खेल


अफगानिस्तानमाथि नेपालको शानदार जित

अफगानिस्तानमाथि नेपालको शानदार जित

नेपालखबर
साउन ३०, २०७६ बिहिबार १२:१२,

सैनिक तालिम केन्द्र लगनखेलमा बिहीबार भएको दोस्रो खेलमा उत्कृष्ट पूनरागमन जित निकाल्दै नेपालले दुबै खेल जितेको हो।

पहिलो दुई सेट गुमाएको अवस्थामा नेपालले लगातार तेस्रो,चौथो र पाँचौ सेट जित्दै खेल ३–२ ले आफ्नो पक्षमा पार्‍यो।

पहिलो सेट २५–२२ र दोस्रो सेट २५–१५ ले गुमाएको नेपालले तेस्रो र चौथो सेट समान २६–२४ र अन्तिम तथा पाँचौ सेट १५–१२ जित्यो।

प्रतिस्पर्धात्मक बनेको पहिलो सेट नेपालले ३ अंकले गुमाएको थियो। दोस्रो सेटमा नेपालको प्रदर्शन झनै खस्कियो। नेपालले १० अंकको अन्तरमा सेट हेर्दा १५ अंकमात्रै जोड्न सक्यो। नेपालले पटक पटक रिसिभमा खेल बिगार्दा २५–१५ ले खेल हारेको थियो।

nepvsafganis

दोस्रो सेटमा पहिलेदेखि नै अफगानिस्तानले सुरुवात लिएपनि नेपालले ६–६ को स्थितिमा खेल पुर्याएको थियो। त्यसपछि भने नेपाल खेलमा फर्कन सकेन।

तेस्रो सेट निकै रोमाञ्चक रह्यो। अफगानिस्तानको ८–४ अंक लिएपछि नेपालले खेलमा फर्कने प्रयास गरेको थियो। परिणाम, नेपालले खेल १८–१८ को स्थितिमा पुर्यायो।

२४–२३ को स्थितिमा नेपाललाई जितका लागि अन्तिम अंक आवश्यक थियो। त्यहीबेला दुर्गा खड्काले अंक जोडेपछि नेपाली खेलाडीहरुले सेट जितेको खुशी बाँडे। तर, लगत्तै रेफ्रिले फउल भएको भन्दै नेपाललाई अंक दिएन।

पुनः खेल सुरु भएको खेलमा अफगानिस्तानले अंक जोडेपछि सेट २४–२४ को रोमाञ्चक स्थितिमा पुग्यो। त्यसपछि नेपालले लगातार दुई अंक जोड्दै २६–२४ ले सेट आफ्नो पक्षमा पार्‍यो।

चौथो सेट शुरुदेखि नै प्रतिस्पर्धात्मक रह्यो। दुबै टोली एक एक अंक जोड्दै अघि बढे। १६–१८ ले पछि परेको अवस्थामा नेपालले लगातार चार अंक जोड्दै २०–१८ को अग्रता लियो। तर, अफगानिस्तानले पनि शशक्त खेल्दै सेटलाई २३–२३ को रोमाञ्चक स्थितिमा पुर्यायो। फेरि दुबै टोलीले एक एक अंक जोड्दै खेल २४–२४ को स्थितिमा पुर्याए। त्यसपछि नेपालले लगातार दुई अंक जोड्दै सेट २६–२४ ले आफ्नो पक्षमा पार्‍यो।

nepvsafganis2

अन्तिम तथा निर्णायक खेलमा नेपालले शुरुबाट नै अग्रता लियो। ४–१ को स्थितिबाट अफगानिस्तानले खेल ४–४ को बराबरीमा पुर्‍याएसँगै टाइम आउट लियो। अफगानिस्तानले ८–७ का रुपमा एक अंकको अग्रता लिएसँगै कोर्ट परिवर्तन भयो। त्यसपछि लगातार अफगानिस्तानले अग्रता बनाएपनि नेपालले १०–१० को स्थितिमा उसलाई भेटायो।

त्यसपछि दुबै टिमले एकपछि अर्को गर्दै २–२ अंक जोडे। १२–१२ को स्थितिबाट नेपालले लगातार तीन अंक जोड्दै १५–१२ ले अन्तिम सेट आफ्नो पक्षमा पार्‍यो।

यसअघि बुधबार भएको पहिलो खेलमा नेपालले अफगानिस्तानलाई ३–२ सेटले पराजित गरेको थियो।

भदौं २ गतेबाट नेपालमा हुने एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारी स्वरुप नेपाल र अफगानिस्तानले मैत्रीपूर्ण खेल खेलेका हुन्। 

एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्किमिनिस्तान र उज्वेकिस्तानसहित ७ टोलीले प्रतिस्पर्धा गर्दैछन्।

Vollyball Team

यही च्याम्पियनसिपमा नेपालले दुई वर्षअघि माल्दिभ्समा भएको काँस्य पदक जितेको थियो। नेपालले हालसम्म अन्तर्राष्ट्रिय भलिबलमा प्राप्त गरेको त्यो एकमात्र पदक हो।

नेपालले नेदरल्याण्डका प्रशिक्षक हान एबिङलाई असार पहिलो साता नेपाल झिकाएर आफ्नो तयारी सुरु गरेको थियो।

एबिङले यसअघि नै इमबहादुर रानाको कप्तानीमा नेपाली टोली घोषणा गरिसकेका छन्। टोलीमा इमसँगै हरिहजुर थापा, नरेन्द्र गिरी, विशाल विक, राजकुमार निरौला, हरि अधिकारी, दुर्गा खड्का, दीपकराज जोशी, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, कुलबहादुर थापा, टेकराज अवस्थी, विनोदबहादुर चन्द र ईश्वर थापा मगर छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .