ad ad

खेल


सेन्ट्रल जोन भलिबलः नेपाललाई ऐतिहासिक अवसर

सेन्ट्रल जोन भलिबलः नेपाललाई ऐतिहासिक अवसर

यज्ञराज जोशी
भदौ १, २०७६ आइतबार ९:१३,

२०७३ चैत्रमा अन्तर्राष्ट्रिय सहभागिताको चार दशकपछि नेपाली भलिबलले पहिलो औपचारिक पदक प्राप्त गर्‍यो। माल्दिभ्समा भएको एसियन भलिबल फेडेरेसन (एभीसी) सेन्ट्रल जोन भलिबल प्रतियोगितामा प्राप्त गरेको काँस्य पदक नै नेपाली भलिबलको हालसम्मको एकमात्रै औपचारिक पदक हो।

सन् १९७६ मा पाकिस्तानमा भएको काइदे आजम भलिबल प्रतियोगितामार्फत नेपालको अन्तर्राष्ट्रिय सहभागिता शुरु भएको हो। त्यसको चार दशकपछि मध्य एसियाका तल्लो वरीयताप्राप्त देशहरुबीच प्रतिस्पर्धा हुने सेन्ट्रल जोन भलिबलमा नेपालले पदक प्राप्त गर्‍यो। पदक पाएको दुई महिनापछि मन्त्रीपरिषद्ले भलिबललाई नेपालको राष्ट्रिय खेल समेत घोषणा गरेको थियो।

राष्ट्रिय खेलको मान्यता पाएको दुईवर्ष पछि घरेलु मैदान हुन लागेको पाँचौ एभीसी सेन्ट्रल जोन भलिबलमा नेपाललाई इतिहास रच्ने अवसर छ। सोमबार(भाद्र २)बाट सुरु हुने प्रतियोगितामा यसपटक भने नेपालले कम्तिमा फाइनल पुग्दै इतिहास रच्ने लक्ष्य राखेको छ। 

nepal vollyball 2

‘यसपटक हाम्रा लागि ऐतिहासिक उपलब्धि हासिल गर्ने अवसर छ। यसपाली हाम्रो लक्ष्य कम्तिमा फाइनलमा पुग्नुहुनेछ,’ सेन्ट्रल जोनमा यसअघिका चारवटै संस्करण खेलेको नेपाली कप्तान इम रानामगर भन्छन्, ‘विदेशी प्रशिक्षक आएपछि हामी कमजोरीहरु सुधार्दै अघि बढेका छौं। घरेलु मैदानमा घरेलु दर्शकको साथले पनि लक्ष्यमा पुग्न सहयोग पुर्‍याउनेछ।’

ललितपुरको लगनखेलस्थित आर्मीको कभर्ड हलमा हुने प्रतियोगितामा नेपालसहित माल्दिभ्स, बंगलादेश, अफगानिस्तान, उज्वेकिस्तान, कीर्गिस्तान र तुर्कमिनिस्तान प्रतिस्पर्धा गर्दैछन्। गत संस्करणसँगै पहिलो संस्करण गरि तुर्कमेनिस्तानले दुई पटक तथा बंगलादेश र किर्गिस्तानले पनि १–१ पटक प्रतियोगिताको उपाधि उचालेका छन्। नेपाल भने सेमिफाइनल भन्दामाथि उठ्न सकेको छैन्।

Image may contain: 4 people, outdoor

यसै प्रतियोगिताका लागि नेपालले दुई महिना अघि नेदरल्याण्ड्सका प्रशिक्षक हान एबिङलाई झिकाएको थियो। नेदरल्याण्ड्स, जर्मन लगायतका देशमा प्रशिक्षणको अनुभव सम्हालेका एबिङको दुई महिनाको नेपाली टोलीको प्रशिक्षण गराए पश्चात गत हप्ता नेपालले अफगानिस्तानसँग अन्तिम तयारी स्वरुप दुईवटा मैत्रीपूर्ण खेल खेल्यो। दुईवटैमा नेपालले उत्कृष्ट जित निकालेपछि नेपाल अझै उत्साहित बनेको छ।

‘हामीले राम्रो तयारी गरेका छौं। अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा जितले पनि टोलीको मनोबल उच्च छ,’ अबिङले भने, ‘हामीले विपक्षी प्रतिद्वन्द्वीलाई कन्ट्रोल गर्न त सक्दैनौं तर आफ्नो राम्रो प्रदर्शनमा नचुक्नेमा हामी प्रतिबद्ध छौं। त्यसले अवश्य नतिजा दिनेछ। हामी एकपछि अर्को खेल जित्दै जाने प्रयास गर्नेछौं।’

अफगानिस्ताविरुद्धका दुबै मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपालले पुनरागमनसहित जित निकालेको थियो। पहिलो खेलमा पहिलो र चौथो सेट गुमाएपनि दोस्रो, तेस्रो र पाँचौ सेट आफ्नो पक्षमा पार्यो।

यो पनि: अफगानिस्तानमाथि नेपालको शानदार जित

उक्त खेलमा कप्तान इमसहित अर्का अनुभवी खेलाडी धनबहादुर भट्ट घाइते भएका थिए। जसकारण उनीहरुले दोस्रो मैत्रीपूर्ण खेल समेत गुमाए। उनीहरुको स्थानमा अवसर पाएका अन्य खेलाडीले प्रशिक्षक अबिङलाई निराश हुन दिएनन।

nepvsafganis

दोस्रो मैत्रीपूर्ण खेलमा पहिलो दुई सेटमा गुमाउँदै हारको संघारमा पुगेको नेपाली टोलीले सनसनीपूर्ण पूनरागमन गर्दै लगातार तीन सेट जितेर खेल आफ्नो पक्षमा पा¥यो।

‘टिममा रहेका १४ खेलाडी नै एक से एक छन्,’ उक्त खेलपछि प्रशिक्षक अबिङले भने, ‘पहिलो र दोस्रो सेटमा हामीले योजनाअनुसार प्रदर्शन गर्न सकेनौं तर त्यसपछि टोलीले टिमका रुपमा खेल्यो। खेलाडीहरुले आफूलाई इम्प्रुभ गरेका छन्। यो नेपालका लागि राम्रो लक्षण हो।’

कप्तान इमले आफूहरु चोटबाट मुक्त भैसकेको बताउँदै प्रतियोगिताका लागि तयार रहेको बताए। ‘एक्सरेमा खासै समस्या देखिएन। दोस्रो मैत्रीपूर्ण खेलमा आराम पश्चात म अभ्यासमा फर्किसकेको छु र प्रतियोगिताका लागि उत्साहित छु,’ इमले नेपालखबरसँग भने। 

किर्गिस्तानको चुनौती

nepvsafganis2
समूह ए मा रहेको नेपालले पहिलो खेल किर्गिस्तान दोस्रो खेलमा भने माल्दिभ्सको सामना गर्दैछ। नेपालको पहिलो भेट नै उद्घाटन दिन किर्गिस्तानसँग छ। किर्गिस्तान तेस्रो संस्करणको विजेता तथा दोस्रो संस्करणको उपविजेता पनि हो। किर्गिस्तानसँगका पछिल्ला ५ पटक भेटमा नेपाल चारपटक पराजित भएको छ।

गतवर्ष इन्डोनेसियाको जाकर्तामा भएको एसीयाली खेलकुदको १५औं वरीयताको लागि हुने खेलमा किर्गिस्तान अनुपस्थित रहेपछि आयोजकले नेपाललाई ३–० ले विजेता घोषणा गरेको थियो। किर्गिस्तानमाथि नेपालको एकमात्रै ‘वाक ओभर’मा पाएको जित हो।

तर, सेन्ट्रल जोनमा यसअघि भएका चार भेटमा नेपाल किर्गिस्तानसँग पराजित हुँदै आएको छ। कप्तान इम समूहमा माल्दिभ्स आफूस्तरकै टोली भएपनि किर्गिस्तानसँग उचाईको फाइदा रहेको बताउछन्।

‘माल्दिभ्सलाई यसअघि पनि हामीले हराउँदै आएका छौं। तर, उपाधि जितिसकेको किर्गिस्तानका खेलाडीहरु भने अग्ला कदका हुनाले त्यसको फाइदा उनीहरुलाई हुन्छ। प्राविधिक रुपमा पनि उनीहरु बलिया हुन्छन्। उनीहरुसँगको खेल प्रतिस्पर्धात्मक हुनेछ। हामी उनीहरुको चुनौतीका लागि तयार छौं,’ इमले भने। 

तयारी पूरा
एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल नेपालमा आयोजना हुन लागेको हालसम्मकै सबैभन्दा ठूलो भलिबल प्रतियोगिता समेत हो। नेपाल भलिबल संघले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भैसकेको बताएको छ।

संघका महासचिव जितेन्द्रबहादुर चन्दले सम्पूर्ण टोलीहरु नेपाल आइसकेको, उनीहरुलाई खान, आवास लगायतका सम्पूर्ण व्यवस्थापन मिलाइसकेको, खेल तालिका सार्वजनिक भैसकेको, प्राविधिक टोलीहरु समेत नेपाल आइसकेको र आयोजना स्थलपनि तयारी अवस्थामा रहेको जानकारी दिए।

Image may contain: 2 people

‘नेपालले पाएको ठूलो अवसरलाई ऐतिहासिक बनाउँन हामीले आयोजक समिति तथा उपसमितिहरु नै गठन गरेर जिम्मेवारी बाँडफाँड गरेका छौ,’ महासचिव चन्दले भने, ‘प्रतियोगितालाई भव्य बनाउँन कुनै कसुर बाँकी राख्नेछैनौं।’

लगनखेलमा रहेको आर्मी कभर्डहलमा भदौ ७ गतेसम्म हुने प्रतियोगिता हेर्न दर्शकहरुलाई भने निशुल्क व्यवस्था गरिएको छ। तर, आयोजकले हलको क्षमता अनुरुप निश्चित संख्यामा मात्रै दर्शकहरु प्रवेश गराउने जनाएको छ।

नेपालको समूह चरणको खेल तालिका
भदौ २ गतेः नेपाल भर्सेस किर्गिस्तान(दिउँसो ४ बजे)
भदौ ४ गतेः नेपाल भर्सेस माल्दिभ्स(दिउँसो ५ बजे)
भदौ ५ गतेः सेमिफाइनल (समूह ए विजेता भर्सेस समूह बी उपविजेता, समूह बी विजेता भर्सेस समूह ए उपविजेता)
भदौं ७ गतेः फाइनल (दुवै सेमिफाइनलको विजेता)

नेपाली टिमः
इम रानामगर (कप्तान), हरिहजुर थापा, ईश्वर थापामगर, विनोद चन्द, धनबहादुर) भट्ट, कुलबहादुर थापा, टेकराज अवस्थी, राजेन्द्र विष्ट, हरि अधिकारी, दुर्गा खडका, दीपकराज जोशी, विशाल विक, राजकुमार निरौला र नरेन्द्र गिरी।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .