हाल बार्साले नेमार जुनियर अनुबन्ध गर्ने प्रयास गरिरहेको छ। नेमारले पीएसजी छाड्ने अभिव्यक्ति दिएपछि बार्साका प्रतिनिधि र पीएसजीबीच छलफल नभएका पनि होइनन्।
यद्यपी दुवै क्लब टुंगोमा पुग्न सकेका छैन्। आगामी सोमबार ट्रान्सफर विन्डो समाप्त हुँदैछ। त्यस समयसम्म नेमार र पीएसजीले सम्झौता गरिसक्नुपर्छ नत्र नेमारले यस सिजन पीएसजीबाटै खेल्नु पर्ने हुन्छ।
पीएसजीका खेल निर्देशक लियोनार्दोले भने,‘बार्सासँग सम्झौता हुन सकेन किन भने हाम्रो प्रस्ताव बार्साले मानेन। यद्यपी छलफल भने जारी छ। हामी नेमारबारे खुलेरै कुराकानी गर्न तयार छौं।’
उनले भने,‘यदी नेमारका लागि राम्रो प्रस्ताव आयो भने हामी उसलाई पठाउन तयार छौं।’
बीबीसीका अनुसार बार्सिलोनाले जिन–क्लेर टोडिबो, इभान राकिटिक तथा ओउसमान डेम्बेलेसँग नेमार साट्न आग्रह गरेको थियो। उक्त आग्रह पीएसजीले सुरुमै अस्वीकार गरेको थियो।
त्यसपछि केही खेलाडीसहित केही रकम दिने सर्त बार्साले पीएसजी सामु राख्यो। त्यो पनि पीएसजीले अस्वीकार गर्यो।
अन्तमा बार्साले केही खेलाडीसहित केही रकम दिएर नेमार बार्सामा लोनमा ल्याउन चाहिरहेको छ। लियोनार्दोका अनुसार यो प्रस्ताव पीएसजीका लागि चित्तबुझ्दो छैन।
सन् २०१७ मा पीएसजीले नेमार बार्साबाट २२२ मिलियन युरोमा अनुबन्ध गरेको थियो। हाल पीएसजी नेमारको सट्टामा पैसामात्र चाहने मुडमा रहेको बताइएको छ। सोही कारण पीएसजीले विभिन्न प्रस्तावहरु टुक्राइरहेको छ।
नेमारको भविष्यबारे अन्यौलता भइरहँदा उनलाई लिग वानको कुनै खेलमा यसपटक समावेश गरिएको छैन। एजेन्सी

प्रतिक्रिया