खेल


साम्बा शनिबार कतार जाने, अस्पेटार अस्पतालमा शल्यक्रिया हुने

साम्बा शनिबार कतार जाने, अस्पेटार अस्पतालमा शल्यक्रिया हुने

नेपालखबर
असार ८, २०७८ मंगलबार ७:१६,

राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपीएफ क्लबकी फरवार्ड सावित्रा भण्डारी साम्बा आगामी शनिबार उपचारका लागि कतार जाने भएकी छिन्।

चोटका कारण करिब ४ महिनादेखि मैदानबाहिर रहेकी साम्बाको कतारस्थित अस्पेटार अस्पतालमा शल्यक्रिया हुँदै छ।

उनी आगामी शनिबार राति १० बजे नेपाल वायुसेवा निगमकाे जहाजमार्फत जानेछिन्।

नेपालबाट सबै प्रक्रिया पूरा भए पनि कोरोना संक्रमणका कारण भएको लकडाउन तथा कतारबाट उपचारको मिति पाउन ढिला भएकाले उपचारमा ढिलाइ भएको अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए।

शल्यक्रियापछि उनलाई मैदान फर्किन अझै ९ महिना लाग्ने फिजियोथेरापिस्ट नविना श्रेष्ठले बताइन्।

उनको शल्यक्रियाको मिति भने अझै टुंगो लागेको छैन। कतार पुगेपछि पनि केही समय फिजियो गराएपछि मात्रै शल्यक्रियाको मिति तय गरिने श्रेष्ठले बताइन्।

सावित्राले गत फागुन ३ गते राष्ट्रिय महिला लिगका दौरान नेपाल पुलिस क्लबविरुद्धको खेलमा चोट बोकेकी थिइन्। पुलिसविरुद्ध खेलको ७९औँ मिनेटमा ल्यान्डिङ गर्ने बेलामा सन्तुलन नमिल्दा घाइते भएकी थिइन्।

दायाँ घुँडामा चोट लागेपछि बीएन्डबीमा एमआरआई गराउँदा घुँडामा एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल), मिनिस्कससहित अन्य चोट पनि लागेको देखिएको थियो।

त्यसयता उनी अहिले फिजियोथेरापिस्ट श्रेष्ठसँग नियमित फिजियोथेरापी गराइरहेकी छिन्।

महिला लिगमा ४३ गोल गरेकी सावित्रा सर्वाधिक गोलकर्ता बनेकी थिइन्। चोटपछिका बाँकी २ खेलमा उनी वैशाखीकै सहारामा खेल हेर्न मैदान पुगेकी थिइन्।

राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक ३८ गोल गरेकी सावित्राको झण्डै ७ वर्षे खेल जीवनमा पहिलो पटक यति गम्भीर चोट बोकेकी हुन्।

उस्तै प्रकृतिका चोट बोकेका विमल घर्ती मगर हाल उपचारको क्रममा कतारमा नै छन्।

यो पनि –
१. ‘गोल मेसिन’ साम्बा एक वर्ष मैदानबाहिरै रहने
२. साम्बाको रफ्तारमा चोटले लगाएको ब्रेक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad