अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीका प्रारम्भिक सदस्यहरुलाई बन्द प्रशिक्षणमा राखेको छ।
विश्वकप छनोट तथा इराकसँग हुने मैत्रीपूर्ण फुटबलअघि एन्फाले प्रारम्भिक रुपमा खेलाडी बोलाएर ‘क्लोज क्याम्प’मा राखेको हो।
दुवै खेलका लागि यसअघि नै क्लोज क्याम्प ट्रेनिङ सुरु गरिसकेको छ। प्रशिक्षणमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइएको एन्फाले जनाएको छ।
यही मे २९ मा नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेल्दै छ।
यसलाई चाइनिज ताइपेईसँग जुन ३ मा, जोर्डनसँग जुन ७ मा र अस्ट्रेलियासँग जुन ११ मा हुने दोस्रो चरणको विश्वकप छनोटको तयारीका रुपमा लिइएको छ।
को–को?
प्रशिक्षणमा राखिएका खेलाडीमा किरण कुमार लिम्बू (गोलरक्षक), दीप कार्की (गोलरक्षक), विशाल सुनार (गोलरक्षक)सहित अभिषेक रिजाल, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, दर्शन गुरुङ, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डांगी, नवयुग श्रेष्ठ, कमल थापा, रोहित चन्द, नितिन थापा, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सुमन लामन, सुनिल बल, सुरज जेउ ठकुरी, निशान खड्का, पुजन उपरकोटी, अमित तामाङ, सुमन अर्याल, आशिष लामा, आयुष घलान, विवेक बस्नेत, विकास खवास, रवि पासवान, राजीन धिमाल र अनन्त तामाङ रहेका छन्।
यद्यपि यो टोलीमा एन्फाले शनिबार मात्रै पहिलो सुपर लिग च्याम्पियन बनेको काठमाडौं रेजर्सका कुनै पनि खेलाडीलाई समावेश गरेको छैन।

प्रतिक्रिया