खेल


चामत्कारिक रूपमा बार्सिलोना कोपाको फाइनलमा

चामत्कारिक रूपमा बार्सिलोना कोपाको फाइनलमा

नेपालखबर
फागुन २०, २०७७ बिहिबार १:३०,

सेभियालाई ३–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना स्पेनिस कोपा डेल रेको फाइनलमा पुगेको छ।

बुधबार राति क्याम्प नोउमा भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा सेभियालाई हराएको हो।

निर्धारित ९० मिनेटको खेल सकिन लाग्दा २–१ गोलले पछि पर्दै बार्सिलोना प्रतियोगिताबाटै बाहिरिन लागेको थियो। तर इन्ज्युरी समयको अन्तिम मिनेटमा उसले गोल गरेपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो। इन्जुरी समयको चौथो मिनेटमा जेरार्ड पिकेले एन्टोइन ग्रिजमनको क्रसमा हेडर गोल गरेपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको हो।

पहिलो लेगको खेलमा सेभियाले २–० ले जितेपछि बार्सिलोना घरेलु मैदानमा निकै दबाबमा परेको थियो। तर खेलको ११औं मिनेटमा ओस्मान डेम्बेलेले शानदार गोल गरेर बार्सिलोनालाई अग्रता दिलाए।

खेलको दोस्रो हाफमा सेभियाले फाइनलमा पुग्ने महत्वपूर्ण अवसर गुमायो। ७१औं मिनेटमा ओस्कार मिन्गुएजाले लुकास ओकाम्पसलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए। तर ओकाम्पसले हानेको बललाई गोलरक्षक मार्क आन्दर टेर स्टेगन समात्न सफल भए।

इन्ज्युरी समयको पहिलो मिनेटमा फर्नान्डोले ट्रिनकाओलाई लडाएपछि रेफ्रीले दोस्रोपटक पहेंलो कार्ड देखाए। त्यसपछि १० खेलाडीमा खुम्चिएको सेभियाले प्राप्त गरेको कर्नर क्लियर गर्न नसक्दा आएको रिबाउन्डमा ग्रिजमनको क्रसमा पिकेको हेडरमार्फत बार्सिलोना खेलमा फर्किएको थियो।

खेल २–२ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा बार्सिलोनाले सुरुवातदेखि नै सेभियालाई दबाब सिर्जना गर्‍याे। चौथो मिनेटमै जोर्डी अल्बाको क्रसमा मार्टिन ब्रेथवेटको हेडर गोलरक्षक भाच्लिकलाई लाग्दै गोलमा परिणत भयो। त्यसपछि एक गोल गरेको भए पनि सोभिया अवे गोलका आधारमा फाइनलमा पुग्ने थियो। तर गर्न सकेन।

तर अतिरिक्त समयको अन्तिम मिनेटमा जुल्स कोउन्डेको प्रहारलाई टेर स्टेगनले विफल पारेपछि बार्सिलोना फाइनलमा पुग्न सफल भएको हो।

यसैबीच कोपा डेल रे को दोस्रो सेमिफाइनलमा एथ्लेटिक बिल्बाओ र लेभानतेबीच प्रतिस्पर्धा हुँदै छ। पहिलो लेगको खेलमा बिल्बाओले घरेलु मैदानमा १–१ को बराबरी गरेको छ। दोस्रो लेग आज (बिहीबार) हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .