राष्ट्रिय महिला लिग फुटबलको शीर्षस्थानमा रहेको नेपाल एपीएफ क्लबले संघषूर्ण जित हासिल गरेको छ।
रविना गोलेको निर्णायक गोलमा सोमबार अर्को विभागीय टोली नेपाल पुलिस क्लबमाथि २–१ को कठिन जित निकाल्दै शीर्षस्थानको एपीएफले अंक दूरीलाई अझै फराकिलो बनाएको हो।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफका खेलाडी पहिलो पटक गोल गर्नबाट चुके।
पुलिसकी कप्तान खिम कुमारी गुरुङको आत्मघाती गोलबाट ६८औं मिनेटमा एपीएफले अग्रता बनाएको थियो।
सावित्रा भण्डारी साम्बाको प्रहारलाई खिमले क्लियर गर्न खोज्दा आत्मघाती गोल भएको थियो।
यसअघिका सबै खेलमा हावी रहँदै आएको एपीएफले ७५औं मिनेटमा जारी लिगमै पहिलो गोलको सामना गरेको थियो।
साम्बा चोटका कारण एपीएफ १० खेलाडीमा हुँदा अमृता जैसीले बराबरी गोल गरेकी थिइन्। उनले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहारलाई रोक्न एपीएफकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाले कुनै मौका नै पाइनन्।
सावित्राको ठाउँमा मैदान प्रवेश गरेकी रविनाको ८६औं मिनेटमा गरेको गोलसँगै एपीएफ विजय यात्रालाई जारी राख्न सफल भएको छ।
१० खेलमा एपीएफको ३० अंक छ। समान खेलमा दोस्रो स्थानको आर्मीको २५ अंक छ। यी दुई टोलीबीच लिगको अन्तिम खेल हुनेछ।
विराटनगर महानगरपालिकासँग अब हुने खेल जितेमा एपीएफ अन्तिम खेलअघि नै च्याम्पियन बन्नेछ।
आजको खेलमा पुलिसकी अमृता जैसी ‘प्लेयर अफ दि म्याच’ भइन्।

प्रतिक्रिया