ad ad

खेल


क्यानको निर्वाचन असोज १० र ११ गते

क्यानको निर्वाचन असोज १० र ११ गते

नेपालखबर
भदौ ३०, २०७६ सोमबार ७:४,

सोमबार तीनै पक्षबीच बसेको बैठकले नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय निर्वाचन असोज १० र ११ गते गर्ने सहमती बनेको हो।

छलफलपश्चात राखेप सदस्यसचिव रमेशकुमार सिलवालले बैठकले क्यान निर्वाचनको मिति तय गर्नुका साथै निर्वाचनलाई कसरी स्वतन्त्र, पारदर्शि तरिकाले गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको बताए।

'बैठकले क्यानको केन्द्रीय चुनाव असोज १० र ११ गते गर्ने मिति टुंग्याएको छ,' उनले भने, 'चुनाव कसरी स्वतन्त्र र पारदर्शी तरिकाले चुनाव गर्ने र त्यसपछि निलम्बन फुकुवाको प्रक्रिया कसरी अघि बढ्छ भन्नेमा बैठक केन्द्रीत थियो।'

झण्डै दुई घण्टा भएको छलफलपछि आगामी आइसीसीको आगामी बैठकमा क्यानको निलम्बन फुकुवा हुनेमा आफू एक सय प्रतिशत ढुक्क रहेको सिलवालले बताए।

आइसीसीद्वारा गठित स्वतन्त्र समितीले यसअघि असोज ३ र ४ गते केन्द्रीय चुनाव गर्ने भनि सार्वजनिक सुचना जारी गरेको थियो। तर, आफ्नो सहमति नलिएको भन्दै रुष्ट बनेको राखेपले छलफलका लागि आइसीसी प्रतिनिधिलाई नेपाल डाकेको थियो।

यो पनि: राखेपको शर्तपछि क्यानको चुनाव अन्योलमा

आईसीसीका प्रतिनिधि ईमरान ख्वाजा र अमर शेख तथा स्वतन्त्र कमिटीका कानुनी सल्लाहकार राजेश्वर श्रेष्ठ र राखेपबीच सोमबार भएको छलफल पछि नयाँ मिति तय गरिएको हो।

आगामी असोज २६ गते आइसीसीको बोर्ड बैठक बस्दैछ। उक्त बैठकका एजेन्डाहरु असोज १५ गते तय हुँदैछन्। क्यानको निलम्बन फुकुवा प्रस्ताव बोर्ड बैठकमा लग्न एजेन्डामा त्यो कुरा पार्नुपर्छ। जसका लागि स्वतन्त्र समितिले असोज १५ भित्र चुनाव सकि बाँकी प्रक्रिया पनि पूरा गर्नुपर्नेछ। 

क्यानको केन्द्रीय कार्यसमिति १७ सदस्यीय हुनेछ। जसमा अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षसहित १३ सदस्य चयन हुनेछन्। उनीहरुको कार्यकाल ४ वर्षीय हुनेछ।

क्यानको मतदाता भने ५९ सदस्य छन्। श्रेष्ठका अनुसार जिल्लाबाट १–१ जना प्रतिनिधि र प्रदेशमा दुई जिल्ला बराबर एक जना प्रतिनिधि हुनेछन्।

आइसीसीले २०७३ बैशाखमा क्यानलाई निलम्बन गरेको थियो।

क्यानको विवाद टाइमलाइन– 
२०६८ पुस – माओवादी नेता टंक आङबुहाङको नेतृत्वमा क्यानको निर्वाचन
२०७२ पुस – टंक आङबुहाङको नेतृत्वको क्यानको कार्यकाल सकिदैँ।
२०७२ मंसिर– टंक आङबुहाङ पक्षले असन्तुष्टिका साथ मंसिर २९ गते भएको साधारण सभा बिथोल्ने प्रयास। मध्यराति सम्पन्न साधारण सभाबाट चतुरबहादुर चन्द अध्यक्ष, महासचिवमा अशोकनाथ प्याकुरेल चयन। 
२०७२ पुस २४– राखेपले उक्त निर्वाचित क्यानलाई आफ्नो अनुमति नभएको भन्दै रमेशकुमार सिलवालको अध्यक्षमा तदर्थसमिति गठन। 
२०७३ बैशाख १३ गते– सरकारी हस्तक्षेत्र र अनियमितताको आरोपमा आइसीसीद्धारा क्यानमाथि प्रतिबन्ध।
२०७३ कार्तिक– विवाद समाधान र नयाँ विधान बनाउँन विनयराज पाण्डेको अध्यक्षतामा सल्लाहकार समिति गठन। निर्वाचित क्यानको असन्तुष्टि। सल्लाहकार समितिमा असहभागिता।
२०७३ फागुन– निर्वाचित समुहका चतुरबहादुर चन्द र अशोकनाथ प्याकुरेल सल्लाहकार समितिमा सहभागी। 
२०७४ भदौ ६ गते– सल्लाहकार समितिले बनाएको नयाँ विधान, काठमाडौंमा भएको क्यानको विशेष साधारण सभाले संशोधन सहित पारित। सोही विधान अनुरुप ३७ जिल्लामा निर्वाचन। तर, आइसीसीले साधारण सभाले गरेको संशोधन मानेन्। 
२०७५ बैशाख ५ गतेः  क्यानको विशेष साधारण सभाले सल्लाहकार समितिले बनाएको विधान हुबहु पारित। 
२०७५ जेठ २४– पारित विधानअनुसार जिल्लामा चुनाव भए नभएको हेर्न र विधानअनुसार नभएको ठाउँमा पुनः चुनाव गर्न, संघ र केन्द्रको चुनावको जिम्मासहित अनुगमन समिति गठन। उक्त स्वतन्त्र समूहको सक्रियतामा जिल्ला र प्रादेशिक चुनाव गर्नुपर्ने।

२०७६ भदौं २१– जिल्लासँगै सम्पूर्ण प्रादेशिक चुनाव सम्पन्न। 

२०७६ भदौं २५– केन्द्रीय निर्वाचन असोज ३-४ गते गरिने भन्दै स्वतन्त्र समितिद्वारा सार्वजनिक सुचना गरि। सोहीदिन नै स्वतन्त्र समितीका सदस्य राजेश्वर श्रेष्ठलाई बोलाउँदै सदस्य सचिव रमेश सिलवालले आफूहरुको स्वीकृति नलिइ सुचना जारी गरेको, २१ दिने सुचना दिनुपर्ने, निर्वाचन मण्डल आफूले पठाउने लगायतका शर्तहरु राखेपछि अन्योल श्रृजना।

२०७६ भदौं ३०– राखेप, आइसीसी प्रतिनिधि र स्वतन्त्र कमिटीबीच असोज १० र ११ गते चुनाव गर्ने सहमति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .