नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले शनिबार प्रदान गर्ने एनएनआईपीए स्पोर्ट्स अवार्डको सम्पूर्ण तयारी पूरा भएको बताएको छ।
संघले बिहीबार पत्रकार सम्मेलन गरेर मध्यपुर ठिमी स्थित नगरपालिकाको निगु पुखुमा वितरण हुने अवार्डको तयारी पूरा भएको जनाएको हो।
अवार्ड कार्यक्रममा २६ खेलका उत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट खेलाडी, प्रतिभावान खेलाडी, उत्कृष्ट पारा खेलाडी, आदर्श खेलाडी अवार्ड र खेल पत्रकारिता अवार्ड प्रदान गर्नेछ।
यस्तै उत्कृष्ट खेलाडीहरुबाट छनोट गरेर एक महिला र एक पुरुषलाई सर्वोत्कृष्ट खेलाडीको अवार्ड प्रदान गरिनेछ। सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही १/१ लाख रुपैयाँ पाउनेछन्। उत्कृष्ट खेलाडीले जनही १०/१० हजार पाउने आयोजकले जनाएको छ।
प्रतिभावान महिला र पुरुष खेलाडीले ५०/५० हजार रुपैयाँ पाउनेछन्।
संघले यसपटक राइजिङ प्लेयर अफ दि इयर अवार्ड विधा थप गरिएको एनएनआईपिएका अध्यक्ष दीपक श्रेष्ठले बताए। यस विधाका विजेता महिला र पुरुष खेलाडीले जनही ५०/५० हजार रुपैयाँ पुरस्कार पाउने छन्।
संघले प्रदान गर्ने अवार्डमा यस पटक १३ औं दक्षिण एसियाली खेलकुद सागमा समावेश भएका खेलका खेलाडीलाई समावेश गरिएको आयोजकले जनाएको छ।
संघको सिफारिस उत्कृष्ट घोषित हुने खेलाडी बाहेक अन्य विधाको विजेता छनोट दीपक विष्ट संयोजकत्वको छनोट गरी अवार्ड प्रदान गर्नेछ।

प्रतिक्रिया