खेल


विश्वकप छनोटः चाइनिज ताइपेविरुद्ध नेपालले सुरुवातमै लियो अग्रता

विश्वकप छनोटः चाइनिज ताइपेविरुद्ध नेपालले सुरुवातमै लियो अग्रता

नेपालखबर
जेठ २०, २०७८ बिहिबार १६:१८,

फरवर्ड अन्जन विष्टको गोलमा नेपालले फिफा विश्वकप छनोटको दोस्रो चरणको खेलमा चाइनिज ताइपेविरुद्ध पहिलो हाफमा १–० ले अग्रता बनाएको छ।

कुवेतस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा जारी खेलको चौथो मिनेटमा नै फरवर्ड अन्जन विष्टले गोल गर्दै सुरुवाती अग्रता दिलाएका हुन्।

ताइपेका खेलाडीले पेनाल्टीबक्स भित्र ह्यान्ड गरेपछि रेफ्रीले नेपाललाई पेनाल्टी दिएका थिए। यो सँगै अन्जनले विश्वकप छनोटमा तेस्रो गोल गर्न सफल भएका छन्। पहिलो हाफमा दुवै टोलीले गोल गर्ने मौका पाए पनि सदुपयोग भने गर्न सकेनन्।

यसअघि सेप्टेम्बर १० मा भएको विश्वकप छनोटको पहिलो भेटमा नेपालले चाइनिज ताइपेलाई उसकै मैदानमा २–० ले हराएको थियो। विश्वकप छनोटको समुह चरणको पहिलो भेटमा नेपालले चाइनिज ताइपेलाई हराउँदै पहिलो जित निकालेको थियो। नेपालको जितमा दुवै गोल अन्जन विष्टले नै गरेका थिए।

नेपाल र चाइनिज ताइपेबीच पहिलो पटक सन् २०१९ मा मैत्रीपुर्ण खेलमा भेट भएको थियो। पहिलो मैत्रीपुर्ण खेलमा दुवै टोलीले एक एक को बराबरी खेलेका थिए।

सो खेलमा नेपालका तर्फबाट अभिषेक रिजालले गोल गरेका थिए। नेपाल र चाइनिज ताइपेबीच तेस्रो पटक भेट भएको हो।

विश्वकप छनोटका ५ खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० ले हराउनुबाहेक बाँकी सबै टोलीसँग पराजित भएको थियो। चाइनिज ताइपेई १ सय ४१औँ र नेपाल १ सय ७१औँ स्थानमा छ।

नेपालले जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्दै विश्वकप २०२२ र एसिया कप २०२३ को छनोटको यात्रा सक्नेछ।

समूह चरणमा नेपाल ३ अंकसहित चौथो स्थानमा छ। अष्ट्रेलियाको १२ अंक छ भने जोर्डन र कुवेतको समान १० अंक छ। नेपालभन्दा पछि रहेको चाइनिज ताइपेई अंकबिहीन छ।

कुवेतसँग पहिलो खेलमा ७–० को हार व्यहोरेको नेपालले दोस्रो खेल पनि १–० ले गुमाएको थियो। नेपाल अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० ले पराजित भएको थियो।

यता समुह चरणमा चाइनिज ताइपेले कुनै जित निकाल्न सकेको छैन। जोर्डनसँगको पहिलो खेल २–१ गुमाएको चाइनिज ताइपेले दोस्रो भेटमा ५–० को फराकिलो हार भोगेको थियो। यस्तै अष्ट्रेलियासँग ७–१, कुवेतसँग ९–० को फराकिलो अन्तरले पराजित भएको थियो।

एसियाको पावर हाउसका रुपमा रहेको अष्ट्रेलिया फिफा वरीयताको ४१औँ स्थानमा छ भने जोर्डन ९५ औँ स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .