ad ad

खेल


चुस्त व्यवस्थापनमा समापन भयो सुपर लिग, आयोजक भन्छः निरन्तरताको चुनौती थपियो

चुस्त व्यवस्थापनमा समापन भयो सुपर लिग, आयोजक भन्छः निरन्तरताको चुनौती थपियो

लक्ष्मी जि.सी
जेठ २, २०७८ आइतबार १६:५५,

घरेलु फुटबलमा नयाँ प्रयोगका साथ फ्रेन्चाइज फुटबल खुकुरी नेपाल सुपर लिग शनिबार सम्पन्न भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्दै आएको ए डिभिजन लिगलगायतका अन्य फुटबल प्रतियोगिताभन्दा फरक शैलीमा आयोजना भएको एनएसएलले घरेलु फुटबललाई थप व्यावसायिक बनाउन मद्दत पुगेको विश्वास गरिएको छ।

यद्यपि एनएसएल आगामी दिनमा कसरी अघि बढ्छ अहिले नै एकीनसाथ भन्न सकिने अवस्था छैन।

तीन सातासम्म भएको एनएसएलको उपाधि शनिबार काठमाडौं रेजर्सले जितेको थियो। धनगढी एफसीलाई १–० ले हराउँदै काठमाडौं पहिलो संस्करणको च्याम्पियन बनेको हो। काठमाडौंले उपाधिसहित ३५ लाख प्राप्त गर्दा धनगढीको भागमा १५ लाख रुपैयाँ पर्यो।

फाइनल पुगेका यी दुई टोलीसहित ७ टोलीले एनएसएलमा भाग लिएका थिए। पहिलो चरणका २१ खेलबाट फाइनल पुग्ने टोलीसँगै बुटवल लुम्बिनी एफसी र ललितपुर सिटी एफसी प्ले अफ पुग्न सफल भएका थिए। पोखरा थन्डर्स, विराटनगर सिटी एफसी र एफसी चितवन भने पहिलो चरणबाटै बाहिरिएका थिए।

NepalSuperLeague final 2

तेस्रो भेटमा धनगढीमाथि जित हासिल गर्दै काठमाडौं च्याम्पियन बन्न सफल भएको थियो। एनएसएलकै पहिलो चरण र प्ले अफ दुवैमा धनगढी विजयी भएको थियो। काठमाडौं फाइनलमा पुगेर अघिल्ला दुई खेलमा भोगेको हारको बदला समेत लिन सफल भएको हो।

धनगढीसँग पहिलो प्ले अफमा पराजित काठमाडौंले एलिमिनेटरमा ललितपुरलाई हराउँदै फेरि धनगढीसँगको फाइनल भेट पक्का गरेको थियो। पहिलो चरणमा ६, प्ले अफ, इलिमिनेटर र फाइनल गरेर काठमाडौं सर्वाधिक ९ खेल खेल्ने टोली समेत बन्यो।

कप्तानी सम्हालेको पहिलो प्रतियोगितामै गोलकिपर समेत रहेका विकेश कुथु टोलीलाई उपाधि दिलाउन सफल रहे। समकालीन प्रशिक्षकमा सफल बालगोपाल महर्जनले पहिलो संस्करणकै एनएसएल दिलाउन सफल भए। एनएसएलमा टोलीका विश्वास श्रेष्ठ उदीयमान र विदेशी खेलाडी मेसुके उत्कृष्ट मिडफिल्डर चुनिए।

धनगढीका दिनेश राजवंशी उत्कृष्ट डिफेन्डर, धनगढीका कप्तान तथा आइकोनिक खेलाडी किरण चेम्जोङ उत्कृष्ट गोलरक्षक चुनिए। किरणले एनएसएलमा ७ गोल खाएका थिए। ललितपुरका अन्जन विष्ट उत्कृष्ट फरवार्ड घोषित भए।

समग्रतामा सफल मानिएको एनएसएलमा केही कमजोरी हुँदा भविष्यका लागि केही चुनौती पनि थपिएको महसुस गरिएको छ। खासगरी केही खेलमा रेफ्रीका निर्णयलाई लिएर प्रशिक्षकले चर्को आलोचना गरेका थिए। ललितपुरसँगको खेलमा रेफ्रीको निर्णयको विरोधमा विराटनगरका खेलाडीले झण्डै ७ मिनेट मैदान छाडेका थिए।

NepalSuperLeague final 3

कर्पोरेट हाउसलाई फुटबलमा समेट्ने प्रयास
घरेलु फुटबलमा पहिलोपटक खेलाडीको अक्सन एनएसएलमै भयो। भारतीय सुपर लिगको मोडलमा भएको एनएसएलले कर्पोरेट हाउसलाई फुटबलमा समेट्ने प्रयास गर्नुलाई सकारात्मक रुपमा हेरिएको छ।

आर्थिक रुपमा हेर्ने हो भने यसबाट सबैभन्दा लाभान्वित खेलाडी नै भएका छन्। कतिपय खेलाडीले एनएसएलकै प्रदर्शनले पहिलोपटक राष्ट्रिय फुटबल टोलीको ढोका खोल्ने आशा पलाएको छ।

एनएसएलको चुस्त व्यवस्थापनले अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने सहिद स्मारक ए डिभिजन लिगमाथि चुनौती बढाएको पनि आकलन गरिएको छ।

बुटवल लुम्बिनीका व्यवस्थापक राजुकाजी शाक्यले एनएसएल आफैँमा सफल आयोजना भए पनि भविष्यमा कस्तो हुने, त्यो बढी महत्वपूर्ण हुने बताए।

‘फुटबलमा गर्नुपर्ने यस्तै हो। यो सफल रुपमा आयोजना भएको छ। तर कुनै पनि देशमा दोहोरो लिग भने हुँदैन’, उनले भने, ‘छिमेकी भारतले गरेजस्तै यहाँ पनि गरियो। तर अब भविष्यमा एन्फाले यसलाई कसरी अघि बढाउने योजना बनाउनेछ, त्यो हेर्नुपर्ने हुन्छ।’

शाक्यले एनएसएलको हकमा भने भविष्यमा काठमाडौंबाहिर लानुपर्ने सुझाव समेत दिए।

एन्फासँगको सहकार्यमा भविष्यमा एनएसएल होम एण्ड अवेमा जान सक्यो भने अझै राम्रो हुन्छ।

‘काठमाडौंबाहिर धेरै ठाउँमा रंगशाला तयार भएका छन्, त्यहाँ पनि फ्लड लाइट राखेर गर्नसके नेपाली फुटबल विकासमा टेवा पुग्नेछ’, उनको सुझाव छ, ‘सातामा एउटा टोलीलाई बढीमा २ खेल खेलाउन सकिन्छ। त्यसले खेलाडीलाई रिकभरी टाइम मिल्छ। यसपटक छिटो सकाउनुपर्ने कारणले धेरै खेलाडीले रिकभरी टाइम नै पाएनन्।’

शाक्यले जस्तै अधिकांश प्रशिक्षकले छोटो विश्राममा खेल्नुपर्दा रिकभरी टाइम नमिलेको गुनासो गरेका थिए। ललितपुरले दोस्रो प्ले अफ जितेको भोलिपल्टै एलिमिनेटर खेल्नुपरेको थियो।

धनगढीका मालिक सुवास शाहीले भने, ‘पहिलो संस्करणमा नै उपविजेता बन्न सफल भयो, यो सुरुवातमात्रै हो। हाम्रो उद्देश्य खेलकुदका माध्यमबाट सुदूरपश्चिमसँगै देशको अर्थतन्त्र उकास्नु हो।’

कोरोनाले थिलोथिलो बनेको नेपाली अर्थतन्त्रलाई उकास्न पनि खेललाईं उद्योगका स्थापित गर्नु जरुरी रहेको औँल्याउँदै उनले त्यसमा एनएसएलले ठूलो टेवा पुर्याएको बताए।

NepalSuperLeague final 4

के भन्छ आयोजक?
एन्फाको प्राविधिक सहयोगमा भएको एनएसएल नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको हो।

सफलतापूर्वक आयोजना गर्न सफल भएकोमा आयोजक खुसी देखिएको छ। पहिलो संस्करणको सफलतासँगै एनएसएलको निरन्तरता र थप सफलताका लागि पनि उत्तिकै चुनौती थपिएको आयोजकले पनि बुझेको देखिन्छ।

‘एनएसएलले घरेलु फुटबललाई थप व्यावसायिक र खेलाडीको स्तर बढोस् भन्ने उद्देश्य हो। त्यसमा केही सफलता मिलेको अनुभव भएको छ’, एनएसएलका प्रमुख कार्यकारी अधिकृत सुदीप शर्माले भने, ‘लिग आयोजना गर्न धेरै गाह्रो थियो। कोरोनाको महामारीको दोस्रो लहरका कारण भएको निषेधाज्ञाकै बीचमा सम्पन्न गरेका छौँ। सबैको सहयोगले मात्र यो आयोजना गर्न सफल भएका हौँ।’

पहिलो संस्करणमा भएका केही कमजोरीलाई अर्को संस्करणमा सुधार गरिने पनि शर्माले विश्वास दिलाए।

‘रेफ्रीको निर्णयका कारण केही विवाद पनि भयो। त्यसबाट पनि केहि सिकेका छौँ’, उनले भने, ‘अर्को संस्करणमा नेपालीसँगै केही विदेशी रेफ्रीलाई पनि समावेश गराउने प्रयास गर्नेछौँ। त्यसले रेफ्रीहरुमा पनि अनुभव आदानप्रदानको माहोल बन्न सक्छ।’

पहिलो संस्करणलाई पहिलो खुड्किलोको रुपमा लिएका शर्मा भविष्यमा अझै राम्रो गर्दै जान सकिनेमा आशावादी छन्।

‘अर्को संस्करणमा केही टोली थप्नेछौँ’, उनले थपे, ‘काठमाडौंमा मात्र नभई पोखरा, विराटनगरलगायत अन्य सहरमा आयोजना गर्ने लक्ष्य राखेका छौँ।’

तथ्यांकमा एनएसएल
२५ खेल, १९ खेलमा जित हार (एक अतिरिक्त समयमा जित)
६ खेल बराबरी
५८ गोल (१ गोल आत्मघाती)
पहिलो हाफमा २४ गोल
दोस्रो हाफमा ३४ गोल
पहेँलो कार्ड–८१, रातो कार्ड–३
(दोहोरो पहेँलो कार्ड–२, सिधै रातो कार्ड–३)

सर्वाधिक गोलकर्ता
१. मेसौके ओलुमोउ –८ गोल (१ ह्याट्रिक)
२. पेड्रो मान्जी –४ गोल
३. ओलावाले आफिज – ४ गोल
४. स्टेफन विनोङ समिर– ३ गोल
५. अन्जन विष्ट – ३ गोल
६. सन्तोष तामाङ –३ गोल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .