खेल


टि-ट्वान्टी त्रिकोणात्मक सिरिज : नेदरल्याण्डकाे पहिलो जित

टि-ट्वान्टी त्रिकोणात्मक सिरिज : नेदरल्याण्डकाे पहिलो जित

नेपालखबर
बैशाख ५, २०७८ आइतबार १०:२२,

म्याक्स ओ डाउडको बिष्फोटक ब्याटिङमा काठमाडौमा जारी टि–ट्वान्टी त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेदरल्याण्डले पहिलो जित हात पारेको छ।

आइतबार किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्डले मलेसियालाई १५ रनले पराजित गरेको छ। नेदरल्याण्ड पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित भएको थियो।

नेदरल्याण्डले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७६ रन मात्र जोड्न सक्यो।

मलेसियाका विरनदिप सिंहले ८७ रनको महत्वपूर्ण योगदान दिएपनि टोलीको हार भने टार्न सकेनन्। ५३ बलको सामना गरेका उनले ६ छक्का र ६ चौका प्रहार गरे। निकै कसिलो बलिङ गरेका नेदरल्याण्डका बलरसामु मलेसियाका ब्याट्सम्यानहरु लामो समय क्रिजमा टिक्न सकेनन्।

मलेसियाका ५ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्। शार्विन मुनिआन्डीले २८ रन जोडे। अमीनउद्दीन रम्लीले २६ रन थपे। मोहम्मद वाकिफ ६ र अन्वर रहमान १ रनमा नटआउट रहे।

नेदरल्याण्डका आर्यन दत्त र बास डि लिडे र सेबस्टियान ब्राटले समान २ विकेट लिए। फिलिप बोइसेभैन, पिटर सीलारले एक एक विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ९१ रनको योगफल तयार पारेको थियो। नेदरल्याण्डलाई विशाल योगफलतर्फ लैजान म्याक्स ओ डाउड र वेन कुपरले ६९ बलमा १ सय २५ रनको साझेदारी गरे। ७३ बलको सामना गरेका ओपनर डाउडले १ सय ३३ रनको अविजित पारी खेले। ओडाउडले ५९ बलमा शतक पुरा गरेका थिए।

योसँगै डाउड नेदरल्यान्ड्सका लागि टि–२० अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने पहिलो खेलाडी पनि बने। यसअघि वर्तमान कप्तान पिटर शिलारको ९६ रनको स्कोर नै सर्वाधिक थियो। उनले १५ चौका र ६ छक्का प्रहार गरे। कुपरले २० बलमा २ चौका मद्धतमा २० रनमा नटआउट रहे।

अर्का ओपनर टोबियस भिसे १ रनमा पवेलियन फर्के। स्कट एडवडर््स ३१ रन जोड्दा एलबीडब्लु धरापमा परे।

न्युजिल्याण्डका ब्याट्सम्यानसामु निरिह देखिएका मलेसियाका पवनदिप सिंह र अन्वर रहमानले समान एक एक विकेट लिए।

सिरिज अन्तर्गत घरेलु टोली नेपालले आफ्नो दोस्रो खेलमा मलेसियासँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .