खेल


अन्जन विष्ट: जसले २९औं खेलमा गरेको डेब्यू गोलले इतिहास रच्यो

अन्जन विष्ट: जसले २९औं खेलमा गरेको डेब्यू गोलले इतिहास रच्यो

यज्ञराज जोशी
भदौ २४, २०७६ मंगलबार १५:१६,

यो जित ऐतिहासिक किन थियो भने, फिफा विश्वकपको दोस्रो चरणमा नेपालले हात पारेको यो पहिलो जित हो। यस्तै होम एण्ड अवेमा छनोट शुरु भएपछि पनि यो पहिलो जित थियो।

यस पटक फिफा वरियतामा एसियाको शीर्ष ३४ भित्र परेपछि नेपालले सोझै दोस्रो चरणमा प्रवेश पाएको हो। जुन चरणमा नेपालले पहिलो जित हात पार्‍यो।

यो स्वीडिस प्रशिक्षक योहान कालिनले नेपाली टोली सम्हालेयताको पहिलो जित समेत हो। गतवर्ष माघमा उनले नेपाली टोली सम्हाले नेपालले खेलेका ६ खेलमा पहिलो जित हात पारेको हो। विश्वकप छनोटकै पहिलो चरणमा ६ दिनअघि कुवेतविरुद्ध ७–० ले स्तब्ध भएको नेपालले उत्कृष्ट पुनरागमनका साथ फिफा वरियतामा ४१औं स्थानमाथिको चाइनिज ताइपेविरुद्ध शानदार जित हात पारेको हो।

विश्वकप छनोटः चाइनिज ताइपेविरुद्ध नेपालको शानदार जित 

नेपालले सन् १९८६ को मेक्सिको विश्वकपदेखि छनोट खेल्न थालेको हो। त्यसयता नेपालले आठौंपल्ट विश्वकप छनोट खेलिरहेको छ। अहिलेसम्म नेपालले विश्वकप छनोटमा ३२ खेल खेलेको छ। जसमा चाइनिज ताइपेविरुद्धको जित जोड्दा नेपालले जितेको खेल संख्या ५ पुग्यो।

यसअघि नेपालले मकाउ र इस्ट टिमोरलाई २-२ पटक हराउनु नै विश्वकप छनोटमा नेपालको ठूलो उपलब्धि थियो। सन् २००२ विश्वकपका लागि २००१ को मार्चमा भएको छनोटमा नेपालले मकाउलाई ४–१ गोलले गरेको थियो। विश्वकप छनोटमा नेपाललाई पहिलो सफलता दिलाउन निराजन रायमाझीले २, बसन्त थापा र हरि खड्काले १-१ गोल गरेका थिए।

त्यसै छनोटको मकाउविरुद्धको दोस्रो खेलमा पनि नेपालले ६–१ ले विजयी भयो। उक्त खेलमा निराजन रायमाझीले ह्याट्रिक गरे। विश्वकप छनोटमा ह्याट्रिक गर्ने उनी एकमात्रै नेपाली खेलाडी हुन्। उनले खेलको ३८, ४९ र ५६ मिनेटमा गोल गरेका थिए। खेलमा बालगोपाल महर्जनले ५२, दिपक लामाले ६७ र बसन्त थापाले ९० औं मिनेटमा गोल गरेका थिए।

२०१४ को विश्वकपका लागि २०११ मा भएको छनोटमा नेपालले थप दुई जित हात पार्‍यो। काठमाडौंको दशरथ रंगशालामा भएका इस्ट टिमोरविरुद्धका दुबै खेल नेपालले जितेको थियो। पहिलो खेलमा इस्ट टिमोरलाई २–१ ले गोल गर्दा अनिल गुरुङले १५ मिनेटमा र जुमानु राईले ७० औंमिनेटमा गरेका थिए।

दोस्रो खेलमा नेपालले ५–० ले विजयी हुँदा अनिल गुरुङले चौथो, भोला सिलवालले ५६, जुमानु राईले ५९, जगजित श्रेष्ठले ८९ र सुजल श्रेष्ठले ९० मिनेटमा गोल गरेका थिए।

ताइपेविरुद्धको जितका नायक अन्जन


ताइपेविरुद्धको नेपाली जितका नायक रहे, मिडफिल्डर अन्जन विष्ट। नेपालका झै उनका लागि पनि यो ऐतिहासिक खेल बन्यो। नेपालका लागि २९औं खेल खेल्दै उनले यसै खेलमा डेब्यू गोल गरेका थिए। नेपालको जितका दुवै गोल उनको नाममा रहे।

कुवेतविरुद्ध ७–० ले पराजित हुँदा उनी प्रशिक्षक कालिनको पहिलो रोजाईमा परेका थिएनन्। ताइपेविरुद्ध भने उनले अनुभवी विक्रम लामाको स्थान लिए। प्रशिक्षकको विश्वास जित्दै उनले आफूलाई प्रमाणित समेत गरे।

खेलको तेस्रो मिनेटमा अन्जनको झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार गोलमा परिणत भयो। यस्तै ६२ औं मिनेटमा रवी पासवानको पासमा सुजल श्रेष्ठले हेडरमार्फत मिलाईदिएको पासमा अन्जनले दोस्रो गोल गर्दै नेपालको जितको कथा कोरे।

जितसँगै नेपाल अंक तालिकाको पुछारबाट तेस्रो स्थानमा उक्लिएको छ। नेपाल रहेको समूह बीका कुवेत, जोर्डन शीर्ष दुई स्थानमा छन्। नेपालले अब असोज २४ गते अष्ट्रेलियाविरुद्ध उसैको भुमिमा खेल्नेछ।

दाजुको प्रेरणामा फुटबलमा

अन्जनले फिलिपिन्सविरुद्ध कतारमा २०१४ मा भएको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए। उमेर समूहका प्रतियोगितामा छाप छाड्दै अन्जन सिनियर टोलीमा जमेका हुन्। 

हेटौंडाका अन्जन दाजु रन्जनको प्रेरणामा फुटबलमा लागेका थिए। दाजु रन्जनले पनि राष्ट्रिय टोलीबाट खेलिसकेका छन्। दाईका पछिपछि लाग्दै सानै उमेरबाट अन्जनले पनि बलसँगको साइनो गासे। २०१३ को यू–१६ साफ च्याम्पियनसिपमा उनी पहिलो पटक उमेर समूहको प्रतियोगितामा देखिएका थिए। 

दाजु रन्जन (९ नम्बर)का साथमा अन्जन

नेपालमै उक्त साफ यू–१६ च्याम्पियनसिपमा नेपाल उपविजेता भएको थियो। सेमिफाइनलमा बंगलादेशलाई हराउँदा उमेर समूहमा अन्जनले पहिलो गोल गरेका थिए। तर, भारतसँग भने नेपाल फाइनलमा १–० ले हार्दै उपविजेतामा सीमित रह्यो। अन्जनको पहिलो अन्तर्राष्ट्रिय मेडल त्यही थियो।

अर्को वर्ष अन्जनले एएफसी यू–१६ च्याम्पियनसिप खेले। त्यसपछि २०१५ को साफ यू–१९ च्याम्पियनसिपको उपाधि भारतलाई हराएर उपाधि जितेपछि अन्जनको करिअर उकालो लाग्यो। त्यसबेला भुकम्पले देशलाई थिलथिलो बनाएको थियो। अन्जन तथा कम्पनीले दिलाएको सफलताले देश दुखेका बेला मल्हमको काम गरेको थियो।

२०१६ मा अन्जनले नेपालबाट बंगबन्धु गोल्डकप तथा १२औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण जिते। त्यही नै राष्ट्रिय टोलीबाट उनका ठूला उपलब्धि हुन्। 

यो पनि: सावित्राको निर्णायक गोलसँगै नेपाल नादेझ्दा कपको फाइनलमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .