एनसीसी जुनियर चेकमेट चेस प्रतियोगिता २०२५ मंगलबार सफलतापूर्वक सम्पन्न भएको छ।
नेपाल चेम्बर अफ कमर्सको एडुकेसन एन्ड स्पोर्ट्स कमिटिद्वारा हिमालयन चेस एकेडेमी र माइस इभेन्ट्ससँगको सहकार्यमा आयोजित दुई दिने प्रतियोगितामा काठमाडौं उपत्यकाका २४ स्कुलका १ सय १ जना विद्यार्थीले आलोचनात्मक सोंचाई, समस्या समाधान क्षमता, र धैर्यता प्रदर्शन गरेका थिए।
ब्वाइज र गल्र्सलाई कक्षा ३ देखि ५ सम्म र कक्षा ६ देखि ८ सम्म गरी दुई क्याटगोरीमा विभाजन गरिएको थियो। गल्र्स कक्षा ३ देखि ५ सम्मको स्पर्धामा फ्युचर स्टार स्कुलकी ग्लोसी श्रेष्ठ प्रथम भइन्। सिद्धार्थ वनस्थली इन्स्टिच्युटकी शुभानी राना दोस्रो र अन्नपूर्ण सेकेन्डरी स्कुलकी टिस्टिना बस्नेत तेस्रो भइन्। ब्वाइज ३ देखि ५ सम्मको क्याटगोरीमा अन्नूर्णका युनिश खड्का पहिलो भए भने संस्कृति इन्टरनेनल स्कुलका संभव थुलुङ दोस्रो र ग्रिनल्यान्ड स्कुलका सुलभ पन्थी तेस्रोमा रहे।
त्यस्तै, कक्षा ६ देखि ८ सम्मको स्पर्धामा गल्र्सतर्फ मार्भलस इंग्लिस बोर्डिङ स्कुलकी निहाना श्रेष्ठले उपाधि जितिन्। अन्नपूर्णकी ओजस्वी श्रेष्ठ दोस्रोमा रहिन् भने डिभाइन स्कुलकी जेनिशा न्यौपानेले तेस्रो स्थान हासिल गरिन्। ब्वाइजतर्फ निसर्ग बाटिका स्कुलका सात्विकमान तुलाधर प्रथम भए। निसर्गकै आयन जोशी दोस्रो र एसियन पब्लिक स्कुलका दिपन मैनाली तेस्रो भए। निहाना र सात्विकमान हिमालयन चेस एकेडेमीका खेलाडी हुन्।
स्वीस प्रणालीको आधारमा ब्वाइजको ६ राउन्ड र गल्र्सको ४ राउन्ड खेल सञ्चालन गरिएको थियो। प्रत्येक खेलको विजेतालाई ३ अंक, बराबरीमा १ अंक र हारमा शुन्य अंक प्रदान गरिएको थियो। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल र एनसीसी एडुकेसन एन्ड स्पोर्टस् कमिटिका प्रमुख रुपक राजवंशीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो। चारै स्पर्धाका शीर्ष १० खेलाडीलाई मेडल प्रदान गरिएको थियो।
खेलाडीहरूको वरीयताको आधारमा अन्नपूर्ण सेकेन्डरी च्याम्पियन भयो। सिद्धार्थ वनस्थली उपविजेता भयो भने निसर्ग बाटिका तेस्रोमा रह्यो। शीर्ष तीनै स्कुललाई ट्रफी प्रदान गरिएको थियो।
कलिलै उमेरमा बालबालिकामा आलोचनात्मक सोंचाई, समस्या समाधान गर्ने कौशल र धैर्यताको विकासको लागि बौद्धिक खेलको रुपमा चेसलाई प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरिएको एनसीसी एडुकेसन एन्ड स्पोर्ट्स कमिटिले जनाएको छ।

प्रतिक्रिया