा गोल गर्ने एक्ला खेलाडी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .