ad ad

खेल


कुन देशले लैजाला स्टेडियम ९७४?

कुन देशले लैजाला स्टेडियम ९७४?

नेपालखबर
मंसिर २६, २०७९ सोमबार १३:३८, काठमाडौँ

गत साताको सोमबार नकआउट चरणमा ब्राजिल र दक्षिण कोरियाबीचको खेल सकिएसँगै स्टेडियम ९७४ कुन देशले लैजाला? भन्ने चर्चा सुरु भएको छ। विश्वकपको इतिहासमा पहिलोपटक अस्थायी रंगशाला निर्माण गरिएको हो। 

विश्वकप जारी रहँदा यो रगंशाला भत्काउने प्रक्रिया सुरु भइसकेको छ। रंगशालाका शिपिङ कन्टेनरहरु, सिट र अन्य पूर्वाधार सबै हटाइनेछ। विश्वकपअघि नै रंगशाला नभएको देशलाई हस्तान्तरण गर्ने प्रतिबद्धता कतारले आयोजनाको प्रस्ताव गर्दा नै प्रतिबद्धता जनाएको थियो। 

सोही प्रतिबद्धताअनुसार यो स्टेडियम अब कुन देशले पाउने हो भन्ने चर्चा सुरु भएको छ। तर कुन देशले यो रंगशाला पाउँछ भन्ने तय भने भइसकेको छैन। 

सन् २०३० को विश्वकप अर्जेन्टिना, चिली र पाराग्वेले संयुक्तरुपमा आयोजना गर्न सहमत छन्। यही प्रक्रिया अन्तिम भएमा यो रंगशाला २०३० मा प्रयोगमा आउने सम्भावना पनि छ। 

यस्तै यो स्टेडियम उरुग्वे वा दक्षिण अफ्रिका पठाइने चर्चा पनि छ। सन् २०३० का लागि दक्षिण अमेरिकी टोली उरुग्वेले पनि बोली लगाउने बाटो हेरिरहेको छ।  

कतारको राजधानी दोहाबाट करिब १३ हजार किलोमिटर टाढा रहेको उरुग्वेमा यो रंगशाला पठाउने सम्भावना बढी छ। ठूलो रकम खर्च गरिएको यो रंगशालामा प्रतिफल शून्य नहोस् भन्ने कुरालाई ध्यानमा राख्न सुझाव समेत दिइएको छ। 

४० हजार दर्शक क्षमताको यो रंगशालामा जारी विश्वकपका ६ खेल आयोजना भएका थिए। पूर्णरुपले हटाउन सकिने क्षमता भएको यो रंगशालालाई फेरि अर्को ठाउँमा बनाउन सकिन्छ।

यो रंगशालाको अर्को विशेषता भनेको यसको अंक नाम नै हो। यो अरुभन्दा फरक छ। ९७४ कतारको डायलिङ कोड हो। त्यस्तै यसको अर्को विशेषता भनेको स्टेडियम बनाउन प्रयोग गरिएको कन्टेनरहरुको संख्या पनि हो। 

इन्जिनियरिङको भाषामा यो रंगशाला बनाउन ९७४ वटा शिपिङ कन्टेनर प्रयोग भएका छन्।  यसका नाम र डिजाइन सांकेतिक छन्। त्यसबाहेक पूर्णरुपले हटाउन सकिने विशेषतायुक्त छ। जसलाई वातावरणमैत्री र दिगो मानिएको छ। 

यो स्टेडियमलाई ग्लोबल सस्टेनेबिलिटी असेसमेन्ट सिस्टम (जीएसएएस) ले दिगोपनाको प्रमाणपत्र दिएको छ। डिजाइन र निर्माणमा फाइभस्टार रेटिङ पाएको यो रंगशालाले निर्माण व्यवस्थापनमा क्याटेगोरी अफ एक्सिलेन्सी पाएको छ। जुन गल्फ अर्गनाइजेसन फर रिसर्च एन्ड डेभलपमेन्टले दिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .