खेल


१९ औं संस्करणको आहा–रारा गोल्डकपको उपाधि संकटालाई

१९ औं संस्करणको आहा–रारा गोल्डकपको उपाधि संकटालाई

वाशुदेव मिश्र
चैत २८, २०७७ शनिबार १२:४१,

शनिबार संकटाका प्रशिक्षक सल्यानी खड्गीलाई हेर्दा लाग्थ्यो, फुटबल प्रशिक्षकलाई ९० मिनेट ९० दिनजस्तै लाग्छ। कतिबेला के हुने हो थाहै नहुने!  खेल अतिरिक्त समयतिर जाँदा उनीहरुको तनाव झन चुलिन्छ।

पहिलोपटक आहा रारा गोल्डकपको फाइनलमा पुगेको आफ्नो क्लब संकटामाथि खेलको ११ औं मिनेटमै ‘संकट’आइलाग्दा उनी आत्तिनुभन्दा पनि आक्रामक बने। मैदानमा रहेका क्याप्टेन सरोज दाहाल र अन्य खेलाडीलाई बारम्बार कराइरहे। ५२ औं मिनेटमा उनीमाथिको ठूलो संकट टर्‍यो। खेल बराबरीमा पुग्यो।

त्यसपछि दुबै टिमबाट भएका प्रयासहरु गोलमा बदलिएन र त खेल टाइब्रेकरमा पुग्यो।

१२ वर्षमा खोलो फर्कन्छ भन्छन्। संकटाको हकमा भयो त्यस्तै। आहा रारा गोल्डकपको १२ औं खेलमा उसले उपाधि हात पार्‍यो। संयोग कस्तो भने, यो पटकको फाइनलमा यसअघिको आहा रारामा फाइनलमा पुग्ने मनाङ मस्र्याङदी, थ्रिस्टार र नेपाल पुलिस कुनै पनि क्लब थिएनन्।

पोखरा रंगशालामा दर्शको साथ पाएको संकटाको लागि संकटाका गोलकिपर राजाबाबु थापा नायक बने। उनले टाइब्रेकरमा एमबाकोपको प्रहार बचाए भने कुइटेको प्रहार बाहिरिँदा पनि उनको प्रभावले काम गर्‍यो।

संकटाका अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत, आयुष घलानले गोल गरे। सरोज दाहालको प्रहार अफ्रिकनका गोलकिपरले बचाए।

अफ्रिकनका यानिक र रिमले मात्रै गोल गरे। यसअघि निर्धारित ९० मिनेट १–१ गोलको बराबरी सकिएको थियो। ११ औं मिनेटमा मौसाको पासमा बासिकले गोल गर्दै अफ्रिकनले अग्रता लिएको थियो। ५२ औं मिनटमा संकटाका ग्लोरीले गोल गरेका थिए।

१९ औं संस्करणको आहा राराको उपाधिसँगै संकटाले नगद १० लाख १ हजार रुपैँया हात पारेको छ। उपविजेता अफ्रिकनले नगद ५ लाख १ हजार रुपैयाँमा चित्त बुझायो। प्रतियोगिताम ८ वटा क्लबको सहभागिता थियो।

प्रतियोगितामा संकटाका गोलरक्षक राजाबाबु थापा उत्कृष्ट रक्षक र निरज बस्नेत उत्कृष्ट डिफेन्डर भए। अफ्रिकन रुट्सका राफायल रिम उत्कृष्ट मिडफिल्डर हुँदा अफ्रिकन रुट्सकै बासिक उत्कृष्ट स्ट्राइकर बने। उत्कृष्ट प्रशिक्षकको उपाधि पनि अफ्रिकन रुट्सका सेर्गी बोरिसको पोल्टामा गयो। उनीहरुले जनही २५ हजार रुपैयाँ हात पारे।

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका थापाले एक थान स्कुटर प्राप्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .