काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हिजोदेखि सुरु भएको सुपर लिग फुटबलमा धनगढी एफसीविरुद्ध विराटनगर सिटी फुटबल क्लबले महत्वपूर्ण ३ अंक जोडेको छ।
आज भएको खेलमा विराटनगरले धनगढीविरुद्ध ३ गोल गरेको हो।
पहिलो हाफमा १–० को अग्रता लिएको विराटनगरले दोस्रो हाफमा २ गोल थप्दै अग्रता तेब्बर बनायो।
पहिलो गोल पहिलो हाफको १६औँ मिनेटमा विराटनगरका विक्रम धिमालले गरेका थिए। त्यस्तै ५६औँ मिनेटमा किपर बिट भएको मौका सदपुयोग गर्दै पेड्रो जेभियर मान्जी क्रुजले गोल गर्दै २–० को अग्रता दिलाए।

त्यस्तै ६९औँ मिनेटमा सन्तोष तामाङले गोल गर्दै विराटनगरको गोल अन्तर फराकिलो बनाए। उनले सुनिल बलको पासमा गोल गरेका हुन्।
हारपछि धनगढीका प्रशिक्षक युगलकिशोर राईले आफ्नो टोलीले लिगमा खराब हार भोगेको बताए।
उनले भने, ‘यो हारले अर्को खेलमा भने असर गर्दैन। आजको खेलमा डिफेन्स र किपरलाई दोष दिने ठाउँ छैन।’

यता विराटनगर सिटीका प्रशिक्षक याम इज्सले क्लिनशिट राखेर ३–० को जितमा ३ अंक बटुलेको बताए। उनले खेलाडीको प्रशंसा पनि गरे।
आजै लिगमा दोस्रो खेल साढे ५ बजे पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीविरुद्ध हुनेछ।

Shares

प्रतिक्रिया