खेल


मेस्सी, रोनाल्डो, भान डाइकः विश्वको सर्वोत्कृष्ट खेलाडी को?

मेस्सी, रोनाल्डो, भान डाइकः विश्वको सर्वोत्कृष्ट खेलाडी को?

नेपालखबर
असोज ६, २०७६ सोमबार ८:४२,

फ्रेन्च फुटबल म्यागेजिनले विश्वको सर्वोत्कृष्ट फुटबल खेलाडीलाई १९५६ देखि बालान डी’ ओर अवार्ड दिदैँ आएको थियो। २०१० यता फ्रेन्च म्यागेजिनले फिफासँगको सहकार्यमा विश्वको सर्वोत्कृष्ट खेलाडीलाई ‘फिफा बालोन डि’ ओर’ अवार्ड दिन थाल्यो। उक्त अवार्ड अहिलेका चर्चित खेलाडीद्वय लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले ५–५ पटक जितेका छन्।

तर, २०१६ मा भने फुटबलको सर्वोच्चो निकाय फिफाले फ्रेन्च म्यागेजिनसँगको सहकार्य तोड्यो। उक्त सहकार्य टुटेपछि फिफाले आफै वर्षको सर्वोत्कृष्ट खेलाडीलाई ‘द वेष्ट फिफा अवार्ड’ प्रदान गर्न थाल्यो।

Image result for the best awards 2019

सोही अवार्डको चौथो संस्करण इटालीको मिलानमा सोमबार राति घोषणा हुँदैछ। वर्षको सर्वोत्कृष्ट खेलाडीका लागि फिफाले यसअघि दश जना खेलाडीको मनोनयन सार्वजनिक गरिसकेको छ। अवार्ड हात पार्न लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र भिर्गिल भान डाइकबीच चर्को प्रतिस्पर्धा छ।

पक्कैपनि मेस्सी र रोनाल्डोसँग उत्कृष्टताको बेग्लै स्तर छ। उनीहरुले लामो समय अविश्वसनीय प्रदर्शन गरेका छन्। तर, पछिल्लो १२ महिना भान डाइकले लिभरपुलमा जुन परिवर्तनकारी प्रभाव पारे, त्यसका लागि उनलाई विश्वको सर्वोत्कृष्ट खेलाडीको अवार्ड दिइयो भने सायद कसैले गुनासो गर्ने छैनन्। 

लियोनल मेस्सी
२०१८–१९ को सिजनमा मेस्सीले बार्सिलोनालाई ला–लिगाको उपाधि दिलाए। टोलीलाई च्याम्पियन्स लिगको सेमिफाइनल सम्मको यात्रा तय गराए। उनी यूरोपको लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बने। उनकै कप्तानीमा अर्जेन्टिना कोपा अमेरिकाको उपविजेता बन्यो।

उनको अद्भुत गोल गर्ने कला, ड्रिबल(विपक्षी खेलाडी छक्काउँदै अघि बढ्ने), डिफेन्स, चतुर्‍याईपूर्ण पासहरु, पहिलो टचमै बल कन्ट्रोलको क्षमता, खेलमा जागरुकता र निःस्वार्थ खेलप्रति नतमस्तक हुनेहरु मेस्सीलाई सर्वोत्कृष्ट खेलाडी मान्न सक्छन्।

Image result for messi

उनको तथ्यले पनि सर्वोत्कृष्ट खेलाडीको दाबेदार बनाउँछ। अघिल्लो सिजनमा उनले केलियन एम्बाप्पे(३३)लाई पछि पार्दै यूरोपका लिगमा सबैभन्दा बढी गोल(३६) गर्दै यूरोपियन गोल्डन शुं जिते। त्यतिमात्रै हैन्, ला लिगामा उनले सबैभन्दा बढी गोलमा सहयोगीको भुमिका पनि खेले। अघिल्लो सिजनमा उनकै सानदार प्रदर्शनको मद्दतमा बार्सिलोनाले दोस्रो स्थानको एथ्लेट्किो म्याड्रिडलाई ११ अंकले पछि छाड्दै लिगको उपाधि जित्यो।

लिभरपुलसँग बार्सिलोना सेमिफाइनलमा रोकिएपनि मेस्सी च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता(१२) हुन्। दोस्रो स्थानमा रहेका वायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की उनीभन्दा ४ र तेस्रो स्थानका रोनाल्डो ६ गोलले पछि थिए।

यस अवार्डका लागि उनकै बलियो प्रतिद्वन्द्वी पनि उनलाई अवार्डको दाबेदार मान्छन्। लिभरपुलका भर्गिल भान डाइक भन्छन्, ‘अहिलेपनि मेस्सी नै विश्वका उत्कृष्ट खेलाडी हुन्। र, मलाई लाग्छ यो अवार्ड(द वेष्ट) उनी डिभर्ज गर्छन्।’

क्रिस्टियानो रोनाल्डो
पोर्चुगल र यूभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो(३४) द वेष्ट अवार्डको अर्का मुख्य दाबेदार हुन्। उनले अघिल्लो सिजनमा इटालियन सिरी एको उपाधि उचाले। प्रतियोगिताको मोस्ट भ्यालुएवल प्लेयर चुनिए। यूभेन्ट्सका सर्वाधिक गोलकर्ता बने। पोर्चुगललाई यूएफा नेशन्स लिगको उपाधि दिलाए।

Image result for ronaldo

रोनाल्डो रियल म्याड्रिडबाट अघिल्लो सिजनमै यूभेन्ट्स आएका थिए। मेस्सी र भान डाइक भन्दा उनी यसै कुरामा फरक छन्। नयाँ ठाउँ, नयाँ क्लब, नयाँ टिममेट र नयाँ सिस्टमका बीच पनि उत्कृष्ट प्रदर्शन गर्न सफल भए। हरेक कुरामा हस्तक्षेप गर्ने प्रशिक्षक सामु रोनाल्डोले आफूलाई दिएको भुमिकामा जबर्जस्त प्रदर्शन गरे। लिगकै मोस्ट भ्यालुएवल प्लेयर चुनिए। क्लबकै सर्वाधिक स्कोरर बने। क्लबलाई सुपरकोपा र स्कुडोट्टोको पनि उपाधि दिलाएपछि उनी वर्षको सर्वोत्कृष्ट खेलाडीको दाबेदार बनेका हुन्।

सुपरकोप्पाको फाइनलमा मिलानलाई पराजित गर्दै यूभेन्ट्सलाई उपाधि दिलाए। एथ्लेट्किो म्याड्रिडविरुद्ध सनसनीपूर्ण पुनरागमन जित हात पार्दाका नायक रोनाल्डो हुन्। यस्तै लिगमा नेपोली तथा इन्टर मिलानविरुद्धका महत्वपूर्ण खेलमा अंक खोस्न यूभेन्ट्सलाई रोनाल्डो ले नै प्रेरित गरे।

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोष उनलाई फुटबलका जिनियस नै मान्छन्। नेशन्स लिगको फाइनलमा स्थान बनाउँन स्वीट्जरल्याण्डविरुद्ध रोनाल्डोले ह्याट्रिक गरेका थिए। यूएफा अन्तर्गतका ५५ टोलीबीच भएको कडा प्रतिस्पर्धाबीच पोर्चुगलले रोनाल्डोकै बलबुतामा उपाधि कब्जा गरेको थियो।

भिर्गिल भान डाइक

Image result for van dijk
नेदरल्याण्ड्स र लिभरपुलका रक्षक भान डाइक(२८)ले अघिल्लो सिजन क्लबलाई च्याम्पियन्स लिगको उपाधि दिलाए। उनले मेस्सी र रोनाल्डोलाई नै पछि पारेर यूरोपको सर्वोत्कृष्ट खेलाडीको अवार्ड जिते। उनी ईङ्लिस प्रिमियर लिगको वर्ष खेलाडी घोषित भए। नेदरल्याण्ड्सलाई नेशन्स लिगको फाइनलमा पु¥याए।

अद्वितीय डिफेन्डिङ क्षमताकै कारण सन् २०१८ को जनवरीमा लिभरपुलले उनलाई विश्वकै महँगो डिफेन्डर बनाउँदै कीर्तिमानी मुल्यमा साउथहप्टनबाट भित्र्याएको थियो। कमजोर डिफेन्सलाई लगातार मजबुद पार्दै उनले सिजनको अन्त्यमा लिभरपुललाई च्याम्पियन्स लिगको फाइनलमा पु¥याउँदै उपाधि नै जिताएका थिए।

उनी धैर्य, शान्त र नेतृत्व क्षमता भएका खेलाडी हुन्। उनले बेला मौका निर्णायक गोलहरु समेत गरे। च्याम्पियन्स लिगको अन्तिम १६ मा उनले वायर्न म्युनिखविरुद्धको दोस्रो लेगमा निर्णायक हेडर गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad