ad ad

खेल


विराट गोल्डकप फुटबल : ६१ वर्षपछि दोस्रो पटक उपाधि घरमै राख्‍ने अवसर

पाहुना केरला लुका सकर पनि कमजोर छैन
विराट गोल्डकप फुटबल : ६१ वर्षपछि दोस्रो पटक उपाधि घरमै राख्‍ने अवसर

फाइल तस्बिर


ध्रुव भट्टराई
चैत १५, २०७९ बुधबार १३:३७, विराटनगर

सातौँ संस्करणको विराट गोल्डकप फुटबलको उपाधिका लागि पाहुना टोली भारत केरलाको लुका सकर क्लब र घरेलु टिम विराटनगर सिटी भिड्ने भएका छन्। 

विराटनगरको सहिद रंगशालामा बिहीबार हुने फाइनल खेलमा उपाधि जित्ने  रणनीतिसहित दुवै टिम मैदानमा उत्रिने तयारीमा छन्।

सहिद रङ्गशालामा बिहीबार साँझ ६:४५ बजे हुने फाइनलमा केरलाको लुका सकर पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्यमा छ।

अर्कातिर घरेलु टोली विराटनगर ६१ वर्षपछि दोस्रो पटक गोल्डकप घरमै राख्ने दाउमा रहेको छ।

विराटनगरले पूर्वविजेता नेपाल पुलिस र जावलाखेललाई पन्छाउँदै फाइनल यात्रा तय गरेको हो। 

विराटनगरले क्वार्टरफाइलनमा नेपाल पुलिसलाई १–० र सेमिफाइनलमा जावलाखेललाई २–१ गोलले हराउँदै उपाधि नजिक पुगेको हो।

यस्तै पहिलो पटक भाग लिएको केरलाले क्वार्टरफाइनलमा सङ्कटा क्लबलाई सडनडेथमा ८–७ गोलले पन्छाउँदै अन्तिम चारको यात्रा गरेको थियो। 

सेमिफाइनलमा केरालाले साविक विजेता विभागीय टिम एपीएफलाई टाई ब्रेकरमा ४–२ गोलले हराएर फाइनल पक्का गरेको हो।

केरलाको लुका सरक र घरेलु टिम विराटनगरबीच फुटबल मैदानमा पहिलोपल्ट भेट हुँदैछ।

साविक विजेता एपीएफ र लिग खेल्दै आएको ‘ए’ डिभिजन टिम सङ्कटाजस्तो सशक्त टिमलाई पराजित गरेर फाइनल यात्रा तय गरेकाले लुका सकरका खेलाडीमा मनोबलमा छन्।

घरेलु टोलीले तेस्रो पटक आफूलाई प्रतियोगिताको उपाधि नजिक पुर्‍याएको हो। विराटनगर ६१ औँ वर्षपछि गोल्डकपको फाइनलमा पुगेको छ। 

यसअघि २०१८ सालमा तत्कालीन महेन्द्र गोल्ड कपमा घरेलु टिम मोरङ ११ फाइनलमा पुगेर उपविजेता भएको थियो। 

त्यस बेलाको पहिलो उपाधि भारतको कलकत्ताले गोल्डकपको उपाधि जितेको थियो। २०१९ सालमा मोरङ ११ ले उपाधि हात पारेको थियो। 

त्यसपछि सातौँ संस्करणसम्म आइपुग्दा घरेलु टिम फाइनलमा पुगेको हो। गत वर्षको लिग विजेता मच्छिन्द्र क्लबको सेटलाई मैदानमा उतारेको आयोजक विराटनगरले सेमिफाइनल खेलबाट विमल घर्ती मगरलाई पनि मैदानमा ओरालेको छ। 

घरेलु टिमलाई फाइनलमा पुर्‍याउन विमलले महत्त्वपूर्ण भूमिका खेलका थिए। उनले निकालेको क्रस पासमा विराटनगरले सङ्कटलाई २–१ गोलले पराजित गरेको थियो।

विराटनगरमा बुधवार प्रि–म्याच कन्फ्रेन्समा विराट गोल्डकपको फाइनल अघि दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नका लागि खेल्ने बताएका छन्।

विराटनगर सिटीका प्रशिक्षक सन्तोष न्यौपानेले घरेलु मैदानमा विराट गोल्ड कपमा टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए। 

‘विराट गोल्डकपको फाइनलमा पुगेका छौँ। उपाधि उचाल्ने प्रयास रहने छ,’ उनले भने,’ दुई लक्ष्य लिएका आएका थियौँ। एउटा उपाधि र अर्को फाइनल पुग्ने। एउटा पूरा भयो अर्को भोलि हुन्छ।’ 

विराटनगर सिटीका कप्तान विशाल श्रेष्ठले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे। ‘लुका सकर राम्रो टिम हो। अग्दा कद भएका खेलाडी छन्। त्यही भएर हामी टेक्निकल खेल प्रदर्शन गर्नेछौँ,’ उनले भने, ‘केरलाका अग्गा कद भएका खेलाडी भएकोले हामी ग्राउन्ड लेभलबाट खेल खेल्नेछौँ।’

नेपालमा पहिलो गोल्ड कप खेल्न आएको केरलाको लुका सकर क्लब विराट गोल्डकपको फाइनलमा पुगेको हो। केरलाको प्रिमियम लिगको पाँचौँ स्थानमा लुका सकर रहेको छ।

भारत केरलाको लुका सकर क्लबका प्रशिक्षक नभास नोकाले फाइनल भन्दा अगाडी जसरी हाम्रो खेलाडी खेल खेलेका थिए, त्यही अनुरूप फाइनल खेल्ने बताए। 

नेपालकै प्रतिष्ठित उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने उनले बताए। 

‘हामीलाई थाहा छ यो धेरै प्रतिष्ठित प्रतियोगिता हो। त्यसैले हामी यसलाई उठाउन सबैभन्दा राम्रो खेल्ने छौँ,’ उनले भने। साबिक विजेता एपीएफ र लिग खेल्दै आएको ए डिभिजनको टिम सङ्कटालाई जितेको हुनाले फाइनलमा उपाधि जित्नेमा हामी ढुक्क रहेको उनको भनाई छ।

केरलाका कप्तान अर्सादले हामीले उत्कृष्ट खेल प्रदर्शन गरेकोले नेपालको दर्शकको साथ र समर्थनले गोल्डकपको फाइनलको उपाधि जित्ने दाबी गरे। ‘हाम्रो खेलले नेपाली दर्शकको मन जित्नेमा आशावादी छौँ,’ उनले भने।

चैत ९ देखि सुरु भएको रात्रिकालीन गोल्डकपको विजेताले २० लाख १५ र उपविजेता १० लाख १५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्।

प्रशिक्षक, गोलकिपर, मिडफिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयर प्ले अवार्ड सबैलाई जनही २५/२५ हजार रुपैयाँ पुरस्कार रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .