ad ad

खेल


सन्तुलित टोलीका बाबजुद बुटवल लुम्बिनीलाई नफापेको एनएसएल

सन्तुलित टोलीका बाबजुद बुटवल लुम्बिनीलाई नफापेको एनएसएल

लक्ष्मी जि.सी
जेठ ५, २०७८ बुधबार ११:३०,

पहिलो फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल)को तयारीका क्रममा सहभागी टोली विदेशी खेलाडी भित्र्याउने प्रयासमा थिए।

बुटवल लुम्बिनी एफसीले अक्सनबाट लिएका खेलाडी सार्वजनिक गर्ने क्रममा राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान राजुकाजी शाक्यले भनेका थिए, ‘जुन टोलीले राम्रो विदेशी खेलाडी लिनसक्छ, त्यही टोलीले उपाधि जित्ने सम्भावना बढी हुन्छ।’

चार दशक लामो समय फुटबलमा बिताएका शाक्यको त्यो अुनमान गत साता एनएसएल सम्पन्न हुँदा धेरै हदसम्म सही साबित भयो।

फाइनलको एकमात्र गोल विदेशी खेलाडीले नै गरे। काठमाडौं रेजर्सलाई उपाधि दिलाउन अफ्रिकन मूलका मेसुकेले गरेको गोल नै निर्णायक बन्यो। धनगढी एफसीलाई १–० ले निराश पार्दै काठमाडौं पहिलो संस्करणको च्याम्पियन बनेको थियो।

butwal lumbini nsl2021g

मेसुकेले फाइनलमा गोल मात्र गरेका होइनन्, उनले एनएसएल भरमा ८ गोल गरे। उनी एसएलको सर्वाधिक गोलकर्ताका साथै उत्कृष्ट मिडफिल्डर पनि चुनिए।

त्यस्तै लिगको पहिलो गोल पनि विदेशी खेलाडीले नै गरेका थिए। त्यहीँबाट पनि एनएसएलमा विदेशी खेलाडीको प्रभावलाई अनुमान गर्न सकिन्छ।

मेसुकेसँगै काठमाडौंका साथ अन्य दुई विदेशी खेलाडी थिए। जसले धेरै हदसम्म काठमाडौंको सफलताको आधार खडा गरेका थिए। टोलीका अन्य नेपाली खेलाडीको भूमिका पनि उत्तिकै महत्वपूर्ण रह्यो।

विदेशी खेलाडी नै टोलीको प्रदर्शनका मुख्य हतियार हुनसक्ने अनुमान गरेका शाक्य भने यसपटक प्रशिक्षकको भूमिकामा थिएनन्। उनलाई बुटवलले जनरल मेनेजरको भूमिकामा टोलीका साथ राखेको थियो।

यद्यपि टोलीको हरेक खेलमा शाक्य प्लेयर बक्स वा टेक्निकल एरियामा हुन्थे। टोलीको प्रशिक्षकका रुपमा सनोज श्रेष्ठले जिम्मेवारी सम्हालेका थिए।

butwal lumbini nsl2021b

बुटवल लुम्बिनीले अपेक्षा गरेअनुसार विदेशी खेलाडी प्रभावकारी हुन नसकेकै कारण प्ले–अफबाट बाहिरिन पुग्यो।

लिग चरणमा मिश्रित प्रदर्शन गरेको टोली प्ले–अफमा ललितपुर एफसीसँग १–० ले पराजित हुँदै एनएसएलबाट बाहिरिएको थियो।

चौथो स्थानमा रहँदै बुटवलले पहिलो संस्करणको यात्रा अन्त्य गरेको थियो।

प्ले–अफअघि पहिलो चरणमा ६ खेलमा बुटवलले २ खेलमा जित, २ खेलमा बराबरी र २ खेलमा हार व्यहोर्दै ८ अंक जोडेको थियो।

प्ले–अफमा पुग्नका लागि बुटवलले लिग चरणको अन्तिम खेल जित्नैपर्ने बाध्यता थियो। टोलीले चाहेजस्तै नतिजा निकाल्ने क्रममा धनगढीलाई १–० ले हरायो।

त्यही जितले समान अंक भए पनि हेड टु हेडमा पोखरा थन्डर्सलाई पछि पार्दै बुटवल प्ले–अफ पुग्न सफल भएको थियो।

लिग चरणमा टोलीले विराटनगर सिटी एफसीसँग २–२ को बराबरीलाई एनएसएलको उत्कृष्ट खेलमध्येको एक मानिएको छ।

butwal lumbini nsl2021c

टोलीका मार्की खेलाडी तथा गोलरक्षक विशाल श्रेष्ठले समग्रमा टोलीको प्रदर्शन सन्तोषजनक रहेको बताए।

उनले भने, ‘समग्रमा लिग राम्रो भयो। सबैले मिहिनेत गरेर प्ले–अफसम्म पुग्यौँ। दुर्भाग्य त्यहाँबाट अघि बढ्न सकेनौं।’

विशाल व्यक्तिगत रुपमा आफ्नो प्रदर्शन पनि ठीकै रहेको मान्छन्। हप्ता १० दिनको तयारीका कारण टोली राम्रोसँग सेट हुन नपाएको उनको भनाइ छ।

‘हामीले शतप्रतिशत दिएका थियौँ’, विशालले भने, ‘मैले आफ्नो भूमिका ठीकै निर्वाह गरेँ भन्ने लाग्छ।’

उनले भनेझैँ सुपर लिगको सुरुवातमा बुटवलको प्रदर्शन राम्रो थियो तर बीचमा स्कोरिङमा समस्या देखियो।

सोही कारण अगाडि बढ्न नसकिएको उनको स्वीकारोक्ति छ।

butwal lumbini nsl2021a

सुरुवाती खेलमा टोलीका लागि प्रभावकारी देखिएका अमिर श्रेष्ठ घाइते भए। यसले पनि टोलीको अघि बढ्ने सपनामा ठूलो धक्का दियो।

पछि टोलीले विदेशी खेलाडीको स्थानमा राष्ट्रिय टोलीका फरवार्ड अभिषेक रिजाललाई भित्रायो तर उनीबाट अपेक्षाअनुसारको प्रदर्शन हुन सकेन।

पहिलो संस्करणमै मार्की खेलाडीका रुपमा आबद्ध हुन पाउँदा खुसी लागेको बताएका विशालले थपे, टेक्नीकल टिम, म्यानेजमेन्टसँग बसेर काम गर्दा खुसी लाग्यो धेरै सिक्न पायौं।

घरेलु फुटबलमा यसअघिको भन्दा फरक अनुभव रहेको सुनाउँछन् विशाल।

‘यसअघिको लिगमा क्लबमा जाँदा पहिला डिल, क्लब र अन्य खेलाडी हेरेर जान्थ्यौँ तर अहिले अक्सनमा जाँदा आफूले चाहेको खेलाडी पाइन्छ नै भन्ने नहुने’, उनले भने, ‘अक्सनबाट लिइएका खेलाडीबाट टोली बनाउनुपर्ने अवस्था थियो। सकेसम्म हामीले अक्सनबाट पनि सन्तुलित टोली पाएका थियौँ।’

विदेशी खेलाडीको आगमनले एनएसएल प्रतिस्पर्धात्मक भएको विशालले बताए। ‘विदेशी खेलाडीको आगमनले हामीलाई पनि फाइदा पुगेको छ’, उनले भने।

butwal lumbini nsl2021f

सुपर लिगमा विराटनगरका पेड्रो मान्जी प्रभावशाली रहेको विशालको ठम्याइ छ। अन्य विदेशीले भने विस्तारै टोलीसँग घुलमिल गरेर प्रदर्शन गरेको उनले बताए।

अक्सनमा बिक्री नभएपछि चोटग्रस्त खेलाडीको सट्टा एनएसएल सुरु हुनै लाग्दा बुटवलमा आबद्ध भएर कप्तानी समेत सम्हालेका विराज महर्जनले विगतभन्दा फरक अनुभव बटुल्ने मौका मिलेको बताए।

चैतमा थ्री नेसन्स कपको फाइनलमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका राष्ट्रिय टोलीका पूर्वकप्तान समेत रहेका विराजले भने, ‘हाम्रो टोलीमा धेरै जुनियर खेलाडी थिए, ए डिभिजन खेलेका खेलाडी पनि कम जसको कारण केही अनुभवको कमी त देखिने नै भयो। फरवार्ड र मिडफिल्डरबीचमा तालमेल मिल्न लामो समय लाग्यो।’

फुटबलमा कर्पोरेट हाउसको प्रवेशलाई उनी सकारात्मक सुरुवात भएको मान्छन्। कर्पोरेट हाउसको आगमनले विगतभन्दा खेलाडीहरुले फरकखाले एक्स्पोजर पाए भन्ने लाग्छ।

butwal lumbini nsl2021e

‘नयाँ प्रयोग भयो नयाँ खेलाडीले राम्रो प्रदर्शन गरे’, उनले भने, ‘नयाँ खेलाडीले आफ्नो प्रतिभाव प्रस्तुत गर्ने मौका पाए। यसले राष्ट्रिय फुटबल विकासमै मद्दत पुग्छ भन्ने विश्वास लिएको छु।’

टोलीका मुख्य प्रशिक्षक श्रेष्ठले छोटो तयारी, एक खेल र अर्को खेलको बीचमा रिकभरी टाइम कम भए पनि टोलीको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताएका थिए। अन्य प्रशिक्षकले जस्तै रेफ्रीहरुको खराब निर्णयको शिकार आफूहर पनि भएको गुनासो उनले पनि गरेका थिए।

जनरल मेनेजर शाक्यले घरेलु फुटबलको व्यावसायिक विकासका लागि एनएसएल एउटा राम्रो प्रयास भएको बताएका छन्। बुटवलको प्रदर्शनका बारेमा उनले भने, ‘टोलीले सक्ने जति मिहिनेत गरेको हो तर प्ले–अफको सुरुवातबाटै बाहिरिन पुग्यौँ।’

(सबै तस्बिरः बुटवल लुम्बिनी एफसी/फेसबुक पेज)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .